कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले ४५ औँ जन्मदिन मनाउँदै छन् । २०३२ साल चैत २८ गते मकवानपुरको ठिङ्गनामा जन्मेका केदार घिमिरे अहिले सबैको प्रिय र सफल कलाकार हुन् ।
तर उनी यो स्थानसम्म आइपुग्न थुप्रै हण्डर र ठक्करहरु खाए । केदारको संघर्षको कथा सुनेर जो कोही पनि भावुक हुन्छ । सुरुवाती दिनमा गर्न चाहेका एकपछि अर्को कामको असफलताले उनलाई साह्रै दुःख दियो ।
पिता कृष्णप्रसाद घिमिरे र माता आअग्निकुमारी घिमिरेका छोरा केदार कलाकार बन्ने दौडमा काठमाण्डौ भित्रिएका थिएनन् । उनी त धेरै पढेर वकिल बन्न चाहन्थे ।
कानुन विषय अध्ययन गर्नका लागि उनले २०५० सालमा काठमाण्डौको यात्रा तय गरे । कानुन पढेर ठूलो मान्छे बन्ने अनि देशको सेवा गर्ने सपना बोकेर काठमाण्डौ छिरेका उनले त्यो सपना पूरा गर्न भने सकेनन् । उनी विपनामा विस्तारै सपनामा नदेखेको काम तिर मोडिन थाले ।
एकपटक उनलाई एउटा अन्र्तर्वार्ताले कानुन विषयमा रुची जगाएको थियो । गरिमा रानाको अन्र्तर्वार्ताले कानुन विषय पढ्न रुची जागेको थियो । गरिमाले आफू कानुन विषय पढेर देशको लागि केही गर्ने कुरा गरेको सुनेर केदारलाई पनि त्यही काम गर्ने रुची भयो । त्यतिबेला उनको उमेर नै अरुले जे भन्यो त्यही सहि लाग्ने उमेर थियो त्यो ।
कानुन विषय पढ्न उनी काठमाण्डौ आए । काठमाण्डौ आएर उनले कानुन विषय अध्ययन गर्न पनि थाले । तर उनी पास हुन भने सकेनन् । त्यो समय उनीसँग स्रोत र साधानको पनि कमी थियो ।
त्यसबखत काठमाण्डौमा भएका उनका दाइभाउजु पनि आर्थिक रुपमा त्यति सम्पन्न थिएनन् । यही कारण केदारले फेरि मकवानपुर फर्किए । घर पुगेर बुवासँग आफूलाई जसरी पनि कानुन विषय पढ्न मन भएको कुरा बताए ।
काठमाण्डौमा बस्न यस्तो उपाय
त्यस बखत ‘ब्याक सपोर्ट’को खोजीमा भएका उनले काठमण्डौमा बस्नका लागि जुक्ति निकाले । थोरै रकममा गर्न सकिने व्यापारको खोजीमा लागे उनी । घरबाट १५ सय रुपैयाँ लिएर आएका उनले १ हजार सम्ममा गर्न सकिने काम खोज्दै जाँदा बाटोमा माल्प्वा पकाउने र साग बेच्ने काम भेटे ।
व्यापार थाल्नु भन्दा पहिले नै घरबाट ल्याएको पैसा खर्च भएर जम्मा ८ सय ५० मात्रै बाँकी थियो उनीसँग । त्यस कारण उनले ८ सय रुपैयाँमा कस्मेटिक पसल खोले । कस्मेटिक पसलमा सुरुको दिनमा उनले २ सय ५० रुपैयाँको कमाइ गरे जुन कमाइले उनलाई निकै ऊर्जा दियो । यस हिसाबले महिनामा ७ हजार ५ सय कमाइ हुने र एसएलसी पास भएको युवाले यति कमाउनु राम्रो भएको भन्दै उनी खुसी भए ।
यस्तै उनले सुरुवाती दिनमा काठमाण्डौमा जीरा धनियाँ बेच्ने काम पनि गरे । पछि केदारले लगनखेलको बाटोमा होलसेल पसल खोले । तर त्यही बेला नेपाल सरकारले बाटोमा भएका होलसेल पसल हटाउने आदेश दियो । यो थाहा पाएर केदारले पनि सरकारलाई हस्त नमस्कार ! भनेर हिँडे ।
तर उनले यत्तिकै हार भने खाएनन् । उनले त्यसपछि तीनवटा टेम्पो किने । उनको दूर्भाग्य, त्यस बखत नेपाल सरकारले टेम्पो पनि हटाउने निर्णय लियो । परिणाम, उनले एक लाखभन्दा माथि परेको टेम्पोलाई ३० हजारमा बेच्नु परेको थियो ।
केदारको संघर्ष यत्तिमै सकिएन । उनले यसपटक भने सटरमा होलसेल पसल खोले । तर पछि त्यो सटर पनि बाटो बढाउने भनेर भत्काइयो । केदारलाई हरेक ठाउँमा नेपाल सरकारले लात्ती हानेको थियो । यहीकारण उनी सरकारले लात्तीहानेर आफूलाई कलाकार बनाएको भन्छन् ।
कलाकारिताको सुरुवात
सरकारको लात्तीले पीडित भएका उनको भेट आरजे सुमित्रा खड्कासँग भयो । केदारले उनलाई आफ्ना कविताहरु रेडियोमा पढ्न लगाउँथे । आफूले लेखेको कविता रेडियोमा प्रशारण हुँदा उनी निक्कै रमाउँथे । उनी रेडियोमा आएको कविता वरिपरिका सबै पसलेहरुलाई जम्मा पारेर सुनाउँथे । यही क्रममा पछि उनले पनि रेडियोमा बोल्ने मौका पाए ।
सुरुमा उनले रेडियोमा दुईवटा कार्यक्रम चलाउँथे । एउटा भाषाभाषिको कार्यक्रम थियो भने अर्को हाँस्य कार्यक्रम । हाँस्य कार्यक्रममा उनले हाँस्यकलाकारहरुसँग अन्र्तवार्ता लिनजानु पर्थ्यो । यही क्रममा उनले नेपालका प्राय हाँस्यकलाकारहरुसँग अन्तर्वार्ता लिने मौका पाए । एकपटक उनी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यकहाँ पनि पुगेका थिए । कलाकारहरुसँग अन्तर्वार्ता लिँदालिँदै उनलाई पनि हाँस्य कलाकार बन्छु भन्ने लाग्यो ।
अन्तवार्ताकै शिलशिलामा उनले एकदिन मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हाँस्यकलाकार कसरी बन्ने ? भनेर सोधे । उनीहरुले अभिनय सिक्नु पर्ने सुझाव दिए र केदार अभिनय सिक्न गए । उनले रेडियोमा काम गर्ने क्रममा सन्तोष पन्तको पनि अन्र्तवार्ता लिएका थिए । सन्तोष पन्तसँग अन्तर्वार्ता लिएपछि सन्तोषलाई भनेको कुरा सम्झँदै उनी भन्छन्, ‘मैलै उहाँलाई त्यति बेला भनेको थिएँ, अन्र्तवार्ता त एक बहाना हो । म एउटा कलाकार बन्न चाहन्छु । मैले सोच राखिसकेँ मैले अभिनय पनि सिकिराको छु ।’
उनी सम्झन्छन्, ‘अनि उहाँले ल नम्बर दिएर जाऊ भन्नु भयो । त्यसबखत मेरो मोबाइल थिएन । मैलै घरबेटीको नम्बर दिएर आएँ । तर फोन आएन । फोन आयो भनेर घरबेटीकहाँ सोध्न जाँदा उसैले निकाल्देला भन्ने पीर भइसक्यो तर फोन आएन । पछि एकदिन प्रज्ञा भवनमा सन्तोष दाइसँग मेरो भेट भयो । त्यस भेटमा उहाँले मलाई आउने सोमबार आउ है भनेर बोलाउनु भयो । सोमबार गएँ ।
झण्डै ६० देखि ७० जनाको लाइन थियो सन्तोष पन्तको घर अगाडि । ती सबै ‘हिजो आजका कुरा’मा खेल्न पाइने आशले गएका रहेछन् । त्यो दिनम सफल भइनँ । धेरै पटक धाएपछि बल्लतल्ल ‘हिजो आजका कुरा’मा छानिएँ । तर जम्मा एउटा सम्बाद बोल्ने अवसर मिल्यो । यसरी सुरु भयो मेरो कलाकारिता ।’
यसरी बने ‘माग्ने बुढा’
हिजो आजका कुरा’बाट सुरु भएको कलाकारितालाई उनले निरन्तर अगाडि बढाए । मेहनत गरे । उनले नेपाल टेलिभिजनको सिरियल ‘गीताञ्जली’मा काम गरे । यसमा उनीसँगै कलाकार जितु नेपाल पनि काम गर्थे । जितु र केदारले ‘गीताञ्जली’ लेख्ने र खेल्ने दुवै अवसर पाएका थिए । ‘गीताञ्जली’ले उनलाई कलाकारको रुपमा स्थापित गराउँदै थियो ।
यही क्रममा उनले ‘जिरे खुर्सानी’मा पनि काम गर्ने अवसर पाए । ‘जिरे खुर्सानी’मा काम गरेर केदारलाई चित्त बुझेन । किनकी दुई तीन हप्तामा बल्ल सिरियलमा देखिने पालो आउँथ्यो । केदारलाई मुख्य भूमिकामै देखिन मन लाग्यो । त्यसपछि उनले सीताराम कट्टेलसँग सहकार्य गरेर ‘‘मेरी बास्सै’ बनाए । ‘मेरी बास्सै’ मा माग्नेको भूमिकामा देखिएपछि केदारले चाहेको स्टारडम पाए ।
धुर्मुससँगको सम्बन्ध
‘मेरी बास्सै’ मा जोडी बाँधिएपछि केदार र सीतारामको जोडीलाई केसी जोडी भनिन्थ्यो ।
यो जोडीले हाँस्यव्यङग्यमा एकताका एकछत्र राज गरेको थियो भन्दा फरक पर्दैन । तर बिडम्बना यो जोडी लामो समय अघि बढेन । केदार र सीतारामबीच फाटो आयो ।
यहीकारण केदारले आफैँले जन्माएको ‘मेरी बास्सै’ लाई अलबिदा भन्ने अवस्था सिर्जना भयो । सीतारामसँग जोडी फाट्नुमा केदार आफूहरु दुवैलाई जिम्मेवार मान्छन् । उनी भन्छन्, ‘अरुलाई दोष दिने ठाउँ छैन । हामी आफैंले आफ्नो जोडीको रक्षा गर्न सकेनौँ ।’
केदारले छोडेको केही वर्ष भने सीतारामले ‘मेरी बास्सै’ लेखन र निर्देशनको काम सम्हाले । तर पछि सामाजिक सेवामा सक्रिय भएका कारण उनले पनि अहिले ‘मेरी बास्सै’लाई समय दिन सकेका छैनन् । उता केदारले भने त्यसपछि ‘खासखुस’ गरे । तर अहिले ‘खासखुस’ पनि बन्द भैसकेको छ ।
अहिले केदार पूर्ण रुपमा सिनेमामा सक्रिय छन् । उनी दीपक राज गिरी र दीपाश्री निरौलाको टिमसँग मिलेर सिनेमा निर्माण गरिरहेका छन् । ठूलो पर्दामा पनि उनको अभिनय दर्शकले अत्यधिक रुचाएका छन् । उनी ठूलो पर्दामा पनि अत्यधिक डिमाण्ड भएका हाँस्य कलाकार पनि हुन् ।
तर आमा सरस्वतीको ब्यानरमा काम गरिरहेका कलाकारहरुले आफ्नो टिमबाहेक अन्य ब्यानरका टिममा काम गरिरहेका छैनन् । यही कारण केदार पनि आफ्नै टिमको काम राम्रो बनाउनेमा लागि परेका छन् ।
प्रतिक्रिया