विश्वकप इतिहासमा वेस्ट इन्डिजविरुद्व बंगलादेशको पहिलो जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७६, मंगलवार ०४:२६

लण्डन । बंगलादेशले विश्वकप क्रिकेट इतिहासमा वेस्ट इन्डिजविरुद्व पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजविरुद्व सात विकेटको जित हात पारेको हो ।

सन् १९९९ देखी विश्वकप खेल्न थालेको बंगलादेशले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्व विश्वकप क्रिकेटमा यसअघि चार पटक प्रतिस्पर्धा गरेको थियो । त्यसमध्ये एक खेल वर्षाले असम्भव हुँदा बाँकी तीन खेलमा वेस्ट इन्डिज विजयी भएको थियो ।

यस पटक भने बंगलादेशले जित आफ्नो पक्षमा पार्न सफल भएको हो । यो जितसँगै बंगलादेशले महत्वपूर्ण दुई अंक जोड्दै सेमिफाइनल चरण प्रवेशको सम्भावना पनि केही बलियो बनाएको छ । प्रतियोगितामा दोस्रो जित हात पारेको बंगलादेश अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

बंगलादेशसँगको पराजयले वेस्ट इन्डिजमाथि भने थप दबाब बढेको छ । प्रतियोगितामा पाँच खेल खेल्दा वेस्ट इन्डिजले मात्रै एक जित हात पारेको छ ।

टउटोनमा टस हारी पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीनसय २१ रनको योगफल तय गरेको थियो । जवाफमा बंगलादेशले ४१।३ ओभरमा मात्रै तीन विकेट गुमाएर जित भेट्टाएको हो ।

बंगलादेशको जितमा शकिब अल हसनले अविजित एकसय २४ रनको शतकीय योगदान दिए । ९९ बलको पालीमा शकिबले १६ चौका प्रहार गरेका थिए । उनीसँगै लिटोन दाश ९४ रनमा अविजित रहे । लिटोनले ६९ बलको पालीमा चार छक्का र आठ चौका प्रहार गरे ।

यी दुई ब्याट्सम्यानले बंगलादेशका लागि अविजित चौथो विकेटका लागि एकसय ८९ रनको साझेदारी गरेका थिए । उनीहरूबाहेक प्रारम्भिक ब्याट्सम्यान तमिम इक्बालले ४८ र सौम्या सरकारले २९ रनको योगदान दिए । बलिङतर्फ दुई विकेटसमेत लिएका शकिब म्यान अफ दी म्याचसमेत चुनिए ।

वेस्ट इन्डिजका लागि भने तीन खेलाडीले अर्धशतक प्रहार गरेपनि जित सम्भव भएन । वेस्ट इन्डिजका शाई होपले ९६ रनको महत्वपूर्ण योगदान दिएका थिए । उनी शतकीय पालीबाट मात्रै चार रनले पछि रहे । उनले आफ्नो पालीमा एक छक्का र चार चौका प्रहार गरेका थिए ।

उनीबाहेक इभिन लेविसले ७० र शीमरोन हेटमेयरले ५० रनको अर्धशतक प्रहार गरेका थिए । लेविसले ६७ बलमा दुई छक्का र ६ चौका तथा हेटमेयरले २६ बलमा तीन छक्का र चार चौका प्रहार गरेका थिए ।

टोलीका लागि होप र लेविसले पहिलो विकेटका लागि एकसय १६ रनको साझेदारी गरेका थिए । त्यसबाहेक जासोन होल्डरले ३३, निकोलास पुरनले २५ र डारेन ब्राभोले १९ रन जोड्दा ओशेन थोमस ६ रनमा अविजित रहे । क्रिस गेल र एन्द्रे रसेलले भने खाता खोल्न सकेनन् ।

बंगलादेशका मुस्तफिजुर रहमान र मोहम्मद सइफुदिनले वेस्ट इन्डिजको तीनरतीन विकेट लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१