सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो ।
भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ बर्ष पहिल्यै सकिएको हो । यसको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७४ साल कात्तिक २० गतेदेखि काम थालेको थियो ।
नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएकाले तोकिएभन्दा पहिल्यै काम सकिएको आयोजनाका प्रमुख सञ्जिव बरालले जानकारी दिनुभयो ।
भेरी नदीको पानीलाई बबई नदीमा मिसाएर बाँके र बर्दियाँका ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ पुर्याउने आयोजनाको लक्ष छ । त्यसबाहेक आयोजनाबाट ४६ दशमलव ८ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ ।
प्रतिक्रिया