वन्यजन्तु सप्ताह: हात्ती मेलामा हात्तीको विशेष पूजा

ssapana44@gmail.com' jamuna aryal
३ बैशाख २०७६, मंगलवार १७:४९

बर्दिया – वन्यजन्तु सप्ताहको अवसर पारी बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको हात्तीसारमा आयोजना गरिएको हात्ती मेलामा हात्तीको विशेष पूजा गरिएको छ । 
नयाँ वर्षसँगै सुरु भएको वन्यजन्तु सप्ताहको दोस्रो दिन वैशाख २ गते र तेस्रो दिन ३ गते निकुञ्जको हात्तीसारमा हात्तीको विशेष पूजा गरिएको हो । 

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले आयोजना गरेको हात्ती मेला तथा पूजा हेर्न खौराह खोला नजिक हात्तीसारमा आएका स्थानीयसँगै स्वदेशी र विदेशी पर्यटकहरुले पनि हात्ती पूजाका क्रममा हात्तीलाई फलफूल, उखुलगायतका भोजन खुवाएका छन् ।

बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वाराको हात्तीसारमा आयोजित हात्ती पूजा कार्यक्रममा प्रदेश नम्बर ५ सांसद तिलक शर्मा, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष नेत्रराज आचार्य, पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरी लगायत आन्तरिक तथा वाह्य पर्यटकहरु र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

‘परम्परागत रूपमा दशकअघि दशैँका अवसरमा हात्तीबाट सुँगुरका पाठा कुल्चाउने परम्परा थियो, एउटा जीवबाट अर्को जीव हत्या गरिनु उपयुक्त नभएकाले सुँगुर कुल्चाउने परम्परा छाडी हात्ती फुटबल प्रतियोगिता सुरु गर्यौँ’, आयोजक चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । 

त्यसपछि वन्यजन्तुलाई दुःख नदिने भन्ने उद्देश्यले हात्तीलाई फुटबल खेलाउन छाड्यौँ । हात्तीबीच खेलाइने फुटबल प्रतियोगितालगायतका हात्तीलाई दु:ख दिने खेलको अन्त्य गर्दै हात्ती पूजा गर्ने परम्परा थालिएको सञ्जालका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । 

‘संरक्षित जनावरलाई कष्ट नदिने नीति अपनाउँदै बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्वमा चिनाउने एसियाकै ठूलो हात्ती राजागज निकुञ्जबाट हराएपछि उसैको सम्झनामा एउटै काठबाट निर्माण गरिएको खमारी गाडेका छौँ । केही वर्षदेखि हात्तीपूजा गर्ने परम्परा थालनी गरेका छौँ’, अध्यक्ष आचार्यले भन्नुभयो ।

बर्दियामा रहेको एसियाकै ठूलो हात्ती राजागज निकुञ्जबाट हराएको सम्झनामा काठको हात्ती बाँध्ने स्तम्भ (खमारी) स्थापना गरी हात्ती मेलासँगै पूजा गर्ने परिपाटी सुरु गरिएको हो । यसले समुदायको हात्तीप्रतिको दृष्टिकोणमा समेत सकारात्मक सोचको विकास गरेको छ । 

हात्ती मेला तथा पूजाका माध्यमबाट जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रबर्द्धनमा समेत टेवा पुगेको उहाँको भनाइ छ । यस किसिमको कार्यले संरक्षणसँगै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम राख्न सहजता ल्याउने र स्थानीयको धार्मिक परम्परा जोगाउँदै पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । 

थारु समुदायको बसोवास रहेको यस क्षेत्रमा गुरुवा (थारु धामी) मार्फत पूजापाठ गरेपछि अशान्ति मेटिने जनविश्वास रहिआएको छ । हात्तीसार क्षेत्रमा हात्तीले धेरै नोक्सान गर्न थालेपछि गुरुवा बोलाएर हात्ती पूजा गर्न थालिएको वानुगाउँका गुरुवा चिन्कु थारुले बताउनुभयो । आफूहरुले गणेश भगवानको रुपमा बनदेवी र हात्ती पूजा गर्न थालेपछि हात्तीले सताउन छाडेको उहाँको भनाइ छ ।

वन्यजन्तु सप्ताहका अवसरमा आयोजित हात्ती मेला तथा पूजाले मानव र वन्यजन्तुबीच प्रेम बढाउँदै मानव वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न मद्दत पुगेको छ र यस क्षेत्रको स्थानीय संस्कृति एवं पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा लिईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । 

वन्यजन्तु सप्ताहको अवसरमा १ गते आइतबार नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै ग्रह शान्तिका लागि ठाकुरद्वारा मन्दिर परिसरमा धार्मिक अनुष्ठान कार्यक्रमसमेत गरिएको पर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१