हुवावेको बिक्री घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७६, मंगलवार ०४:५५

बेइजिङ । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापकले पछिल्लो समय अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै आफ्नो कम्पनीका मोबाइल बिक्री घटेको जनाएका छन् । रेन जेङ्फीका अनुसार एक महिनाको अवधिमा चीनबाहिर हुवावे मोबाइल बिक्री ४० प्रतिशतले घटेको हो ।

हुवावे मुख्यालयमा बोल्दै रेनले अगामी दुई वर्ष कम्पनीले करिब ३० खर्ब डलर बराबरको उत्पादन कटौती गर्ने जनाए । उनले भने, ‘हो, हुवावेको बिक्री ४० प्रतिशतले गिरेको हो ।’

रेनका अनुसार चिनियाँ बजारमा भने मोबाइलको बिक्री यथावत् नै छ । हुवावेले सन् २०१८ मा २० करोड ६० लाख मोबाइल बिक्री गरेको थियो । जसमध्ये आधा चीनमा र आधा अन्तर्राष्ट्रि बजारमा बिक्री भएका थिए । गतमहिना अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेको थियो । उक्त निर्णयसँगै हुवावेले अमेरिकामा व्यापार तथा सहकार्यका लागि अनुमति लिनुपर्ने हुन्छ । उक्त कदम अमेरिकी बजारमा चिनियाँ कम्पनीको व्यापार विस्तार रोक्ने रणनीतिका रूपमा समेत लिइएको छ ।

हुवावेको फाइभ–जीलगायत प्रविधि अमेरिका र चीनबीच जारी व्यापार विवादको प्रमुख जड हो । अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ । त्यसका साथै अमेरिकाले हुवावेको ‘फाइभ–जी’ प्रविधि कुनै पनि राष्ट्रका लागि सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको दाबी गर्दै निकटस्थ राष्ट्रलाई जडान नगर्न आग्रह गर्दै आएको छ ।

अमेरिकाले कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेसँगै हुवावेले आगामी दिनमा निर्माण गर्ने मोबाइलमा गुगल एप्सहरू हुने छैनन् । ती एप्सहरूमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जी–मेललगायत छन् । अन्तर्राष्ट्रिय बजारमा हुवावेका मोबाइल सेटको बिक्री घट्नुमा यो प्रमुख कारण ठानिएको छ ।

यसअघि गुगलले ‘अमेरिकी सरकारको निर्देशनअनुसार हुवावे सेटमा गुगल एप्स समावेश नगर्ने निर्णय गरेको’ बताएको थियो । विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माण कम्पनी हुवावेले भने ‘विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने’ जनाइसकेको छ । मोबाइल फोन निर्माणका आधारमा भने हुवावे विश्वको दोस्रो ठूलो कम्पनी हो । हुवावे संस्थापक रेनले अमेरिकाले ‘आफ्नो कम्पनीको फाइभ–जी सेवालाई कसैले चुनौती दिन नसक्ने’ दाबी गर्छन् ।

हुवावेलाई चीन र अमेरिकाबीचको जारी व्यापार युद्धको मुख्य कारक मानिएको छ । दुई देशबीचको तनाव थप चर्कर्दै गएपछि हुवावेले ‘अनुसन्धान तथा विकास विभागमा कार्यरत अमेरिकी नागरिकलाई जागिरबाट हटाएको’ थियो । त्यसका साथै हुवावेले अमेरिकी कम्पनीसँग कुनै प्रकारको बैठक नगर्नसमेत कर्मचारीलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१