संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभामा सञ्चालित जनता आवास कार्यक्रमले गरिब, दलित र विपन्नको बिल्लीबाठ बनाएको छ । नयाँ पक्की घर पनि अलपत्र बनेका छन् ।
सरकारले गरिब, दलित र विपन्न पहिचान गरेर नयाँ चार कोठे पक्की घर बनाइदिने भरोसामा दिनरात दुःख गरेर घर निर्माण गरे पनि अहिले पैसा नपाउँदा उनीहरु समस्यामा परेका हुन् । आर्थिक वर्ष २०७४/७५ को तीन महिनामा निर्माण सम्पन्न गर्ने भनिए पनि अहिले १८ महिना बितिसक्दा पनि स्थानीयहरुले तेस्रो किस्ता वापतको १ लाख ५३ हजार रुपैयाँ निकासा पाएका छैनन् ।
सरकारले बनाइदिने नयाँ पक्की घरमा बस्ने सपना अधुरै रहला जस्तो लाग्न थालेको खाँदबारी नगरपालिका–८ रातमाटेका कुमार विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरनिर्माण सम्पन्न भए पनि तेस्रो किस्ता वापतको रकम पाइएको छैन । साहुको ऋण तिर्न बाँकी नै छ ।’
जिल्लामा ५१ घर निर्माण
संखुवासभा जिल्लाको क्षेत्र नं. १ अन्तर्गतका खाँदबारी नगरपालिका वडा नं. ८ मा २४ वटा र वडा नम्बर ९ मा ९ वटा गरी ३३ वटा जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माण भएको छ ।
क्षेत्र नं. २ अन्तर्गत चैनपुर नगरपालिकामा १२ वटा र धर्मदेवी नगरपालिकामा ६ वटा गरी कुल जिल्लामा ५१ वटा जनता आवास कार्यक्रम अन्तर्गतका भवनहरु निर्माण भएको छ । त्यसमध्ये ९० प्रतिशत घरहरु निर्माण सम्पन्न भइसकेको छ भने १० प्रतिशतको केही काम बाँकी रहेको पाइएको छ ।
सामाजिक परिचालकले समेत तलब भत्ता नपाएको गुनासो
शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले संखुवासभाको क्षेत्र नं. १ अन्तर्गत खाँदबारी नगरपालिकाको ८ र ९ नम्बर वडा हेर्ने गरी सामाजिक परिचालकको रुपमा विमल गौतमलाई नियुक्त गरेको थियो । यता क्षेत्र नं. २ को चैनपुर र धर्मदेवी नगरपालिका हेर्ने गरी खगेन्द्र दहाललाई नियुक्त गरिएको थियो । उहाँहरु दुबैजनालाई नेपाल सरकारको निजामति कर्मचारीको नायब सुब्बा सरहको सेवा सुविधा र तलब भत्ता पाउने गरी करार सेवामा तीन महिनाको लागि नियुक्त गरिएको थियो ।
तर तीन महिनाको नियुक्ति गरिए पनि करिब २० महिना बितिसक्दा समेत नियमित रुपमा काम गरिरहेको उहाँहरुले गुनासो गर्नुभयो । उहाँहरु दुवै जनाले तीन महिना बाहेकको तलब पाउनुभएको छैन । करार सेवा सम्झौतामा उल्लेख भए अनुसार, उहाँहरु कार्यालयका कामले धनकुटा आवातजावात गरेबापत् भत्ता दिने उल्लेख गरेपनि अहिले सम्म आफूहरुले नपाएको सामाजिक परिचालक गौतमले बताउनुभयो । उहाँले भन्नुभयो—‘कार्यालयको काममा चार पटक धनकुटा ओहोरदोहोर गरिसके भत्ता पाएको छैन । अहिले त गएपनि दैनिक भ्रमणभत्ता भर्नसमेत छोडिदिएँ ।’
आफूहरुलाई शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले सामाजिक परिचालक पदमा तीन महिनाको लागि करारसेवामा नियुक्ति गरिएको भए पनि त्यो भन्दा बढी समय काममा पेलाएको गौतमले आरोप लगाउनुभयो । ‘तीन महिनाको लागि नियुक्ति गरेको हो । त्यो समयभित्र निर्माण सम्पन्न हुन्छ र त्यसपछि काममा लगाउँदैनौ भनेको थियो । तर आज २० महिनासम्म निर्माण सम्पन्न भएको छैन । जमानी बसेर सामान झिकाएर काम गर्याे, बजेट तत्काल निकास होला भन्ने मनसायले सबै जिम्मेवारी आफैंले बेहोरेका थियौं । अहिले सामानको बिल भुक्तानी दिन सकिएको छैन । साहुले दिनमा चार पटक फोन गर्छ, ’गौतमले भन्नुभयो ।
स्थानीय दलित र विपन्नको निम्ति सरकारले बनाइदिने घर निर्माणार्थ बजारका साहुले सिमेन्ट, रड, गिटी र बालुवा लगायतका निर्माण सामान नदिएपछि आफैं जमानी बसेर घर निर्माण सम्पन्न गरे पनि सरकारी तवरबाट बजेट निकासा नहुँदा समस्या टड्कारो बनेको खाँदबारी नगरपालिका–८ का वडाअध्यक्ष डम्बर कटवालले बताउनुभयो ।
प्रतिक्रिया