लिच्छवीकालीन बिस्केट जात्रा बुधबारदेखि भव्य रुपमा मनाइँदै

ssapana44@gmail.com' jamuna aryal
२७ चैत्र २०७५, बुधबार १०:३३

भक्तपुर – नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा बुधबारदेखि भव्य रुपमा मनाइँदैछ । बुधबार बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ तानेर जात्रा सुरु हुने गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बिस्केट जात्रा भक्तपुरका बासिन्दाले नौ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । बिस्केट जात्राको पहिलो दिन बुधबार बिहानैदेखि भैरव र भद्रकालीको पूजा गरी अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्‍याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि आज पहिलो दिनको रथ यात्रा विसर्जन गरिन्छ ।  

भैरवनाथको रथमा तलेजुका पुजारी र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पुजा सकेर रथ तान्न सुरु गरिन्छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बीःसीत अर्थात् नाग नागिन मर्‍यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको तलेजुका नाइके जोशीले बताउनुभयो ।

चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भई अपभ्रंशबाट विस्केट जात्रा हुन गएको स्थानीयको भनाइ छ ।

 किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग बिहे गर्थे ऊ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाइ मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याएका थिए ।

एकदिन एक बलवान् राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनेको भनाइ छ । भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुइटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतीलक गरिदिए ।

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरेको भनाइ छ । यो लिङ्गो भक्तपुरको चित्तपोल स्थित सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाको बली चढाइ रूख काटी ल्याउने प्रचलन छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१