स्वर्गीय राजा वीरेन्द्र शाहको ८७ अर्बको चलअचल सम्पत्ति

ssapana44@gmail.com' jamuna aryal
८ चैत्र २०७५, शुक्रबार १७:४२

काठमाडौं – १९ जेठ २०५८ अगाडिसम्म पूर्वराजा ज्ञानेन्द्र शाह व्यापारिक काममा बढी सक्रिय थिए । उनको सिप्रदी, सोल्टीलगायतका कम्पनीमा करोडौं लगानी थियो ।

तर, राजा वीरेन्द्र शाह भने सत्ता सञ्चालनमै बढी केन्द्रित थिए । व्यवसायिक काममा खासै सक्रिय नरहे पनि राजा वीरेन्द्र र उनको परिवारका सदस्यको नाममा भने देशका धेरै ठाउँमा सम्पत्ति थियो ।

गणतन्त्र घोषणापछि राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यका नाममा भएका सम्पत्ति राष्ट्रियकरण गर्न सरकारले नेपाल ट्रष्टको कार्यालय स्थापना गरेको थियो ।

नेपाल ट्रष्ट ऐनअनुसार ६ मंसिर २०६४ बाट कार्य शुरु गरेको नेपाल ट्रष्टको कार्यालयले राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यका नाममा देशका विभिन्न भागमा रहेको २१ हजार ५ सय ६३ रोपनी जग्गा फेला पारेको छ ।

त्यो वाहेक स्वर्गीय राजा वीरेन्द्रको नाममा काठमाडौंको गोकर्णमा ३ हजार ९ सय ७१ रोपनी, कमलादीमा ५ रोपनी, लाजिम्पाटमा ६ रोपनी जग्गा पनि फेला परेको छ । जसमध्ये काठमाडौं उपत्यकामा रहेको ७१ रोपनी १० आना जग्गा सरकारी स्वामित्वमा ल्याउने तयारी भइरहेको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ ।

टेकुको विजनेश पार्क रहेको १९ रोपनी, नारायणहिटी दरबार अगाडिको ३३ आना, सोल्टी आउटर कम्प्लेक्सको ५ रोपनी जग्गा भने ट्रष्टले भाडामा लगाएको छ । सार्वजनिक खरिद कार्यालय र गरीबि निवारण कोष रहेको कित्ता नम्बर ६५ को जग्गा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको २ रोपनी जग्गा पनि राजा वीरेन्द्रको परिवारको नामको जग्गा हो ।

त्यस्तै, राजा वीरेन्द्रको परिवारको नाममा रहेको धनकुटाको चुलीवनस्थित १ सय ९४ रोपनी जग्गा पनि ट्रष्टको कार्यालयले भाडामा लगाएको छ ।

८७ अर्बको चलअचल सम्पत्ति

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारका सदस्यको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । सो सम्पत्तिलाई ट्रष्टले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गर्ने लक्ष्य लिइएको छ । जसबाट आएको रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने तयारी भइरहेको ट्रस्टको कार्यालयले जनाएको छ ।

राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको छ । चल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैयाँ नगद प्राप्त भएको भएको थियो । चल सम्पत्तिअन्तर्गत नै विभिन्न परिमाणमा विदेशी मुद्रा पनि स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारका सदस्याका नाममा पाइएको थियो । जसअन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार अमेरिकी डलर प्राप्त भएको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ । स्वर्गीय राजा वीरेन्द्र र उनका परिवारका सदस्यको नाममा नविल बैंकमा ४ लाख ३५ हजार कित्ता, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० कित्ता, नेपाल पब्लिक निगममा ३ हजार ७ सय ५० कित्ता शेयर लगानी देखिएको छ ।

नेपाल ट्रस्टको कार्यालयका तत्कालीन सचिव डा. रमेश प्रसाद सिंहका अनुसार पोखरास्थित रत्न मन्दिर, चिवनस्थित दियालो बंगला र मकवानपुरको बंगलामा पनि अचल सम्पत्ति छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१