‘बिग मर्जर’ लाई प्राथमिकता दिदै राष्ट्र बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७६, मंगलवार ०४:२६

काठमाडौं । नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्ष २०७६र ७७ का लागि मौद्रिक नीति बनाउने अन्तिम तयारीमा छ । मौद्रिक नीतिमा आउने विविध विषयमध्ये एउटा चासोको विषय हो मर्जर नीति ।

विगतमा एक्कासी चार गुणा चुक्ता पुँजी बढाउने निर्णय गर्दा आलोचना खेपेको राष्ट्र बैंक अन्ततः सफल भयो । यस वर्ष पनि ठूला बैंकहरुको मर्जरका लागि विशेष नीति अख्तियार गरिने राष्ट्र बैंकका अधिकारीहरु बताउने गर्छन् । स्रोतका अनुसार ‘बिग मर्जर’ लाई आगामी वर्षका मौद्रिक नीतिको मूख्य आकर्षण बनाउने गरी तयारी थालिएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकालमा बन्ने सम्भवतः यो नै अन्तिम मौद्रिक नीति हुनेछ । डा. नेपाललाई २०७१ चैत्रमा मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो । उनको ५ वर्षे कार्यकाल सकिन अब एक वर्ष पनि बाँकी छैन । निर्णय क्षमता वलियो भएका नेपालले पुँजी वृद्धिको योजना सफल बनाइछाडे ।

३ वर्षअघि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनकै लागि गभर्नर नेपालले पुँजी वृद्धिको अस्त्र प्रयोग गरेका थिए । चार गुणा पुँजी बढाउने भएपछि बैंकरहरु गभर्नर नेपालसँग चिढिएका थिए । तर नेपाल आफ्नो निर्णयबाट पछि हटेनन। नेपालको बैंकिङ इतिहासमा यो निर्णयलाई महत्वपूर्ण मानिन्छ ।

पुँजी वृद्धिको अस्त्रले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमाथि गतिलो प्रहार भयो । जसको फल स्वरुप ६ दर्जनभन्दा बढी रहेका विकास बैंक ३ दर्जनभन्दा कममा झरेका छन् । सोही हाराहारीमा पुग्न लागेका फाइनान्स कम्पनीहरु १९ को संख्यामा झरेका छन् । यो संख्या पनि अझै घट्ने क्रममा छ ।

गभर्नर नेपाल आफ्नो नेतृत्वमा बन्ने अन्तिम मौद्रिक नीति सम्झनायोग्य बनाउनका चाहन्छन् । यसका लागि उनले ‘बिग मर्जर’ लाई जोड दिन खोजेको बुझ्न गाह्रो हुँदैन । उनले सोमबार मात्रै पनि बिग मर्जरको विषयले मौद्रक नीतिमा प्राथमिकता पाउने स्पष्ट संकेत गरेका छन् ।

राजधानीमा हालै आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले मर्जरका लागि तयारी अवस्थामा बस्न बैंकहरुलाई भने । उनले सांकेतिकरुपमा भने, ‘लभ गर्ने भए मौद्रिक नीति अगावै गर्नुस, मौद्रिक नीतिपछि बिहे गर्नुपर्छ ।’ यसको अर्थ गभर्नर नेपालले कुनै पनि हालतमा ठूला बैंकको मर्जर गराएरै छाड्ने सोचेका छन् । उनले मर्जरलाई ‘बिहे’ को संज्ञा दिएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१