काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । मुलुकका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
ललितपुर महानगरपालिका– १३ नख्खु बस्ने ओमप्रकाश अग्रवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका– १४ का ३७ वर्षीय सुमन कार्की समेत २ जनालाई नगद ३ लाख ६५ हजार रुपैयाँ, १६ थान कौडा र तीन बुक तास सहित मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै जुवातास खेलिरहेकै अवस्थामा कास्कीबाट ९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–८ सुन्दरमार्ग बस्ने ४५ वर्षीय नवराज थपलियाको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा थपलिया समेत ९ जनालाई नगद ६ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ, १ सय ५९ पता तास र १६ थान कौडा सहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया