सगरमाथा आरोहण गर्ने १० को मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७६, आईतवार ०५:२२

काठमाडौं । सगरमाथा शिखरबाट ओर्लन नसकेर एक बेलायती आरोहीको शनिबार मृत्यु भएको छ। उनीसहित यो सिजनमा सगरमाथा आरोहणमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुगेको छ।

४४ बर्से रबिन हाइन्स फिसरको सगरमाथाबाट ओर्लंदा लडेर मृत्यु भएको जानकारी सरकारी अधिकारीले दिएका छन्। पर्यटन विभागकी अधिकृत मिरा आचार्यका अनुसार फिसरको मृत्यु शिखरबाट अवतरण गर्दा थकान र अक्सिजनको कमीका कारण भएको थियो।

फिसन शनिबार बिहान शिखर उक्लेका थिए। तर उनी अवतरणका क्रममा शिखरबाट १ सय ५० मिटर तल एक्कासि ढलेको र ढलेलगत्तै मृत्यु भएको उनको आरोहण आयोजक कम्पनी एभरेस्ट परिवा एक्सपेडिसनका मुरारी शर्माले बताए। ‘हाम्रा गाइडले उनलाई मद्दत गर्ने प्रयास गर्दागर्दै उनको निधन भयो’, उनले भने।

शुक्रबार आयरल्यान्डका पर्वतारोही केभिन हाइन्सको मृत्यु भएको थियो। ५६ बर्से केभिनको मृत्यु भने उत्तरी मोहोडाबाट अवतरणका क्रममा तिब्बततर्फ भएको थियो। यो सिजनमा सगरमाथासहित विभिन्न हिमाल चढ्दा मृत्यु भएका पर्वतारोहीको संख्या भने १८ पुगेको छ।

पर्यटन अधिकारीहरूका अनुसार कमजोरी, थकान र अत्यन्त भीड भएकाले आरोहण÷अवतरणमा हुने ढिलाईका कारण पर्वतारोहीको मृत्यु भएको हो। पर्यटन विभागले यो सिजनमा सगरमाथा आरोहण गर्न ३ सय ८१ जना पर्वतारोहीलाई अनुमति दिएको थियो। यति धेरै जनालाई आरोहण अनुमति किन दिइयो भनेर प्रश्न उठेको छ। सरकारले सगरमाथा आरोहणको अनुमति दिन जनही ११ हजार अमेरिकी डलर शुल्क लिने गरेको छ।

यस वर्ष पनि सगरमाथाको शिखरनजिक आरोहीहरूको ठूलो भीड र लामो पंक्ति देखिएका तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका छन्। सगरमाथामा यसै साता एक नेपाली, एक अस्ट्रियाली र एक अमेरिकाली आरोहीको मृत्यु भएको छ। गत साता आयरल्यान्डका अर्का आरोही प्रोफेसर सिमस ललेस माथिबाट खसेर बेपत्ता भएका थिए। खोजी भइरहेको भए पनि उनको मृत्यु भइसकेको अनुमान छ।

यस वर्ष सगरमाथामा मौसम सामान्यभन्दा निकै खराब छ। हावाहुरीका कारण पर्वतारोहीले थोरै समयभित्र शिखर उक्लन र ओर्लनु परिरहेको छ। यसपल्ट सगरमाथाको चुचुरोमा पुग्ने आरोहीको संख्या गत वर्षको भन्दा पनि धेरै हुने अनुमान छ। गत वर्ष ८ सय ७ जना सगरमाथा शिखरमा पुगेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१