निरीक्षकको यो कस्तो लापरबाही ! विद्यार्थीहरु परिक्षा दिईरहेको हलमा फेसबुकका लागि फोटोसेसन

ssapana44@gmail.com' jamuna aryal
४ चैत्र २०७५, सोमबार १०:१०

तुलसीपुर- सामान्यतयाः एउटा कक्षामा कति जना निरिक्षक हुन्छन् ? जतिसुकै ठूलो स्तरको भएपनि १ या २ जना । तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगरस्तरिय परीक्षामा ५ जना निरिक्षक एकै कोठामा निरिक्षण गरिरहेको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ ।

विद्यार्थीमा रहेको परीक्षाको त्रास हटाउन, अनियमितता नगर्न र उनीहरुलाई आवश्यक सामग्री उपलब्ध गराउनका लागि व्यवस्था गरिएका निरीक्षकहरु एकै कोठामा पाँच जना हुँदा विद्यार्थीलाई कस्तो असर पर्ला ? सहजै अनुमान लगाउन सकिन्छ ।

परीक्षा चलिरहेका बेला परीक्षा हलभित्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विश्वकर्मा, सदस्य दिपक कुमाल, नेपाल शिक्षक संघका प्रदेश सचिव भागवत पौडेल, लगायतका व्यक्तिहरु तस्वीरमा रहेको देखिन्छ ।

विद्यार्थीहरुलाई अनुगमनका लागि गएका उनीहरुले पोज दिएर फोटो खिँचेको देखिन्छ ।  “विद्यार्थीलाई अनुगमन गरेको हो कि फोटो सेसन गरेको हो वुझ्न सकिएन” एक अभिभावकले भने ।

कक्षामा आएर फेसवुकमा राख्नका लागि तस्विर खिच्दा आफुहरुलाई लेख्न असर गर्ने गरेको एक विद्यार्थीले वताए। “कक्षामा आएर कस्तरी राम्रो फोटो आउँछ भनेर पोज मिलाई मिलाई खिच्नुहुन्छ अनि अफ्ठेरो भइहाल्छ नि ” उनले थपे । विद्यार्थीहरुलाई शान्त वातावरणमा परीक्षामा समावेश गर्नुको साटो उनीहरुलाई मानसिक दवाव दिने गरिएको पाइएको छ ।

शिक्षा समितिले वनाएको अनुगमन समितिका सदस्यहरुले जथाभावी रुपमा तस्विर मोहका कारण विद्यार्थीहरुलाई परीक्षामा अवरोध परेपछि अहिले सामाजिक सञ्जालमा समेत यसको विरोध हुन थालेको छ ।

विद्यार्थीहरुलाई कक्षाकोठामा मोवाइल लैजान नपाइने भन्ने अनि आफैले लगेर फोटो खिच्नुले विद्यार्थीमा मानसिक असर पर्ने पूर्व प्रधानाध्यापक माधव प्रसाद लामिछानेले बताउनुभयो । लामो समय केन्द्राध्यक्षको अनुभव समेत सम्हालेका लामिछानेले विद्यार्थीलाई उपयुक्त वातावरण मिलाइदिनेले आफै वातावरण विगार्न नहुन तर्क गर्नुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिकाले आधारभुत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७४ ले तोकेका नभएर वाहिरका क्षेत्रका व्यक्ति समेत अनुगमन समितिमा रहेका छन् । ‘भत्ताको लोभमा जथाभावी अनुगमनमा गएको देखिन्छ, यसरी कार्यविधि नै मिच्न कहाँ पाइन्छ ?’

कार्यविधिले सामाजिक विकास समितिका संयोजकलाई अनुगमन समितिको सदस्य तोकेको भएपनि आफुलाई जानकारी नदिएको संयोजक तथा १० नम्बर वडाध्यक्ष कुमार लामिछानेले बताए। औपचारिक रुपमा आफुलाई कुनै जानकारी नआएको वताउदै । ‘मनलाग्ने हिसावले अनुगमन गरेको र  तोकिएका मान्छेहरुलाई वास्ता नगरिएको लामिछानेले गुनासो गरे ।

अनुगमनकर्ताले भत्ता सहितको आफ्नो घुम्ने पालो पुर्याएर दायित्व पुरा गरे पनि परीक्षार्थी र अभिभावकले यसलाई उत्ताउलोपन भनेका छन् । नर्सरीदेखि कक्षा आठसम्मको दौरानमा कहिल्यै अनुहार नदेखेका मान्छेहरु घरीघरी परीक्षा चलीरहेका बेला कोठाभित्र पस्दा परीक्षार्थीले डिस्टर्व भएको बताएका छन् ।

एकोहोरोरुपमा परीक्षामा बसेर विषय अनुसारको उत्तरपुस्तिकामा उत्तर लेखिरहेका बेला अनुगमनका नाममा गएका नचिनेका मान्छेहरुले सोधपुछ गर्ने, उठाउने, चेकजाँच गर्ने लगायतका कामले परीक्षालाई मर्या्दित र शान्त पार्नु भन्दा पनि अमर्या्दित काम गर्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । विशिष्ट व्यक्ति भन्नेहरु हुल बाँधेर जाने गरेको उनीहरुले बताए ।

‘परीक्षा दिइरहेका हुन्छौ एकदमै ठूलो मान्छे बनेर आएका अनुगमनकर्ताहरु के छ नानी यहाँ, भनेर कापी पल्टाउने , प्रवेश पत्र हेर्ने र अलमल्याउने काम गर्छन्’, गुरुजजर माविमा परीक्षा दिएर फर्किदै गरेकी एक छात्राले भनिन् ।

निरिक्षकले कक्षामा हेर्ने मात्रै तर वोल्न नहुने तर्क राख्नुहुन्छ विद्यालय निरिक्षक मुकुन्द रिजाल । नयाँ अनुहार देख्दा विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुने भएकाले सकभर झ्याल या ढोकाबाट मात्रै हेर्नुपर्ने रिजालले वताउनुभयो ।  ‘निरिक्षकले विद्यार्थीहरुलाई उत्प्रेरणा दिने काम गर्नुपर्दछ तर हामी कहाँ डराउन दिने मात्रै काम भएको छ ’  रिजालले भने । 

यता अभिभावकहरुले अनुगमनको शैलीले परीक्षालाई मयादित नबनाउने बताएका छन् । वर्षदिनको पढाईमा एक पटक पनि कक्षा नटेक्ने व्यक्तिहरु परीक्षामा सुटेटबुटेट भएर जानु राम्रो काम नभएको नरबहादुर डाँगीले बताए।hk

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१