निकासी नहुँदा धराशायी बन्दै जडीबुटी व्यावसाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७६, बिहीबार ०५:०८

नेपालगञ्ज। भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यावसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यावसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् ।

भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी त्यो सूचीमा नपर्दा निकासी हुन नसकेको हो । कतिपयको सूचीमा नाम मिलेता पनि वैज्ञानिक नाम नमिल्दा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मो। याकुव अन्सारीले बताए ।

नयाँ कानूनअनुसार, २६ मात्रै जडीबुटी सूचीकृत भएपछि अरु जडीबुटीको निकासी रोकिएको हो । पषाणवेद, कुरिलो (सतावर), आमला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना र सिकाकाइलगायतका जडीबुटीको गत मङ्सिरदेखि निकासी रोकिएको छ । अध्यक्ष अन्सारीका अनुसार, नेपालगञ्ज नाकाबाट निकासी हुने रू.१० अर्ब बढीको जडीबुटी बाँकेमा अलपत्र परेको छ ।

नेपालबाट करीब ८० प्रकारका जडीबुटी भारत निकासी भइरहेका थिए । बोझो, कपुर, दालचिनी, काउलो पाउण्डर, कुट्की, रीठा, टिमुरको पनि वैज्ञानिक नाम नमिल्दा निकासी रोकिएको छ । मङ्सिरदेखि नै निकासी नहुँदा करीब १ हजार ५०० मेट्रिक टन जडीबुटी नेपालगञ्जमा थन्किएको छ । देशभरमा करीब १० हजार मेट्रिक टन जडीबुटी रोकिएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

जडीबुटी व्यवसायी रवीन्द्रनाथ शुक्लाले तत्कालै निकासी हुन नसके जडीबुटी कुहिने र गुणस्तरमा ह्रास आउने बताए । उनले जडीबुटी निकासी ठप्प हुँदा संकलन र विक्री वितरणमा संलग्न करीब २५ लाख नेपाली प्रत्यक्षरुपमा प्रभावित भएका र व्यवसायीनै धराशायी हुन पुगेको उल्लेख गरे ।

भारतले ट्रान्जिट पास, नयाँ कानून लागू गरेपछि नेपालबाट जडीबुटी निकासी वर्षेनी घट्दो अवस्थामा छ । नेपालगञ्जमा रहेको नेपाल जडीबुटी व्यवसायी संघको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७०/७१ मा ४७ लाख ३५ हजार ६४ किलो जडीबुटी निकासी भएको थियो । त्यस्तै २०७१/७२ मा ४६ लाख ९ हजार २८७ किलो, २०७२/ ७३ मा ४६ लाख ३८ हजार २१५ किलो, २०७३/ ७४ मा ४० लाख ५० हजार ६७४ किलो र २०७४/७५ मा २७ लाख ५४ हजार २०० किलो निकासी भएको उल्लेख छ ।

प्रतिक्रिया