मध्यसहरमा यौनदासीहरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७६, मंगलवार ०५:२६

काठमाडौँ । गुल्मी जिल्लाबाट काठमाडौं आएकी एक बहिनी गोंगबुको होटलमा काम गर्छिन् भन्ने सुनेकी थिएँ । बूढाले कान्छी श्रीमती ल्याएपछि काखमा सानो बच्चा च्यापेर सहर छिरेकी उनी कहाँ के गर्दै छिन् भन्ने वर्षौंसम्म कसैलाई पत्तो भएन । तर, एक दिन गोंगबुको पुलमाथि धेरै मान्छेको भीडमा मैले उनलाई एक्कासि भेटें ।

‘दिदी,’ उनले च्याप्प मेरो हात समातिन् । एक छिन उनलाई चिन्न मलाई गाह्रो भयो । अनुहारको मास्क हटाउँदै उनले भनिन्— दिदी, नचिनेको हो कि के हो ? अनुहार प्रस्टै देखेपछि उनलाई चिन्न मलाई कुनै गाह्रो भएन । ‘तिमी कहाँ बस्छ्यौ ? के गर्दै छौ ?’ मैले एकै सासमा सोधें । मलीन स्वरमा उनले भनिन्— यो बाटोमा उभिएर के भनौं ? मलाई तपाईंको सहयोग चाहिएको छ । ‘हेर्नुस् न, मेरो बच्चालाई कुनै संस्थाले राखिदिन्थ्यो कि ?’

उनले सुरुमै बच्चाको कुरा निकालेपछि मैले सोधें, ‘किन र ? कहाँ राख्नुपर्‍यो बच्चा ?’कुरा गर्दागर्दै एक जना पुरुष उनको छेउमा आइपुग्यो, उनले अलि अनकनाउँदै भनिन्, ‘दिदी, म तपाईंलाई पछि फोन गर्छु, हजुरको नम्बर दिनुस् न ।’ उनी फोन नम्बर लिएर मेरोमा मिसकल गर्दै बाटो लागिन् ।काठमाडौंबाट बाहिरिने अधिकांश गाडी छुट्ने स्थान हो— गोंगबु । जहाँबाट दैनिक सयौं सवारी साधन बाहिरी जिल्लाका लागि छुट्छन् । विदेशबाट आउने अथवा जाने यात्रुका लागि बास बस्ने
‘ट्रान्जिट’ झैं रहेको गोंगबु वरपर होटल, गेस्टहाउस तथा खाजाघरहरू प्रशस्तै देखिन्छन् । पछिल्लो समय केही सपिङ मलसमेत खुेले पनि सडकपेटीमा असरल्ल बसेका पसले तथा तिनका ग्राहक र बस टिकट काट्न आउने—जानेकै बढी घुइँचो देखिन्छ । अझ पछिल्लो समय गोंगबु आसपासका होटल, गेसटहाउस तथा खाजाघरमा खुलेरै यौन गतिविधि हुने गरेको खबर बाहिर आउन थालेको छ । अझ होटलहरूले ग्राहक खोज्न उक्साउँदै गाेंगबु पुल वरिपरि बालिका तथा किशोरीलाई पठाउने र ग्राहकअनुसार कमिसन दिने गरेको समाचार पनि मैले धेरै पटक सुनिसकेकी थिएँ ।

गोंगबुमा भेटिएकी बहिनीलाई त्यसैगरी पुलमाथि देख्नु र उनको अतालिएको हाउभाउ देख्नासाथै मेरो मन गरुङ्गो भयो । गाउँ छँदा सुकिला लुगामा देखिने उनी झुत्रे–फोहोरी कपडामा थिइन् तर अनुहारमा पिठो दलेझैं पाउडर पोतेर एकदमै नसुहाउँदो (भद्दा) रातो लिपिस्टिकमा पुलमाथि उभिरहेका बेला मेरो जम्काभेट भएको थियो ।

गुल्मीको रिडी गाउँमा जन्मिएकी यी चिनारु बहिनीकी आमा सानैमा बितेकी रहिछन् । बुवाले कान्छी आमा ल्याएपछि कलिलैमा बहिनीले अरूका घरमा काम गर्न थालेकी रहिछन् । पाल्पाका एक सरकारी जागिरेका घरमा काम गर्दै उनी स्कुल जान्थिन् । स्कुले तहको पढाइ पनि नसक्दै यी बहिनीका बाउले जबरजस्ती बिहे गरिदिएका रहेछन् । यो खबर मैले धेरैअघि सुनेकी थिएँ । तर, संयोगले एकाएक भेट भयो, बडो असजिलो अवस्थामा । गोंगबुको अप्रत्याशित भेटपछि मलाई हतार भयो, ती बहिनीसँग भेट गरिहाल्न । रातभर मनमा अनेक कुरा खेलिरहे ।

भोलिपल्टै बिहानै मैले फोनमा सोधें, ‘तिमी कहाँ बस्छौ, भन त । म त्यहीं भेट्न आउँछु ।’‘म गोंगबुतिरै बस्छु दिदी, यस्तो ठाउँमा के आउनुहुन्छ ? बरु म नै आउँछु नि,’ उनले भनिन् । तर, उनको कुरा नमानी म गोंगबु पुगें, उनलाई भेट्न । गोंगबु पुलमुनिबाट दाहिनेतिर लागेपछि एउटा सानो गल्लीभित्र रहेछ, उनले काम गर्ने होटल । उनले आफ्नो कोठामा लगिन् मलाई । होटलकै एउटा कोठामा बस्ने रहिछन् । कोठाभरि चुरोटका ठुटाहरू । रक्सी र चुरोटको गन्धले कोठा पसिसक्नु थिएन, वरिपरि ठूलाठूला घर झ्याल खोल्दा पनि हावा कतैबाट नछिर्ने । ४/५ वर्षेजस्तो देखिने उनको छोरा त्यही चुरोटका ठुटामाझ खेलिरहेको थियो ।सुरुआतमा उनलाई आफ्नो कुरा खोल्न धेरै नै गाह्रो भैरहेको थियो, मैले अनुभुत गरें । बिस्तारै कुरा आउन थाल्यो ।‘गाउँमा बूढाले बस्नै नदिएपछि छोरा च्यापेर काठमाडौं आएँ । भाँडा माझेर भए नि छोरा पाल्छु भन्ने हिम्मत राखेर आएकी थिएँ । तर यहाँ त भाँडा माझ्दा–माझ्दै मलाई नै माझ्न थाले, म नै जुठो बर्तनजस्तो भएँ । पहिलेको ठाउँमा काम छाडेर यो होटल आएकी हँु तर यहाँ पनि… !’ उनी बीचमै सुकसुकाउन थालिन् । आमा रोएको देखेर सामुको छोरा पनि रुन थाल्यो ।

उनले छोरालाई काखमा च्यापिन् र भन्दै गइन्, ‘यहाँ पनि भाँडा माझ्ने कामबाटै सबै सुरु भयो । एउटा कोठा दिन्छौं, दिनभरि यही काम गर भने । तर, बिस्तारै कोठामा ग्राहकहरू पठाउन थाले । कि उनीहरूलाई रमाइलो गराउनुपर्ने कि त निस्केर जानुपर्ने । जतिवटा होटल फेरे पनि यो गोंगबुमा भएका धेरैजसो होटलमा यस्तै हालत हुने रैछ ।’ ‘होटलमा ग्राहक आउँदा पनि यही कोठामा सुत्ने हो । छोरा सँगै हुन्छ । उसकै अगाडि रक्सी–चुरोट चलाउनुपर्ने बाध्यता । कतिपय ग्राहकलाई ‘छोरा निदाओस् अनि गरौंला’ भन्दा पनि रक्सीको सुरमा पर्खनै मान्दैनन् । छोराकै सामु नहुने र नगर्ने काम पनि गरिन्छ… । लौ न, मेरो छोरालाई यो नर्कबाट निकालेर कतै स्कुलमा बोर्डस राखिदिनुपर्‍यो,’ एकोहोरिंदै उनी बोलिरहेकी थिइन् । मसँग उनलाई सान्त्वना दिने शब्दसमेत थिएन । चुपै रहें । एकै छिनमा चिया पिउनका लागि हामी होटलको तल रिसेप्सनमा आएर बस्यौं । एकै छिनमा झन्डै १३/१४ वर्षे जस्ती देखिने केटी ५० नाघेको एक पुरुषसँगै काउन्टरमा आएर चिच्याई— अंकल, ए अंकल… ।

होटलको एउटा स्टाफ काउन्टरमा आयो । केटीले ठाडै सोधिन्— कोठा छ ? उसले ‘छ’ भन्यो । उनले चाबी मागिन् । चाबी लिएपछि त्यो अधबैंसे पुरुष पनि केटीका पछि लाग्यो । उनले काउन्टरमै ‘दुइटा कन्डम दिनुस्’ भनेर पेन्टको गोजीमा अघि नै हालिसकेकी थिइन् ।

मैले उनलाई हेरिरहेकी थिएँ । वरिपरि मानिसहरू भए पनि उनमा कुनै धक थिएन । घुँडामा च्यातिएको डिजाइनको पाइन्ट, गलामा पोते, ओठमा कालो लिपिस्टिक, कालो अनुहारमा सेतै देखिने गरी मेकअप । हेर्दा कलिलो उमेरकी भएप नि उनको शृंगार हेर्दा बिहे भइसकेकी महिलाजस्तै भान पथ्र्यो । त्यो क्रेता–विक्रेता जोडी कोठामा माथि उक्लिएपछि मैले बिस्तारै सँगै बसेकी बहिनीलाई सोधें । त्यो केटीको नाम राधा रहेछ । घर हेटौंडा जाने बाटोतिर पर्छ रे । राधासँग आफूजस्तै ४/५ जनाको ग्रुप छ— उताउता चहारिरहने ।यिनीहरू गोंगबु पुलतिर बस्छन् र ग्राहक खोजेर आसपासको होटल–गेस्टहाउसमा ल्याउँछन् रे । ‘होटलको काउन्टरमै कन्डम राखिएको रैछ नि त ?’ मैले चासोपूर्वक सोधें । ‘हो, कन्डम एउटाको १०० रुपैयाँ लिएर बेच्छन् यहाँका होटलहरूले । कतिपय ग्राहक भने साधन आफैं बोकेर नि आउँछन्… ।’

मलाई त्यो कलिली केटीसँग भेटेर कुरा गर्न मन लागेको थियो । ‘के मलाई ऊसँग भेटाउन सक्छ्यो ?’ मैले मेरो छेवैकी बहिनीलाई सोधें ।‘हुन्छ दिदी । दिउसो आउनेका ग्राहक धेरैजसो छिटै बाटो लागिहाल्छन्, अनि भेटौंला न,’ उसको जवाफ थियो । आधा घण्टा कुरेपछि त्यो केटी तल आई । पछिपछि लखतरान हाउभाउमा अधबैंसे आइरहेको थियो । मुखमा मास्क लगाउँदै ऊ सरासर होटलबाट बाहिर निस्कियो । बहिनीले त्यो केटीलाई आफ्नो कोठामा बोलाइन् । अनि हामी गफिन थाल्यौं— अर्को लटमा । त्यो केटी मेरो छेवैमा बसेकी थिई । उनको छेउमा बस्दा केटीको मुखबाट रक्सीको गन्ध आइरहेको थियो । अनि शरीरबाट पनि एकतमासको नमीठो गन्ध आइरहेको थियो ।‘बैनीको घर कहाँ हो ?’ मैले आँट बटुलेरै सोधें । ‘उता पर्छ चोभारदेखि अल्लि पर,’ उसले गाह्रो मान्दै जवाफ फर्काई । ‘घर नबसेर किन यता आको त ?’‘पैसा कमाउनु परेन ?’‘पैसा कमाएर के गछ्र्यौ नि ?’‘घरमा आमालाई पठाउँछु नि । अहिले त पठाउनै पाको छैन । सबै केटाहरूले खाइदिन्छ,’ उनले मुख बिगार्दै भनिन् । ‘को केटाले खाइदियो ?’‘आउँछ नि केटाहरू, तँलाई खुब माया गर्छु भन्छ अनि फकाएर पैसा लगिदिन्छ ।’

‘यसरी होटलमा अरू कामका लागि आउँदा पुलिसले समात्दैन ?’‘कहिलेकाहीं पुलतिर बस्दा भने लखेट्छ । तर हाम्लाई त पुलिसले नै खबर गर्छ नि, अहिले चेकिङ छ । बाहिर ननिस्क है भनेर । ‘को आउँछ र चेकिङ गर्न ?’ थाहा नै नपाएझैं गरी सोधें ।‘खै सरकारी मान्छे, पुलिस आउँछ नि । २/४ दिन त पुलतिर नि गइन्न, लुकेरै बस्नुपर्छ ।’मसँग कुरा गर्दागदै उनको फोन आयो । उनले होटलको नाम दिएर यहाँ आउनु भनिन् । सँगै खाजा खान मन थियो । ‘तपाईंको ग्राहक आउन कति बेर लाग्छ ?’ मैले सोधें । ‘यो मान्छेले १ हजार रुपैयाँभन्दा बढी दिंदा पनि दिन्न । केही खुवाउँदा नि खुवाउँदैन । म पनि उत्तिकै बाठी छु नि । १५ मिनेटमा काम सक, अर्को ग्राहक पनि छ भनेर हिँडिहाल्छु । बरु तपाईंहरू खाजा मगाउँदै गर्नुस् न, हुन्न ?’ त्यो कलिली केटीले भनी । ‘तिमी यो काम छाडेर बस्ने भए म ठाउँ खोजिदिन्छु, छाड्छौ ?’ मैले सोधें ।‘ह्या बस्दिनँ म त । मुस्किलले एक वर्ष त राख्छन् अनि फेरि घर लगेर छाडिदिन्छन् । गाउँमा काम पाइन्न, खेती पनि छ्रैन । आमा, भाइ–बैनी पाल्न काम त गर्नुपर्‍यो नि । नपढेको मान्छेले गर्ने काम अरू के हुन्छ र ? यही त रैछ,’ ती केटीले एकै सासमा आफ्नो दिग्दारी पोखिन् । ‘कति कक्षासम्म पढेकी छौ ?’
मैले सोधें ।‘३ कक्षा मात्र पढेकी छु । तर थाहा छ, म सधैं सेकेन्ड हुन्थें नि,’ उनले मुख उज्यालो पारेर सुनाइन् ।

‘अहिले कहाँ बस्छ्यौ त ? म यतैतिर होटलमै बस्छु । हामी तीन जना साथी होटलको कोठामा बस्छौं,’ अप्ठ्यारो नमानी जवाफ दिइन् ।‘आफ्नै कोठामा पनि यस्तो काम गछ्र्यौ ?’फेरि कुनै धक नमानी ‘किन नगर्नू नि’ भन्ने जवाफ दिइन् । ग्रुपमा गर्न खोज्नेहरूलाई एउटै कोठामा राखेर पनि गर्छौं तर कसैले त्यस्तो मन पराउँदैनन् । ‘गोंगबुमा तिमीले चिनेको तिमीजस्तै नानीहरू कति छन् होला ?’ मैले सोधें ।‘कति छन् कति । यता त सबै होटल हामीले गर्दा त मोटाका छन् नि । हामीले पुलतिर बसेर ग्राहक खोजेर ल्याउँछौ र त यिनीहरूको होटल चलेको छ,’ आफूहरूलाई बेचेर मालिक बनेकाहरूप्रति रोस जनाउँदै उनले भनिन् ।

उनी रफ्तारमा कुरा गरिरहेकै थिइन् । अर्को ग्राहक आइपुग्यो । फेरि काउन्टरमा गएर एउटा कन्डम मागेर उनी भर्‍याङ उक्लिन् । मन–मस्तिष्कमा ‘ओहो’ भन्ने भइरह्यो ।
अरूभन्दा पनि गुल्मेली ती युवती अनि उनको ४ वर्षे छोराको सम्झना मात्रै भइरह्यो । त्यो बालक जो आफ्नो आमाले बिताएको परपुरुषसँगको हरेक पलको साक्षी बनेको छ । उसले भोलिका दिनमा आमालाई कुन नजरले हेर्छ होला ? अनि रक्सी, चुरोट र अनेकथरी पुरुषसँगको सहवासलाई नियाल्दै हुर्केको त्यो बालकको भविष्य कस्तो होला ? मलाई भित्रभित्रै ऐठन भएजत्तिकै भयो । त्यो बालकलाई कहीं कतै परोपकारी स्कुलमा भर्ना गर्न र बोडर्स गर्न सकिन्छ कि (?) भनेर पहल थालिहाल्ने आश्वासन दिंदै म होटलबाट बाहिरिएँ ।गोंगबुमा भेटिएका यी दुई किशोरी प्रतिनिधि पात्र मात्र हुन् । हामी साँझको समयमा गोंगबु क्षेत्र वरपर जाने हो भने त्यहाँ धेरै कलिला नानीहरू ग्राहकहरूसँग ठाडो भाषामा मोलमोलाई गरिरहेको देख्न सकिन्छ । नेपालमा बालबालिका र किशोरी अधिकारका लागि काम गर्ने थुप्रै संघसंस्था छन् । महिला तथा किशोरीहरूको अधिकार स्थापित गर्ने उद्देश्य बोकेर पनि धेरैले काम गरिरहेका छन् । तर, काठमाडौंका मुख्य स्थानहरू गोंगबु, कलंकी, कोटेश्वर, जडीबुटी, सिनामंगल, गौशाला, सोह्रखुटेलगायतका स्थानका बालिका तथा किशोरीहरू दुई छाक जोहो गर्नैका लागि जानाजानी यौनकर्मी बन्दै गइरहेका छन् । यो कटु यथार्थ हो ।

गोंगबु क्षेत्रमा व्यापक रूपमा मानव बेचबखन, ओसारपसार तथा यौनजन्य गतिविधि बढेको घटना बाहिर आएपछि स्थानीय प्रहरीले चासो राखेको पाइयो । यो वैशाख महिनाभित्र गोंगबुलाई मानव बेचबिखन तथा यौनजन्य दुव्र्यवहारमुक्त क्षेत्र घोषणा गर्ने अभियानमा प्रहरी लागेको रहेछ । प्रहरी प्रभाग गोंगबुमा कार्यरत प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पछिल्लो महिनामा मात्रै प्रहरीले ५० जना होटल सम्बद्ध कर्मीलाई यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ गरेको छ, यसमा २३ जनालाई मुद्दासमेत चलाइएको छ । प्रहरी निरीक्षक मल्ललाई ‘यौनकर्मका ग्राहकलाई किन पक्राउ गर्नुहुन्न ?’ भनी जिज्ञासा राखेकी थिएँ । जवाफ थियो, ‘यस्ता ग्राहकहरू गाउँबाट भोलिपल्ट विदेश जान काठमाडौं आएर बसेका र विदेशबाट घर जान हिँडेका व्यक्ति हुनाले पक्राउ गर्न अप्ठ्यारो पर्ने गर्छ । तिनै व्यक्तिले शारीरिक सम्पर्क राखेको भेटिएमा महिलालाई भने पक्राउ गरेर कारबाही गरिएको छ ।’

यथार्थमा भने प्रहरी–प्रशासनले देखाउने चोर–पुलिस खेलले यो यौनदासता र व्यवसायको चक्र हट्न सक्ने देखिन्न । सरकारले जबसम्म यो विषयलाई आन्तरिक मानव बेचबिखनको रूपमा स्थापित गरी सोहीअनुसार पीडकलाई कारबाहीमा नल्याएसम्म गोंगबुजस्ता महानगरका चोकहरू ‘सेक्स–जङ्सन’ बनिरहने निश्चित छ । यही क्रम रहने हो यो मध्यसहरमा यौनकर्मीहरू यत्रतत्र पाउन सकिनेछ ।

-रूपा शर्मा (नेहा) इकान्तिपुर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१