युवालाई स्वरोजगार बनाउन प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने

ssapana44@gmail.com' jamuna aryal
१३ चैत्र २०७५, बुधबार ०९:२१

काठमाण्डाै – युवालाई स्वरोजगार बनाउन प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने सरोकारवालाले बताएका छन् । राष्ट्रिय युवा परिषद्ले मंगलबार भक्तपुरमा आयोजना गरेको ‘युवा उद्यमी र सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा युवालाई प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने बताएका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले युवा उद्यमीलाई आफूहरुले सरल रुपमा कर्जा प्रदान गरिरहेको बताउनुभयो । ‘सरकारको बेरोजगार युवालाई स्वरोजगार बनाउने अभियानलाई सफल पार्नका लागि हामी प्रतिबद्ध रहेका छौँ’, उहाँले भन्नुभयो, ‘युवा उद्यमीले प्रक्रिया पूरा गरेर कर्जा माग गरे हामी सरल तरिकाले कर्जा प्रवाह गर्दछौँ ।’

बाणिज्य बैंकले २१७ शाखाबाट सरकारले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि–२०७५’ अनुसार युवा उद्यमीलाई कर्जा प्रवाह गरिरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले धेरैजसो युवाले परियोजना प्रस्ताव ल्याउदा आफ्नो सीपभन्दा बाहिरको ल्याउने भएकाले त्यस्तालाई ऋण प्रवाह गर्न नसकिएको बताउनुभयो । उहाँले युवालाई आफ्नो सीप र तालिम भएका परियोजना ल्याउनसमेत आग्रह गर्नुभयो । 

उहाँले सरकारले कर्जा सुरक्षण र परियोजनाको बीमा गरेकोले आफूहरुलाई युवा उद्यमीलाई कर्जा प्रवाह गर्नका लागि समस्या नभएको बताउनुभयो । गएको कार्तिक २० गते अर्थमन्त्रालयले याे कार्यविधिअनुसार कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमी कर्जा, दलिय युवा कर्जा, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जालगायत सात प्रकारका कर्जा विना धितो प्रवाह गर्न राष्ट्र बैंकमार्फत ‘क’ बर्गका बैंकलाई पत्राचार गरेको थियो । 

कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवन गोन्यालले राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै आफूहरुले युवालाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले कृषि क्षेत्र आफ्नो बैंकको प्राथमिकतामा रहेको उल्लेख गदै युवालाई स्वरोजगार बनाउनका लागि आफूहरुले सहज ढङ्गले ऋण प्रवाह गर्ने जानकारी गराउनुभयो । 

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्था(नेस्कफुन)का वरिष्ठ उपाध्यक्ष परितोष न्यौपानेले आफ्नो संस्थाले पहिलेदेखि नै युवालाई उद्यमशिलतासँग जोड्दै ऋण प्रवाह गरिरहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सहुलियत दरमा कर्जा प्रवाहले देशभित्रै युवालाई स्वरोजगार बनाइने बताउनुभयो । उहाँले सहुलियत दरमा कर्जा प्रवाहबाट पाँच लाख बेरोजगार युवालाई रोजगार बनाइने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१