नायिका रेखा क्रिकेट खेलमा आबद्ध

ssapana44@gmail.com' jamuna aryal
९ चैत्र २०७५, शनिबार ११:३६

काठमाण्डौँ – सिने दुनियाँकी चर्चित नायिका रेखा थापा क्रिकेट खेलमा आबद्ध भएकी छन्। रेखा नेपालमा आयोजना हुन लागेको पहिलो महिला टी–२० फ्रेन्चाइज क्रिकेट लिग प्रतियोगितामा टोली मालिकका रूपमा आबद्ध भएकी हुन्।

एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा आगामी वैशाख ७ देखि १४ सम्म विराटनगरमा सञ्चालन हुने महिला लिगमा रेखाले काठमाडौं सुपर च्याम्पियन्स टोली किनेकी छन्। आयोजकले हालै टोली, मालिक र मार्की प्लेयर सार्वजनिक गरेको छ।

रेखाले नेपालमा पुरुषका लागि सबै हुने र महिलाका लागि सधंै अपूरो रहने परम्परा तोड्न आफू क्रिकेटमा लागेको बताइन्। ‘म लामो समयदेखि छोरीहरूका लागि काम गर्दै आएको छु। छोरीको प्रतिभा र क्षमता देखाउने प्लेटफर्म तयार गर्न आवश्यक छ। मैदानमा छोरीले खेल्नु भनेको नारी सक्षमताको बलियो आधार हो। त्यसैले म क्रिकेटमा आबद्ध भएँ’, रेखाले भनिन्।

रेखाले देशमा अझै पनि थुप्रै छोरीले अभाव र अन्याय भोगिरहेको बताउँदै भनिन्, ‘छोरीहरूले प्रतिभा र क्षमता भएर पनि अवसर पाएका छैनन्। नेपालमा धेरै महिला क्रिकेट खेलाडी छन् तर उनीहरूमाथि विभेद गरिएको छ। विदेशमा खेलेर आउँदासमेत एअरपोर्टमा स्वागत नगरिएको खबर सुनियो। छोरीमाथि हुने यस्तै विभेद चिर्न आवश्यक छ’, रेखाले भन्छिन्।

नेपालमा पुरुषको फ्रेन्चाइज क्रिकेट लिगको बाढी आइरहेका बेला महिला लिग पहिलोपटक हुन लागेको हो। लिगमा काठमाडौंसँगै विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स र धनगढी वन्डर वुमनबीच प्रतिस्पर्धा हुँदैछ। विराटनगर टोलीको स्वामित्व अनुप सक्सेना, भैरहवाको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदी तथा धनगढीको स्वामित्व हरि खनालले लिएका छन्।

फ्रेन्चाइज लिगमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, पूर्वकप्तान नेरी थापा र करुणा भण्डारीलाई मार्की खेलाडीका रूपमा छनोट गरिएको छ। थप खेलाडी चाँडै नै अक्सनबाट छनोट गरिने आयोजकले जनाएको छ।

लिगको घोषणाले महिला क्रिकेटर उत्साहित देखिएका छन्। राष्ट्रिय टोलीकी कप्तान एवं भैरहवाकी मार्की प्लेयर रुविना क्षेत्रीले महिला क्रिकेटमा राम्रो सुरुआत भएको बताइन्। ‘लिगको कुरा सुन्दा नै खुसी लागेको थियो। हामीले पनि घरेलु मैदानमा दर्शकको सपोर्टमा क्रिकेट खेल्न पाउने भयौं। लिग हाम्रो लागि क्षमता देखाउने र गल्ती सुधार्ने राम्रो अवसर हो’, रुविनाले भनिन्।

विराटनगरकी मार्की खेलाडी करुणा भण्डारीले होम ग्राउन्डमै हुने प्रतियोगिता खेल्न आफू उत्साहित रहेको बताइन्। धनगढीकी मार्की खेलाडी सीता रानामगरले लिगले थोरै भए पनि खेलाडीलाई आर्थिक रूपमा बलियो बनाउन सहयोग गर्ने बताइन्।

‘केटाहरूको चाहिँ लगातार लिग हुने तर आफूहरूले खेल्न नपाउँदा साँच्चिकै नराम्रो फिल हुन्थ्यो। हामी पनि नेपालका खेलाडी हौं र जस्तो महसुस हुन्थ्यो। हामी पनि लिग खेल्न पाउछौं कि भन्ने आशा थियो। त्यो आशा अहिले एनसेलले पूरा गर्दिन लागेको छ। नेपालमा थुप्रै महिला क्रिकेटर छन् जसले कडा मेहनत गरिरहेका छन्। तर मेहनत गरे पनि केही पाइरहेका छैनन्। यो लिगले थोरै भए पनि खेलाडीलाई राहत हुनेछ’, सीताले भनिन्।

यसैगरी रेखा थापा मालिक रहेको काठमाडौंकी मार्की खेलाडी नेरी थापाले यस किसिमका प्रतियोगिताले जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने बताइन्। लिगको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१