भाजु पोखरी काठमाण्डाैकाे रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
२८ फाल्गुन २०७५, मंगलवार १०:२२

भक्तपुर – भक्तपुर नगरपालिकाले जिर्णोद्धार सुरु गरेको भक्तपुर नगरपालिका–१ मा रहेकाे भाज्या अर्थात भाजु पोखरी काठमाण्डाैकाे रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । 

नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया” कार्यक्रममा यो पोखरी १२ औँ शताब्दीको भएको उत्खननका क्रममा फेला परेको बताइएको छ । 

पोखरीको ८० पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहासविद् एवं संस्कृतिकर्मी डा. पुरुषोत्तमलोचन श्रेष्ठले सात महिना लगाएर गरिएको अनुसन्धानबाट भाजु पोखरी काठमाण्डाैको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको तथ्य फेला परेको दाबी गर्नुभयो । 

उहाँले भाज्या पोखरीबाट प्रभावित भएर ने सं ७९० (विसं १७२७) मा काठमाण्डाैको रानी पोखरी निर्माण भएको दाबी गर्दै उहाँले भाज्या पुखुः र रानी पोखरीको वास्तुशैली, शिखर शैलीको मन्दिर उस्तै रहेको बताउनुभयो । 

ने.सं. ८०१ अर्थात विसं १७३८ मा जितामित्रको पालामा नेपालमण्डलमा आएको ठूलो भूकम्पले भाज्या पुखुः को शिखर शैलीको मन्दिर भत्काएपछि भग्नावशेषमा परिणत भएको उत्खनन र अन्वेषणबाट पत्ता लागेको बताउँदै डा. श्रेष्ठले भाज्या पोखरी १२ औँ शताब्दी पुरानो रहेको बताउनुभयो । 

नगरपालिकाले विसं २०५९ मा सुरु गरेको उत्खनन र २०७४/७५ मा शुरु गरेको पुनःनिर्माणका क्रममा बहुमूल्य वस्तुहरु भेटिएको बताउँदै उहाँले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पार्नुभयो । 

उत्खननका क्रममा पोखरीको बीचमा रहेको मन्दिरको गर्भावस्था रानीपोखरीको जस्तै भएको बताउँदै उहाँले पोखरीमा वास्तुशैलीअनुसार बैद्धिक वास्तुतन्त्र विधिबाट बनेको एउटा मात्रै बुर्जा भएको मन्दिर हुनुपर्ने बताउनुभयाे । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संरक्षणमा ध्यान नदिँदा कयौँ सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ती जग्गाहरू किनबेच हुने कार्य अन्त्य हुनुपर्ने औँल्याउनुभयो । उहाँले सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको संरक्षण गर्न नगरपालिका अगाडि बढेको र भाज्या पोखरी काठमाण्डाैकाे रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भन्नेबारेमा थप छलफल र गहन अनुसन्धान हुनुपर्ने औँल्याउनुभयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१