निर्मला हत्या प्रकरण: एसपी विष्टसहित ८ प्रहरीको थुनछेक बहस सकियो ! अब के हुन्छ ?

ssapana44@gmail.com' jamuna aryal
३० फाल्गुन २०७५, बिहीबार ०९:४५

काठमाण्डौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा मुद्दा चलाइएका तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीको थुनछेक बहस सकिएको छ ।

तत्कालीन एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदको थुनछेक बहस सकिएकाे हो ।

निर्मला प्रकरणमा घटनाको अनसन्धानमा लापरवाही गरेको तथा जथाभावी पक्राउ परेकाहरुमाथि यातना दिएको लगायत अभियोगमा उनीहरुविरुद्ध जिल्ला अदालत, कञ्चनपुरमा मुद्दा दायर गरिएको थियाे ।

उक्त मुद्दा वादी, प्रतिवादी र एमिकस क्युरीका अधिवक्ताले मंगलबार र बुधबार बहस गरेका थिए । जिल्ला अदालतका स्रेस्तेदार हरि कृष्ण अवस्थीका अनुसार सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वादी पक्षबाट बहस गरेका थिए ।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहायक जिल्ला न्यायाधिवक्ता मोहनीप्रसाद जोशीसहित अधिवक्ताहरू पुष्प पौडेल, इन्द्र अर्याल, बद्रीप्रसाद भुसाल, वसन्त गौतमसहित ७ जनाले बहस गरेका थिए ।

वादीतर्फका कनुन व्यवसायीको बहस सकिएपछि बुधबार प्रतिवादी पक्षका वकिलहरूले बहस गरेका थिए ।  न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ आज (बिहीबार) हुने भएकाे छ ।

पुस ३ गते निर्मलाकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जोहरी दिएकी थिइन् । 

हिरासतमा राखी यातना दिइएका दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा पनि मुद्दा दायर भएको थियाे । तत्कालीन एसपीको कमाण्डमा प्रहरीले घटनास्थलमा प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी यातना दिइएको आरोप लगाइएको थियाे ।

निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर अपराध स्विकार्न बाध्य पारेको थियो । ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए । 

प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा आठैजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसकेको र अनुसन्धानमा लापरबाही गरेको आरोपमा ती प्रहरी अधिकारीहरुलाई सरकारले यसअघि नै निलम्बन गरेकाे थियो ।

गत साउन १० गतेका दिन साथी रोशनी बमको घरमा होमवर्क गर्न भनी गएकी निर्मला पछि घर फर्किनन् । उनको भोलिपल्ट उखुबारीमा शव फेला परेको थियो । बलात्कार गरी हत्या गरिएको पोष्टमार्टमबाट खुलेको थियो । त्यसयता यस प्रकरणले धेरै मोड लिइसके पनि वास्तविक दोषी भने हाल सम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१