विशिष्ट व्यक्तिको भ्रमणका नाममा चैत महिनामा मात्रै एक करोड खर्च

ssapana44@gmail.com' jamuna aryal
४ बैशाख २०७६, बुधबार १७:३०

काठमाडौं – सरकारले विशिष्ट व्यक्तिको भ्रमणका नाममा चैत महिनामा मात्रै करिब एक करोड रुपैयाँ खर्च गरेको छ ।

चैत महिनामा मात्रै सरकारले ८२ लाख ७३ हजार ३ सय ९ रुपैयाँ विशिष्ट व्यक्तिको भ्रमणका लागि खर्च गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार भारतमा सम्पन्न भएको विश्व स्वास्थ्य संगठनको ७१ औँ क्षेत्रीय सम्मेलनमा सहभागी हुन गएका डाक्टर विकास देवकोटको दैनिक भ्रमण भत्ताका नाममा १ लाख ३७ हजार ८ सय ३७ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै मानवअधिकार परिषद्को ४० औँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका लागि ४४ लाख ४१ हजार ७ सय ६७ रुपैयाँ दिइएको छ ।

भारतमा भएको ‘समिट अफ ग्लोबल डिजिटल हेल्थ पाटरनसिप’मा सहभागी हुन दिल्ली गएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको भ्रमण दलका लागि २ लाख १ हजार ७ सय २ रुपैयाँ दिएको अर्थमन्त्रालयले जनाएको छ ।

सुरक्षण मुद्रण र दुरसञ्चार सम्बन्धी सम्मेलनमा सहभागी हुन फ्रान्सको पेरिस पुगेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेतृत्वको सरकारी भ्रमणका लागि २६ लाख १० हजार ९ सय ८४ रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै कृषि राज्यमन्त्रीको गत महिना भएको इटाली भ्रमणमा ८ लाख ८० हजार १ सय १९ रुपैयाँ खर्च भएको छ ।

विदेश भ्रमणका लागि करिब एक करोड खर्च गरेको सरकारले आर्थिक सहायताका नाममा १ करोड ५१ लाख रुपैयाँ बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार सुनसरी चतरामा चलिरहेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाका लागि भन्दै ५० लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

त्यस्तै १२ औँ राष्ट्रिय बौद्ध सम्मेलनको धर्मसभाका लागि १० लाख दिएको सरकारले शहिद क्याप्टेन यज्ञबहादुर थापाकी श्रीमतीलाई ३ लाख, हेटौँडाका तिलकबहादुर खड्कालाई ५ लाख, मोरङ उर्लाबारीका गोबिन्दराज गौतमलाई ७ लाख रुपैयाँसहित डेढ करोड आर्थिक सहायताका नाममा पैसा बाँडेको छ ।

सरकारी जग्गा अतिक्रमणबारे छानविन गर्न सरकारले गठन गरेको पूर्वसचिव शारदप्रसाद त्रिताल नेतृत्वको समितिलई समेत १७ लाख भन्दा बढी रकम निकासा गरेको छ ।

दैवी प्रकोप तथा राहत उद्धार कोषमा रहेको पैसाबाट काभ्रेको पाँचखालमा सडक निर्माण गर्न भन्दै २ करोड ८० लाख रुपैयाँ दिइएको छ ।

प्रधानमन्त्रीको गृहजिल्ला अन्तर्गतको आफ्नै निर्वाचन क्षेत्रमा समेत पर्ने पाडाजुँगी– गौरीगञ्ज सडकका नाममा ५ करोड रुपैयाँ दिएको सरकारले झापाको विर्तामोडदेखि भद्रपुरसम्मको सडकका लागि १० करोड, लक्ष्मीपुर–घैलाडुब्बा सडक खण्डका लागि ५ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१