यस्तो छ ! कुखुरापालन व्यवसायमा दानाको महत्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७६, सोमबार ०५:२१

पोल्ट्री व्यवसाय नेपालमा फस्टाउँदै गएको छ । त्यसमा पनि पोल्ट्रीको राजधानी मानिएको चितवन जिल्लामा यो किसानको प्रमुख आर्जनको स्रोत बनेको छ । यो व्यवसाय पाँच वर्षयता करिब ३० प्रतिशतले वृद्धि भएको छ । नेपालमा कुखुरा व्यवसायले मात्र कुल ग्राह्स्थ उत्पादनको चार प्रतिशत ओगटेको देखिन्छ । पोल्ट्री व्यवसायमा संलग्न किसानहरु आज बजारमा सस्तो, सुलभ, पौष्टिक र गुणस्तरीय पोल्ट्री उत्पादनहरु ल्याउन सफल भएका छन् । पोल्ट्री व्यवसायलाई दीर्घकालीन रुपमा अगाडि बढाउनको लागि गुणस्तरीय दानाको प्रमुख भूमिका रहेको हुन्छ । तसर्थ कुखुरा पाल्ने किसानहरुले गुणस्तरीय दानाप्रति ध्यान दिनु जरुरी छ ।

किसानहरु आफ्नो प्रतिवद्धतालाई मूर्तरुप दिन र आफ्नो व्यवसायिक लाभ लिनको लागि लागनीअनुसार क्रियाशील हुनुपर्छ । ती मध्ये पनि कुखुराजन्य आहारामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । कुखुरा व्यवसायमा आहारा जुन हामीले दाना भन्ने गर्छौं कुल लगानीको ७० प्रतिशत हिस्सा ओगटेको हुन्छ । दानाले किसानलाई नाफा वा नोक्सान दिलाउन मुख्य भूमिका खेल्दछ । यिनै कारणले किसानलाई दानाको प्रकार र गुणस्तरसम्बन्धी विशेष जानकारी राख्नुपर्छ । कुखुराको प्रकार र गुणअनुसार उचित दाना छान्ने ज्ञानको विकास गर्नु जरुरी हुन्छ ।

कुखुरापालन जैविक प्राणीको व्यवसाय हुनाले यो एउटा जटिल व्यवसाय पनि हो । यो व्यवसायमा उत्कृष्ट उत्पादन लिनको लागि वातावरण, किसानको व्यवसायप्रतिको लगाव, दक्ष्ता, मौसम, आहार र नश्लको प्रमुख भूमिका हुन्छ ।

उमेरअनुसार आवश्यक पर्ने दानाको मात्रा र दानामा उपलब्ध तत्व
दानामा हुने तत्व प्रतिशतमा ब्रोइलर चल्लाको सुरु दाना ब्रोइलर चल्लाको ग्रोइङ दाना ब्रोइलर कुखराको अन्तिम दाना फुलको लागि पालिने चल्लाको दाना फुलको लागि पालिने हुर्कंदो कुखुराको दाना फुल पार्ने कुखुराको दाना
क्रुड प्रोटिन घटीमा २२ २० १९ २० १७ १६
क्रुड फाइवर बढीमा ४ ४ ४ ४ ४ ५
क्रुड फ्याट घटीमा ४ ४ ४ ३ ३ ३
क्याल्सियम १ ०.८ ०.७ १ १.५ ३.५
फोस्फोरस ०.४ ०.४ ०.४ ०.४ ०.४ ०.५
आधुनिक प्रविधिमा कुखुराको नश्लमा पनि उच्चतम विकास भएको छ । ब्रोइलर कुखुरा ३५ दिनमा दुई किलो पुग्ने गुण विकास गरिएको छ भने अण्डा पार्ने कुखुराले असी हप्ताको आफ्नो आयुमा ३५० वटा सम्म अण्डा उत्पादनको क्षमता राख्दछ । कुखुराको यी उच्चतम गुणको फाइदा लिनको लागि पहिले चर्चा गरिएको जस्तै वातावरण, व्यवासायीक दक्षता र आहाराको प्रमुख भूमिका हुन्छ । यी मध्ये आहाराको प्रमुख भूमिका हुन्छ । मौसमको प्रतिकूलता र प्रबन्धमा हुने मानव त्रुटीबाट सुरक्षा दिन पनि दानाको प्रमुख भूमिका रहेको हुन्छ । दानाको यिनै महत्वपूर्ण भूमिकाले गर्दा दाना छनौट गर्दा यसको गुणस्तरीयत, दानाको आयु, अरुको अनुभव र पछिल्लो समयमा दाना प्रयोग गर्दा लक्षित उत्पादकत्व हासिल गरेको वा नगरेको अनुभवले निकै महत्वपूर्ण हुन जान्छ ।

साधारणतया जुनसुकै कुखुराको लागि पनि उमेर अनुसारको दानाको सही आकार हुनुपर्दछ । विशेषत फरक कुखुराको लागि दानाको गुणस्तर निर्धारण गर्ने मापदण्ड फरक हुने गर्दछ । ब्रोइलर कुखुराको हकमा दानाको गुणस्तर निर्धारण गर्नको लागि FCR Calculate गरिन्छ । यो एउटा सुक्ष्म गणितीय प्रक्रिया हो । ४२ देखि ४५ दिनको कुखुरामा यो अनुपात १.६ देखि १.८ रहेको पाइएको छ । यो अनुपात कुखुराको आयुसँगै बढ्दै जान्छ । यिनै कारणले गर्दा एउटा निश्चित समयावधि भन्दा धेरै कुखुरा राख्दा व्यवसायिक लाभमा प्रतिकूल असर पर्न जाने देखिन्छ । उपयुक्त वातावरण र गुणस्तरीय दानामा यो अनुपात कम हुन्छ भने प्रतिकूल वातावरण र कमसल दानामा यो अनुपात बढेको देखिन्छ ।

अधिकतम किसानले यो अनुपात मापन गर्दा ब्रोइलर कुखुराको बजारमा बिक्री हुने समयमा लिने गरेको पाइन्छ, तर यो अनुपात पहिलो हप्तादेखि मापन गर्न निकै जरुरी हुन्छ । पहिलो हप्तामा नै ब्रोइलर चल्ला तीन सय प्रतिशतले आफ्नो तौल बढाउँछ र ४०/४५ दिनमा लक्षित तौल २ केजी लिनको लागि यो उमेरको तौल निकै जरुरी हुन आउँछ । दानाको गुणसतरको बारेमा पनि निकै पहिले सचेत भएमा पछि हुने नोक्सानबाट बचाउँछ । यिनै कारणले गर्दा दानाको गुणस्तर निर्धारण गर्नको निम्ति चल्लाको पहिलो हप्ता देखिनै दाना परिवर्तन अनुपात (FCR) मापन गर्न जरुरी हुन आउँछ । निर्दिष्ट समयमा लक्षित तौल लिनको निम्ति चल्लाको आयुअनुसार क्रमबद्ध रुपमा विकास भएको हुनुपर्दछ । कुनै निश्चित समयमा तौलमा ह्रास आएमा पछिल्लो समयमा त्यही अनुपातमा तौल कम हुने गर्दछ । समयानुकूल रुपमा चल्ला विकसित भए नभएको मापन गर्नको लागि उचित रुपमा अभिलेख राख्न जरुरी हुन्छ । त्यसअनुसार अभिलेख राख्दा किसानलाई दाना खपत अनुसार चल्लाको विकास भए नभएको समयमै जानकारी हुन्छ र दानाको गुणसतर बारेमा पनि राम्रो जानकारी राख्न सकिन्छ । दानाको गुणस्तरसँगै कुखुराले उचित मात्रामा दाना खपत गरेको नगरेको पनि जानकारी राख्नुपर्छ । उचित मात्रामा दाना खपत नभएमा पनि कुखुराको तौलमा ह्रास आउँछ । समयानुसार कुखुराको दाना खपत तालिका यस प्रकार रहेको छ ।

उमेर हप्तामा दाना खपत (ग्राम प्रति चल्ला)
१ १६०
२ ३२०
३ ५१०
४ ६५५
५ ७८५
६ ९३०
७ १०००
ब्रोइलर दाना चार प्रकारका हुन्छन् र चल्लाको उमेर अनुरुप दानाको प्रकार र आकार निर्धारण गरेको हुन्छ । किसानले तल दिएको तालिका अनुसार दाना दुवाउन उपयुक्त हुन्छ ।

लेयर्स कुखुरा लगभग १८/१९ महिना पालिने भएकोले यसमा दानाको व्यवस्थापन ब्रोइलरको भन्दा फरक हुन्छ । लेयर्स पालनमा पनि चल्लाको उमेर र तौलमा विशेष निगरानी राख्नुपर्ने हुन्छ । तर, ब्रोइलर चल्लाको जस्तो FCR निकालिरहनु पर्दैन । यसमा पनि समयानुसार तौल नपुगेको खण्डमा दानाको प्रकारमा सम्बन्धित विशेषज्ञको निगरानीमा परिवर्तन गर्नुपर्ने हुन्छ । अण्डा पार्ने आयुभन्दा पहिले चल्लाको उचित तौल र वृद्धिको विशेष निगरानी गर्नु पर्दछ । समयानुसार तौल कम भएमा कुखुराले अण्डा पार्ने समय ढिलो हुन गई प्रति कुखुरा अण्डाको संख्यामा ह्रास हुन जान्छ । समयानुसार चल्लाको वृद्धि, तौल र अण्डा पार्नको लागि वयस्कता हासिल गर्न गुणस्तरीय र उचित प्रकारको दाना पहिचान गर्नु जरुरी छ । लेयर्सको लागि साधारणतया तीन प्रकारको दाना पनि बनाइन्छ । उमेर अनुसारको दानाको प्रकार तलको तालिकामा उल्लेख गरिएको छ ।

उमेर दिनमा दानाको प्रकार
०–१० B0
११–२२ B1
२३–४२/४५ B2
४३/४६/+ B3
चल्लाको निर्दिष्ट तौल नपुगेको खण्डमा L1 दाना अरु १/२ हप्ता लम्ब्याउन सकिनेछ । कुखुरामा वयस्क लक्षण नदेखिएमा र तौल निकै कम भएमा १६–१७ हप्तामा Pre-Lay दाना चलाउन सकिनेछ । अण्डा पार्न सुरु गरेको परिस्थितिमा दानाको गुणस्तरले धेरै मात्रमा अण्डाको रङ, आकार र अण्डाको बोक्राको गुणस्तर निर्धारण गर्दछ । अण्डाको आकार प्रकार हेरी दानामा परिवर्तन ल्याउनु पर्छ ।

उमेर हप्तामा दानाको प्रकार
०–११ L1
१२–१७ L2
१८+ L3
दाना किन खुवाउने ?

दानाले कुखुराको जीवन बचाउन मद्दत गर्छ, – शरीरको संरक्षण तथा वृद्धिमा मद्दत गर्दछ, – मासु तथा अण्डा उत्पादन क्षमतालाई कायम राख्दछ, – शरीरको तापक्रमलाई कामय राख्दछ, – शरीरबाट काम नलाग्ने विषालु पदार्थलाई बाहिर फाल्छ ।

दानाको बनाबट, गुणस्तर विभिन्न मिश्रणहरुको मिसाबट आदिले कुखुराको उत्पादनमा प्रत्यक्ष रुपमा असर गर्ने गर्दछ । त्यसैले कुन पोषणतत्व कति मात्रामा मिसाउने भनी विचार पु¥याउनु पर्दछ । गुणस्तरीय दाना कुखुराले राम्ररी खाने गर्दछ र उत्पादनमा वृद्धि पनि गर्छ । कुखुराको दानामा मुख्यतया ५ पोषण तत्वहरु रहेका हुन्छन् ।

– प्रोटिन:- भटमास, पिना, बदामको पिना, किसमिस र MBM

– कार्बोहाइड्रेटस:- मकै, गहुँ, खुदो, चोकर

– फ्याट : तेल

– भिटामिन : A1, B, D, E, K, H

– मिनरल : क्याल्सियम, फोस्फोरस, सेलेनियम, सल्फर, मेग्नेसियम आदि ।

कार्बोहाइड्रेट्सले शक्ति प्रदान गर्ने गर्दछ । कुखुराको शारीरिक वृद्धि र सम्पूर्ण विकासको लागि प्रोटिनको प्रमुख भूमिका रहेको हुन्छ । प्रोटिन विभिन्न एमिनो एसिडहरु मिलेर बनेको हुन्छ । फ्याट पनि दानाको एउटा प्रमुख तत्व हो । फ्याटले धेरै शक्ति प्रदान गर्ने र फ्याटमा घुलनशील भिटामिनहरु शरीरले सोसेर लिन चिल्लो पदार्थको (फ्याट) आवश्यकता पर्दछ । भिटामिन्सहरु अर्गानिक पदार्थ हुन् जसले शारीरिक वृद्धिको लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मिनरलमध्ये पनि क्याल्सियम र फस्फोरसले प्रमुख भूमिका खेल्छ । ब्रोइलर कुखुरामा यसले हड्डीलाई बलियो बनाउनुका साथै शारीरिक विकासमा मद्दत पु¥याउँछ । त्यसैगरी लेयर्स कुखुरामा अण्डा उत्पादनमा वृद्धि गर्ने गर्दछ । अण्डाको बोक्रा पातलो आउनु भनेको दानामा चाहिँदो मात्रामा क्याल्सियम नहुनुको संकेत पनि हो ।

अहिले पेलेट वा गोटी दानाको माग दिनहुँ बढिरहेको छ किनकि यो दाना खुवाउँदा अन्य दानाभन्दा धेरै कुरामा फाइदा हुन्छ । पेलेट दानाको आकार गोटी भएकोले दाना कम खेर जान्छ पेलेट दाना पूर्ण रुपले पाकेकोले पचाउनलाई पनि सजिलो हुन्छ । सुक्ष्म पोषक तत्व पनि दानामा बराबर बाँडिएको हुन्छ । तसर्थ सबै कुखुराले सुक्ष्म पोषक तत्व प्राप्त गरिरहेको हुन्छ । फिड कनभर्सन रेसियो पनि पेलेट दानामा राम्रो हुने गर्दछ । FCR जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । अहिले उत्पादित पेलेट दानाको FCR सरदर १.७–१.८ छ । तर भास दानाको FCR २.० वा सोभन्दा बढी छ । उचित तापक्रम पु¥याएर बनाएको अहिलेको पेलेट दानामा जीवाणु संख्या कम हुन्छ । त्यसैले पेलेटमा दाना बनाउन प्रयोग हुने कच्चा पदार्थबाट रोग सर्ने सम्भावना पनि कम हुन्छ ।

कुखुरापालन गर्दा दानाको खर्चले प्रमुख भूमिका खेलेको हुन्छ । त्यसैले उत्पादित दानाको सही सदुपयोग गर्नुपर्दछ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दाना खेर गइरहेको हुन्छ । दानामा ढुसी लाग्ने, दानाको भाँडोमा आवश्यकताभन्दा बढी दाना राख्ने, दाना ढुवानी गर्दा पोखिने, मुसा, चरा आदिले दाना चोरेर खाने, दाना भाँडामा राख्दा भुइँमा पोखाउने आदि प्रत्यक्ष रुपमा दाना खेर जानुको प्रमुख कारण हुन् ।

दाना मात्रैले कुखुराको उत्पादनमा निर्धारण गर्ने पनि होइन । यसका साथै कुखुराको नश्ल, चल्लाको गुणस्तर, हावापानीको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर, कुखुरापालन व्यवसायमा दानामा अधिक लगानी र दानाको गुणस्तर धेरै मात्रामा हामीले नियन्त्रण गर्न सकिने हुनाले यसलाई प्रमुख स्थान दिने गरिएको छ । दानाको गुणस्तरसँगै अन्य तत्वलाई पनि कुखुरापालन अनुकूल बनाउन सकिएमा किसानको लागि थप लाभ हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१