प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्लाका सडकमा मात्र १ अर्ब ४० करोड रकमान्तर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७६, बिहीबार ०५:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाको गृहजिल्ला झापाका सडक आयोजनामा मात्र विगत ३ महिनायता करिब डेढ अर्ब संघीय बजेट रकमान्तर भएको छ। मन्त्रीद्वयको गृहजिल्लामा स्थानीय तहको जिम्मेवारीमा रहेका स(साना आयोजनामा पनि संघीय सरकारको बजेट रकमान्तर हुनु उपयुक्त नभएको भन्दै प्रश्नसमेत उठ्ने गरेको छ।

वार्षिक बजेट प्रणालीभन्दा बाहिरका आयोजनामा बजेटको आवश्यकता र औचित्य हेरी अर्थ मन्त्रालयले थप रकम निकासा गर्ने गरेको छ। त्यस्तो रकमका लागि वार्षिक बजेटमा शीर्षक छुट्याइएको हुँदैन। कुनै कार्यक्रम वा आयोजनामा छुट्याइएको बजेट रकमान्तर गरेर पठाईने गरिन्छ।

अर्थमन्त्री डा। खतिवडाले जथावाभी रकमान्तर गर्ने परिपाटीले अंकुश लगाउन खोजेका थिए। तर, उनको प्रयास भने लामो समय टिकेन। अभाव र दबाब दुवैखालका अवस्था देखाएर पहुँच हुनेले अर्थ मन्त्रालयमार्फत् रकमान्तर गर्न लगाउने परिपाटीले अहिले पनि निरन्तरता पाइरहेको छ।

अझ अचम्मको कुरा के भने चालू आर्थिक वर्षको ११ महिनामा विकास निर्माणका क्षेत्रमा हुने रकमान्तर सबैभन्दा धेरै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडाको गृहजिल्ला झापामा भएको देखिन्छ। झापामा रकमान्तर भएका अधिकांश आयोजना सडक आयोजना हुन्। प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्र भित्र पर्ने आयोजनाका लागि पनि संघीय सरकारकै रकमान्तर गरेर पैसा पठाइएको छ।

चालू आवको चैतमा सरकारले दैवी प्रकोप राहत तथा पुर्नस्थापनाका लागि भनेर छुट्याइएको २१ करोड रुपैयाँ प्रधानमन्त्रीको गृहजिल्ला झापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा खर्च गरेको देखिन्छ। त्यसबाहेक झापामा स(साना सडकखण्ड निर्माणका लागि भन्दै चैत महिनामा थप २० करोड रुपैयाँ रकमान्तर भएको छ।

चैत महिनामा नै झापा जिल्लाको लक्ष्मीपुर(घैलाडुब्बा सडकका लागि ५ करोड रुपैयाँ, झापाचोक(भद्रपुर(बिर्तामोड सडकखण्डको लागि १० करोड र अल्टाबारी–गौरीगञ्ज–पाडाजुँगी सडकखण्डका लागि ५ करोड रुपैयाँ गरी कुल २० करोड रुपैयाँ रकमान्तर गरेर पठाइएको अर्थ मन्त्रालयको तथ्याङ्क छ।

बैशाख महिनामा झापा जिल्लाको गौरादह नगरपालिका(९ मा निर्माणाधीन ग्वालडुब्बा खानेपानी तथा सरसफाई आयोजनाका लागि १ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको देखिन्छ।

त्यसैगरी तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमको ३० करोड ९७ लाख रुपैयाँ बराबरको रकम झापाका विभिन्न सडक आयोजनाका लागि रकमान्तर भएको छ। लखनपुर, मंलपूर, मयुभिठा, शिवगंज सडकलगायत विभिन्न ९ वटा सडक खण्डका लागि उक्त रकम पठाईएको अर्थ मन्त्रालयको तथ्याङ्क छ।

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमकै अर्को ३ करोड रुपैयाँ पनि ओलीको गृहजिल्लाका सडक विस्तारका लागि भन्दै रकमान्तर भएको छ। डिभिजन सडक कार्यालय झापाको कार्यक्षेत्रमा पर्ने उत्तर दक्षिण लोकमार्ग मेची करिडोरका लागि उक्त बजेट रकमान्तर भएको हो।

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमको ६ करोड रुपैयाँ झापा जिल्लाको शरणामति खालिङ चोकदेखि जंगे पिलरसम्मका सडकसहित ३ वटा सडकका लागि प्रतिसडक २ करोड रुपैयाँका दरले रकमान्तर भएको छ।

जेठ महिनामा रणनीतिक सडक पूनर्स्थापना तथा तथा सुधार आयोजनाको ८१ लाख ९३ हजार रुपैयाँ पनि झापा जिल्लाका विभिन्न कार्यक्रमका लागि विनियोजन भएको छ। सडक डिभिजन कार्यालय दमकमा पर्ने पाडाजुँगी(दमकको लागि २० लाख र दमक रिफ्यूजी क्याम्पका लागि ५ लाख ८ हजार रुपैयाँ रकमान्तर गरिएको छ।

मेची पुल काकरभिट्टा, नेपाल(भारत सीमा आयोजनालाई सडक डिभिजन झापामार्फत् १ करोड ३४ लाख रुपैयाँ रकमान्तर निकासा गरिएको छ।

यसरी चालू आर्थिक वर्षको पछिल्लो तीन महिना अवधिमा मात्र झापाका विभिन्न सडक आयोजनाका लागि १ अर्ब ४० करोड रुपैयाँ बढी रकमान्तर भएको छ। जिल्लाभित्रका स(साना सडक विस्तार तथा मर्मत सम्भारका कार्यक्रमका लागि पनि केन्द्रबाटै रकमान्तर गरेर पैसा पठाइएको देखिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१