राष्ट्रपति भण्डारी न्यूयोर्कमा उच्चस्तरीय भेटवार्तामा व्यस्त

ssapana44@gmail.com' jamuna aryal
२९ फाल्गुन २०७५, बुधबार १३:२८

काठमाडौं–  संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भइन् ।

त्यस क्रममा भण्डारीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गरिन् । त्यस अवसरमा उनीहरुबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्क्स्थित नेपालको स्थायी नियोगले जनाएको छ ।

महासचिव गुटरेसले करीब ४१ वर्षअघि गरेको नेपालको भ्रमणको स्मरण गर्दै राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानको सराहना गरे । साथै उक्त विश्वसंस्थामा नेपालले सक्रिय भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।

राष्ट्रपति भण्डारीसँग अपराह्न संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गरिन् । ‘शक्तिमा नारी’ विषयको छलफल कार्यक्रमका साथै अन्य धेरै महत्वपूर्ण विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राष्ट्रपतिले उनको प्रशंसा गरिन् ।
बुधबार नै राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गरिन् । आफ्ना इस्टोनियाली समकक्षीसँगको भेटमा दुई देशका राष्ट्रपतिबीच जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य, बहुपक्षीयताजस्ता समसामयिक विश्वका महत्वपूर्ण विषयमा विचार आदान प्रदान भएको उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रोएशियाका राष्ट्रपतिसँगको भेटमा पारस्परिक हित र चासोको विविध विषयमा विचारविमर्श गर्नुका साथै राजनीतिक नेतृत्वमा नारीको भूमिकाबारे छलफल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१