काठमाडौं – युक्रेनमा हास्य कलाकार राष्ट्रपतिमा विजयी भएका छन् । आइतबार राष्ट्रपति पदका लागि भएको दोश्रो चरणको मतदानमा विजयी भएसँगै भोलोदिम्यिर जेलेन्स्की युक्रेनको नयाँ राष्ट्रपति चुनिएका हुन् ।
उनले निवर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोलाई भारी मतअन्तरले पराजित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनको मतपरिणाम अनुसार जेलेन्स्कीले ७३ प्रतिशत भन्दा धेरै मत प्राप्त गरेका छन् भने पोरोसेन्कोले केबल २४ प्रतिशत मत प्राप्त गरेका छन् ।
खासै राजनीतिक अनुभव नरहेका जेलेन्स्की विगत केही वर्षयता टेलिभिजन कार्यक्रममा हास्य कलाकारका रुपमा काम गर्दै आएका थिए । पछिल्लो राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका उनले युक्रेनको वर्तमान संस्थापनको तीब्र आलाचना गर्दै आएका थिए ।
पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणको चुनाव हुने प्रावधान अनुसार आइतबार मतदान भएको हो ।
यसअघि ३१ मार्चमा भएको पहिलो चराणको निर्वाचनमा जेलेन्स्कीले ३०.२ प्रतिशत तथा पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए ।
चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बाचा गरेका छन् ।
प्रतिक्रिया