झाडापखलाबाट बच्ने उपाय

ssapana44@gmail.com' jamuna aryal
१६ बैशाख २०७६, सोमबार १८:५१

काठमाण्डौँ – झाडापखाला त सायद तपाई हामी धेरैले भोगेकै छौ । पेट कटक्क खान्छ, घरीघरी दिसा लाग्छ, थाम्नै सकिँदैन । वाकवाकी पनि लाग्छ । यो त भयो पखाला लाग्दा हुने सास्ती । दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकीसमेत हुनुलाई झाडापखाला वा झाडावान्ता पनि भनिन्छ । गर्मीमा खाना छिटो बिग्रने, धुलोधुँवा, फोहोर, हुरीबतासका कारण रोगका किटाणुहरूले मानिसमा यस्ता रोगहरू सार्ने गर्दछन् ।

मुख्य कारण दुषित पानी र खाना 

झाडापखाला भएका विरामीले दिसा गरेको ठाउँमा रोगका किटाणु हुन्छन् । जुन पानीकै माध्यमबाट अर्को ठाउँमा जान्छन् । जस्तै ढल, खोला यसका माध्यम हुन् । कतै चर्पी र पानीको इनार जोडिएको भएमा पनि किटाणु सर्न सक्ने डाक्टर पुनले बताउनुभयो ।

त्यसैले पिउने पानी राम्ररी उमालेर सेलाएपछि मात्र पिउनु सबैभन्दा राम्रो उपाय हो । नङ पाल्ने बानी छ भने खाना खाँदा रोगका किटाणु शरीरभित्र जान्छन् र झाडापखाला लाग्न सक्छ । त्यसैले हातका नङ समय समयमा काटी रहनुपर्छ । कामले घर बाहिर निस्केपछि शरीर फोहोर र गन्ध हुने भएकाले सरसफाईमा ध्यान दिनुपर्छ ।

झाडापखालाका लक्षण 

१) पेट दुख्ने तथा पातलो दिसा हुने । 
२) शरीरमा तरलमात्राको कमी भई जलवियोजन (डिहाइड्रेशन) हुन्छ, ओठ, मुख सुक्छ अनि छिनछिनमा तिर्खा लाग्ने हुन्छ ।
३) वाकवाक लाग्ने तथा शरीर कमजोर र शिथिल हुन्छ ।

झाडापखालाका प्रकार

आकस्मिक झाडापखाला केही घण्टादेखि २/३ दिनसम्म हुन्छ भने दीर्घ झाडापखाला २ हप्ता वा त्यो भन्दा बढी समयको हुन्छ । झाडापखाला लाग्नुका धेरै कारणहरुमध्ये मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु र परजीविहरु पर्दछन् ।

झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पूर्ति गर्न नसक्दा विरामीको ज्यानै समेत जान सक्छ ।

झाडापखालाबाट बच्ने उपाय 

खाना र पानीमा ध्यान दिन सके यो रोगबाट बच्न सकिन्छ । पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं । फिल्टर गरेको पानी पिउँदा कस्तो फिल्टर हो ध्यान दिनुपर्छ । किनभने साधारण फिल्टरमा रोगका किटाणु फिल्टर हुन सक्दैन ।

हामीले सफा भनेर किनेर खाने जार र मिनरल वाटरमा पनि दुषित खोलाको पानी भरेको खण्डमा झाडापखालाका किटाणु हुन सक्छन् । जार र मिनरल वाटरमा सिल प्याक छ छैन राम्ररी हेरेर र बुझेर खान र उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ नखान डाक्टरको सुझाव छ । खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर खाना खाने बानी राम्रो हो ।  फलफूल, सागपात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं । दिसा पिसाबलाई धेरै बेर रोक्नु राम्रो हुँदैन । 

त्यस्तै घरपालुवा जनावर र चरा, मुसा जस्ता जीवजन्तुलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं ।  विशेष गरी बालबच्चा, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाउनुपर्छ ।

झाडापखाला लागेपछि गर्नुपर्ने कुरा

मौसममा आएको परिवर्तनले शरीरको तापक्रम सन्तुलन हुन नसक्दा र हामीले खाने खाना र पानीमा ध्यान नदिदा झाडापखाला लाग्ने गर्छ । गर्मीमा खाना छिट्टै बिग्रने र लामो समय राख्दा ढुसी पर्ने र नमिठो बास्ना पनि आउँने हुन्छ । भोक लाग्यो भन्दैमा जस्तो पायो त्यस्तै खाना खानाले स्वास्थ्य बिग्रने गर्छ ।

त्यस्तै पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा पनि यो रोग लाग्छ । अति धेरै भयो भने हाम्रो शरिरले पचाउन सक्दैन । शरीरलाई अनावश्यक अथवा अति धेरै तेलमा तारेका खाना जस्तै तारेको भुटेको मासु, भट्मास खानुहुँदैन । त्यस्तै धेरै नुनिलो, धेरै पिरो र मसलायूक्त खानेकुरा नखादा बेश हुन्छ ।

झाडापखाला लागिहालेमा के खाने त ?

१) जीवनजलको पानी सकेसम्म पिउने । 
२) भात, दाल, दही अथवा नरम खाना खाने ।
३) झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडिको रस र फलफूलको जुस खानुपर्छ ।
४) कागती, अनार, मौसम, सुन्तलाको रस जस्ता रसिला खानेकुराले फाइदा गर्छ । काँक्रो, पाकेको मेवा खान सकिन्छ ।
५) जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर उमालेको पानीमा मिलाएर पिउन सकिन्छ । 

के के नखाने ?

फोहोर खाना र दुषित पानी रोगका कारण भएकाले विरामी मात्र होइन स्वस्थ व्यक्तिले पनि खानु हुँदैन । तनाव र थकान हटाउँन भन्दै रक्सी पिउनु राम्रो होइन । त्यसमाथि बिरामीले खानै नहुँने कुराहरु 

१) बिरामीले रक्सी, चिया, कफी र दुध नखादा बेस हुन्छ । 
२) यदी फ्रिजमा राखेको खानेकुरा छ भने बाहिर निकाल्ने वित्तिकै नखाने । 
३) तेलमा तारेका खाना, अमिलो अचार, आलु, भान्टा गोवी पनि नखाने । 
४) पहिल्यै देखि काटेर राखेको सलाद नखाने ।
५) झिंगा बसेको र नछोपिकन राखेको फोहोर खानेकुरा नखाने ।
६) बासी, सडेगलेका खानेकुराहरु नखाने ।

झाडापखालाको रोकथाम कसरी गर्ने ? 

घरेलु उपचार प्रक्रियाले पनि झाडापखाला रोक्न सकिन्छ । सामान्य जलवियोजन भएको अवस्थामा बच्चालाई आमाको दूध खुवाउन सकिन्छ । त्यस्तै जीवनजलको सही प्रयोग गरी जुनसुकै बिरामीले खान सकिन्छ । 

बच्चा भएमा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने । बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ । सरसफाईमा परिवारका सम्पूर्ण सदस्यहरुले ध्यान दिने र शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्छ । रोगको प्रकृति हेरी तत्काल नजिकैको स्वास्थ्य संस्था अथवा डाक्टरको सल्लाह लिन सकिन्छ । 

जीवनजल कसरी बनाउने

एक लिटर सफा पानीमा पुरै एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने । जीवनजल बनाउँदा भाँडो पनि सफा हुन आवश्यक छ । त्यस्तै जीवनजल बनाउने व्यक्तिले साबुन पानीले हात सफासँग धोएको हुनु पर्छ ।

एक पटक वनाएको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । सरसफाई र खानपानमा ध्यान दिन सके हामी जुनसुकै रोगबाट पनि बच्न सकिन्छ । त्यसैले शरिरमा रोग प्रतिरोधात्मक शक्तिको विकास र चेतनाबृद्धि नै मुख्य कुरा हो । 

१) पोषिलो खानेकुराले प्रतिरक्षा प्रणाली विकास गर्दछ ।
२) चेतना अभावका कारण फोहोर खानेकुरा तथा दुषित पानीले गर्दा यो रोग सर्छ त्यसैले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । 
३) पर्याप्त मात्रामा पानी र फलफूल तथा जुस पनि पिउन सकिन्छ ।
४) जथाभावी दिसापिसाब गर्नुहुँदैन र चर्पीको प्रयोग गर्नुपर्दछ ।

रोगको प्रकृति हेरी तत्काल नजिकैको स्वास्थ्य संस्था अथवा डाक्टरको सल्लाह लिन सकिन्छ । रोग लागेपछि उपचारको लागि अस्पताल पग्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम हुन्छ । बेलैमा बढ्दो गर्मीसँगै स्वास्थ्यमा ध्यान दिन सके झाडापखालाबाट बच्न सकिने हुँदा स्वस्थकर जीवन शैली अपनाउन डाक्टर पुनको आग्रह छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१