धादिङ । सामान्यतया मन्दिरमा महिला–पुरुष जो–कोही प्रवेश गर्छन् र पूजाआजामा सहभागी हुन्छन्। तर धादिङमा एउटा यस्तो मन्दिर छ, जहाँ महिलालाई प्रवेश दिइँदैन। महिलाले मन्दिर प्रवेश गरिहाल्यो भने बाघभालुले लखेट्ने, अनिष्ट हुने र मृत्युसमेत भोग्नुपर्ने मान्यता रहिआएको छ।
ज्वालामुखी गाउँपालिका–४ ढोलास्थित ढोलामण्डली माई मन्दिरमा महिलालाई प्रवेश निषेध गरिए पनि बलि भने पाठीको दिने प्रचलन छ। सातामा एकपटक मंगलबारका दिन मात्र मन्दिर खुल्छ। सो दिन टाढाटाढाबाट पाठी बलि दिन भक्तजन आउँछन्। चढाइएको पाठी साबिकको ढोला गाविसभरि पकाएर खान मिल्ने तर फर्काएर घर लान नमिल्ने ढोलाका स्थानीय विनोद रिजाल बताउँछन्। ‘मन्दिरमा मगर जातिका १२ वर्षमुनिका कुमार बालक पुजारीका रूपमा हुन्छन्,’ उनी भन्छन्, ‘मन्दिरवरिपरि न महिलालाई जान दिइन्छ न प्रसाद ख्वाइन्छ।’
सदरमुकाम धादिङबेंसीबाट आठ किलोमिटर दूरीमा रहेको सो मन्दिरमा धादिङलगायत आसपास जिल्लाका स्थानीय पनि आउने गर्छन्। भक्तजनले ल्याएका सामग्री पुजारीलाई दिने र पुजारीबाटै पूजाआजाका सबै काम सम्पन्न हुने सो मन्दिरको परम्परा छ। मन्दिरमा चढाइएको बलि घरमा प्रसादका रूपमा लैजान नहुने मान्यताका कारण आफ्ना पुरुष आफन्तलाई ढोलामण्डली माई परिसरमै बोलाएर प्रसाद खुवाउने चलनसमेत छ। प्रसाद खान र भाकल बुझाउनकै लागि प्रत्येक मंगलबार हजारौं मानिस मन्दिर पुग्छन्।
मन्दिरमा सवा ३ सय वर्षदेखि नियमित पूजापाठसँगै पाठी बलि दिइँदै आएको पाइन्छ। स्थानीय ज्येष्ठ नागरिकका भनाइअनुसार ढोलामण्डली माईको उत्पत्ति लगभग १७५० सालतिर भएको हो। त्यतिबेला मगर समुदायका देवीदास नाम गरेका एक व्यक्ति हलोका लागि काठ काट्न वनमा गए। एउटा सालको रूख काट्न लाग्दा बन्चराको धार झ¥यो। सालको रूखमा डोब पनि लागेन। यस्तो देखेर तिनी आश्चर्य मान्दै घर फर्किए।
भोलिपल्ट धार झरेको बन्चरो लिएर आरनमा गई अर्जापेर ल्याए र फेरि हिजो काट्न लागेकै सालको रूख ढाल्न गए। बन्चरो प्रहार गर्नेबित्तिकै रूखबाट रातो रगत बग्न थाल्यो। त्यो देखेर तिनी डराउँदै घर फर्किए। राति सपनामा उनलाई भनियो, ‘म ढोलामण्डली माई हुँ, महिलालाई यहाँ आउन नदिनू र प्रसाद खान नदिनू, बाजागाजा नबजाई एकान्तमा पूजापाठ गरी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको बलि चढाउनू।’ सपनाको कुराले झस्किँदै हरेक मंगलबार मन्दिरमा बलि चढाइने प्रचलन चलेको किंवदन्ती छ।
प्रतिक्रिया