धनकुटा । लाउँलाउँ खाउँखाउँको यूवा उमेरमै शारिरिक असक्तताले घरदलानको चौघेरामै विवसताको जिन्दगी बिताउनु पर्ने नियति कति दुःखदायी हुँदो हो ? रहर र उत्साहले भरिएको १६ बर्षे स्कुले उमेरमै थला परेर अरुको सहारामा बाच्नुपर्ने अत्यासलाग्दो जिन्दगीको केवल हामि हामि कल्पना मात्र गर्न सक्छौं । तर धनकुटाको सहिदभूमी गाउँपालिका वडा नम्वर एक बाहुनी टोलका २५ बर्षिय पुखबहादुर खड्का विगत नौ बर्ष देखि यस्तै सकसपूर्ण जिन्दगी बिताउन बाध्य छन् । बिजुलीको झड्कामा परेर शरिरको आधा भाग नचल्ने भएपछि पुखबहादुरका लागि दलान र चुहिने छाप्राको खाँबोनै संसार भएको छ ।
करेन्ट लागेर सख्त घाइते भएपछि उपचारका लागि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान त पुर्याइयो तर घरको कमजोर आर्थिक अबस्थाका कारण उपचारका लागि आवश्यक खर्चको जोहो हुन सकेन । उपचार पाए स्वास्थ्यमा सुधार हुने सल्लाह पाए पनि विपन्नताले राम्रो अस्पतालसम्म पुग्न नसकेको पिडा पुखबहादुर शब्दमा ब्यक्त गर्न सक्दैनन् ।
उपचार नपाएकै कारण अहिले उनको कम्मर भन्दा मुनिको भाग चल्नछाडेको छ । आफै खान समेत सक्दैनन् । दिसापिसाव गर्न शौचालय जान सक्ने अबस्था छैन् । गम्भीर प्रकृतिका विरामि र आर्थिक रुपमा विपन्न नागरिकलाई सरकारी उपचार सुविधा उपलब्ध हुने सुनेका पुखबहादुर त्यस्तो सेवा पाउन नसकेको मा भने खिन्न छन् । शरिरसँगै अब त उनको आवाज र हाउभाउमा समेत नकारात्मक असर देखिदै गएको छ ।
कम उत्पादन हुने भीरालो जमिनमा टाटिले बारेको सानो छाप्रोमा नावालक दुइ बहिनी, भाइ र आमाबाबुको गुजरा जसोतसो चलेको छ । नौ बर्ष देखि थला परेका पुखबहादुरको जीवन प्रतिको भरोसा भने टुटेको छैन् ।
प्रतिक्रिया