नेपाली विद्यार्थी अध्ययनका लागि दैनिक ३ सय बाहिरिँदै

ssapana44@gmail.com' jamuna aryal
१३ चैत्र २०७५, बुधबार ०९:१५

काठमाडौं – विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ । सरकारको पछिल्लो ८ वर्षको तथ्यांक हेर्ने हो भने विदेश अध्ययनका गर्ने जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र अध्ययनका लागि ४३ हजार ५ सय ७१ जना विद्यार्थीले विदेशमा अध्ययनमा जान शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखाले जानकारी दिएको छ ।

‘एनओसी’ लिनेमध्ये ९० प्रतिशत विद्यार्थीले सम्बन्धित देशका कलेजबाट भिसा प्राप्त गर्ने गरेको शाखाले जनाएको छ । यसरी सरकारसँग ‘एनओसी’ लिएका विद्यार्थी अध्ययनका लागि ७३ वटा देश पुग्ने गरेका छन् ।

गत ८ महिनामा अध्ययनका लागि अष्ट्रेलिया जान एनओसी लिने नेपाली विद्यार्थीको संख्या धेरै रहेका शाखाले जनाएको छ । यो अवधिमा २७ हजार ५३ जनाले ‘एनओसी’ लिएका छन् । अष्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाइमा जापान देखिन्छ । पछिल्लो ८ महिनामा जापानमा अध्ययनका लागि ४ हजार ३ सय ९४ जनाले विद्यार्थीले ‘एनओसी’ लिएको शाखाको तंथ्याकमा उल्लेख गरिएको छ ।

विगत ८ वर्षमा अध्ययनका लागि सरकारसँग अनुमति लिएर २ लाख ९० हजार विद्यार्थी विभिन्न देशका विश्वविद्यालयमा पुगेका छन् । यो अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ५ गुणाले वृद्धि भएको छ ।

अध्ययनसँगै रोजगारी पनि पाइने भएकाले नेपाली विद्यार्थी अध्ययनका लागि विदेशी क्रम बढदै गएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखा प्रमुख देवीप्रसाद पौडलेले जानकारी दिए । ‘रोजगारीमा जस्तै अध्ययनमा जाने नेपाली विद्यार्थी संख्या पनि बढ्दो छ । विदेशमा अध्ययन सकिएपछि राम्रो रोजगार र कमाइ हुन्छ भने नेपाली विद्यार्थीको मान्यता छ । जसका कारण विदेशी शिक्षाको मोह बढ्दो छ’ उनले भने ।

नेपाली विद्यार्थीहरु मेडिसिन, इञ्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी, पाइलटिङ लगायतका बिषय अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशमा बढी जाने गरेका छन् । विकसित देशमा उच्च शिक्षा लिएपछि अन्तराष्ट्रिय श्रम बजारमा अवसर सहज हुने भएकैले नेपाली विद्यार्थी विदेश गइरहेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०६८/६९ मा १० हजार ३ सय २४ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएका थिए । सो संख्या बढेर गत आर्थिक वर्ष २०७५/७६ को फागुन मसान्तसम्म आइपुग्दा २ लाख ९० हजार ७ सय ५८ जना पुगेको मन्त्रालयको तंथ्याकमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१