दीपक अनुरागी आचार्य
कपिलवस्तु, १७ भाद्र । कपिलवस्तुको शिवराज नपा १०, पूर्व रहटकोलका एक दम्पत्तिका छोराछोरी दुवै जन्मेदेखि नै मुटुरोगले ग्रसित छन् ।
त्यहाँ बस्ने मानबहादुर पुन र टीका कुमारी पुनका १५ वर्षीय छोरी हिरा पुन र १२ वर्षीय छोरा देवेन्द्र पुन जन्मजातै मुटुरोगबाट पीडित बनेका हुन् । निम्न वर्गीय परिवारका ती दुवै दिदीभाइ अहिलेसम्म औषधिका भरमा बाँचेका छन् । काठमाडौंस्थित गंगालाल हृदयरोग अस्पतालमा उपचार गराउँदै आएका दुवै दिदीभाइलाई अप्रेसन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको बुबा मानबहादुर पुनले बताए । यही भदौ महिनाभित्र चिकित्सकले अप्रेसन गर्नुपर्ने बताएको पुनले जानकारी दिए । अप्रेसन गर्ने समयावधि नजिकिंदै जाँदा यतिबेला पुन दम्पत्तिलाई आर्थिक अभावले पिरोलेको छ । छोराछोरीको उपचार खर्च जुटाइदिन उनीहरुले हारगुहार माग्दै हिडेका छन् ।
यता पुन दम्पत्तिका मुटुरोगी छोराछोरीको निःशुल्क उपचारका लागि शिवराज नगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिफारिस पत्र पठाएको छ । मुटुरोगी ती दुवै बालबालिका चन्द्रौटा स्थित राष्ट्रिय उच्च माविमा अध्ययरत छन् ।
प्रतिक्रिया