काठमाडौं – आइतवार साँझ आएको हुन्डरीले बारा र पर्सामा बितण्डा मच्चाएको छ । स्थानीय प्रशासनका अनुसार हावाहुरीबाट ३२ जनाको मृत्यु भइसकेको छ । गृहमन्त्रालयले भने अहिलेसम्म २७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
हावाहुरीले प्रभावित भएको क्षेत्रमा अहिले स्थानीयहरु भोकभोकै बस्नुपरिरहेको छ । खबरहबको सम्पर्कमा आएका प्रभावित क्षेत्रका जनप्रतिनिधिका अनुसार प्रभावितहरुको ‘भोक मेटाउन’का लागि हल्का खानेकुरा वितरण गरिएपनि अन्य ‘व्यवस्था’ हुन सकेको छैन ।
‘यहाँको अवस्था एकदमै दयनीय छ । यहाँका सबै जनता अहिले पनि भोकभोकै छन् । हामीले केही मात्रामा खानेकुराको व्यवस्था गरेका छौं । तर, त्यतिले मात्रै पुग्ने अवस्था छैन,’ हावाहुरीका कारण सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष जय प्रकाश दासले खबरहबसँग भने, ‘अब राति पर्न लागेको छ । हिजो राति खुला आकाशमा विताएका प्रभावितलाई आजको राति कहाँ सुताउने भन्ने समस्या छ ।’
प्रधानमन्त्री ज्यू त्रिपाल चाहियो !
हावाबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका मन्त्रीहरुको टोली निरीक्षणमा जाने भन्ने थियो ।
काठमाडौंबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतको टोली झापा पुगेर प्रधानमन्त्रीका साथ सेनाको हेलिकप्टरमा बारा उडेको थियो । तर, प्रधानमन्त्रीसहित केन्द्रबाट गएका संघीय सरकारका पदाधिकारीहरु प्रभावित क्षेत्रमा नगइ सेनाकै हेलिकप्टरबाट सदरमुकाम कलैया फर्किका छन् ।
‘केही समय पहिले आकाशमा हेलिकप्टरको आवाज सुनिएको थियो । हामीले प्रधानमन्त्री ज्यू यहाँ ओर्लिनुहुन्छ कि भन्ने सोचेका थियौं, उहाँ त सिधै कलैया पुग्नुभएछ,’ फेटा गाउँपालिका–१ का वडाध्यक्ष दासले खबरहबसँग भने, ‘यहाँका नागरिकलाई पाल चाहिएको छ । प्रधानमन्त्री ज्यू यहाँ आउनुभएको भए कम्तिमा त्रिपालको व्यवस्था त गरिदिनुहोस् भन्ने थियौं । उहाँ त यहाँ टेक्नु नै भएन !’
प्रधानमन्त्री आए त्रिपाल पाइने आशमा रहेका प्रभावितहरु अहिले निराश बनेका वडाध्यक्ष दासले बताए ।
प्रतिक्रिया