स्याटेलाइट र सेक्युरेटी प्रिन्टिङमा विदेशीको मुख ताक्नुपर्ने अवस्था अन्त्य हुने

ssapana44@gmail.com' jamuna aryal
२७ फाल्गुन २०७५, सोमबार ०९:४९

काठमाडौं – नेपालले अहिलेसम्म आफ्नो मुद्रा (नोट) विदेशमै छाप्दै आएको छ । विदेशमा नोट छपाइका क्रममा भ्रष्टाचारसमेत हुने गरेको छ । त्यसैगरी एमआरपी पासपोर्ट समेत नेपालले अहिलेसम्म आफ्नै देशमा छाप्न सकिरहेको छैन ।

नेपालले आफ्नो मुद्रा र राहदानी आफैं छाप्छ र अन्तरीक्षमा आफ्नै स्याटेलाइट राख्छ भन्ने चर्चा सुरु भएको धेरै वर्ष बित्यो । तैपनि, अहिलेसम्म नोट र पोसपोर्ट छपाइमा ठूलो धनराशी विदेशिने क्रम जारी छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले नेपाललाई स्याटेलाइट राख्न सन् १९८४ मै पूर्वी देशान्तरको ५० डिग्री र १२३.३ डिग्रीमा ‘अर्बिटल स्लट’ छुट्याएको थियो । तर, आर्थिक तथा प्राविधिक योग्यता र अनुभव नहुँदा यी योजना २५ वर्षदेखि अलपत्र छन् ।

हालै सरकारले यी दुबै अलपत्र भएका काम अघि बढाउन फ्रान्सबाट सहयोग लिएर काम गर्न समझदारी गरेको छ । यदि सरकारले समझदारी अनुसार काम गर्‍यो भने ३ वर्षमा नेपालले स्याटेलाइट र सेक्युरेटी प्रिन्टिङमा विदेशीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

हरेक सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेट्ने, तर काम केही नहुने यी दुई परियोजना राष्ट्रले गर्व गर्ने महत्वका हुन् । सञ्चार मन्त्री गोकुल बास्कोटा फ्रान्स पुगेर गरेको समझदारी कार्यान्वयन भएमा नेपाललाई विदेशीको स्याटेलाइटबाट सेवा चर्को शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता हट्नेछ । साथै सरकारमा महत्वपूर्ण सुरक्षात्मक दस्तावेजको छपाई सरकारी सुरक्षण प्रेसमै हुनेछ ।

समझदारी अनुसार अबको ३ वर्षपछि नेपालमा अहिले पेचिलो बनेको सम्पूर्ण सरकारी ‘डाटा सेक्युरेटी’को सवालको पनि हल हुनेछ ।

अब नेपालमै सेक्युरेटी प्रिन्टिङ (सुरक्षण मुद्रण) स्थापना गर्न र नेपालकै व्यवसायिक स्याटेलाइट स्थापना गर्न फ्रान्सले आर्थिक तथा प्राविधिक रुपमा सघाउने निश्चित भएको फ्रान्सबाट फर्किएपछि बास्कोटाले बताए ।

नेपाल सरकारको लामो समयको कसरतपछि फ्रान्सका विदेश राज्यमन्त्री जिन बाप्टिस्टे लेमोनीको निमन्त्रणामा फ्रान्स पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस र नेपालकै स्याटेलाइट स्थापना गर्ने समझदारी गरेर फर्किएका छन् ।

नेपाल र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेकै बेला उसले नेपाललाई गर्व गर्न लायक दुई महत्वपूवर्ण परियोजनामा सघाउने भएको हो । नेपाली मुद्राको नोट, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता राष्ट्रिय सुरक्षासँग गाँसिएका सामाग्री नेपालमै छाप्ने तथा नेपालको आफ्नै भू उपग्रह राख्ने राष्ट्रिय महत्वका परियोजनामा फ्रान्सले साथ दिने भएको हो ।

दुई सरकारबीच मन्त्रीस्तरमा आशयपत्रमा हस्ताक्षर हुनासाथै दुबै परियोजना कार्यान्वयन गर्ने निकायबीच पनि समझदारी (एमओयू) गरिएको छ । प्रायः सरकारबीच हुने समझदारीपछि कार्यान्वनयनकारी निकायबीच समझदारी हुन वर्षौं लाग्ने पुरनो संस्कृति तोड्दै एकसाथ सरकार र कार्यान्वयन गर्ने निकायबीच एकैपटक एमओयू भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फ्रान्स पुगेर गरेको समझदारीलाई सम्बन्धित क्षेत्रका विज्ञहरुले ‘ब्रेक थु्र’ भनेका छन् । तीन महिनाभित्र दुवै परियोजनाको सम्झौता मस्यौदा तयार हुने र प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्सको राजकीय भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुने गरि काम अघि बढाइएको स्रोतले जनाएको छ । यी दुवै काम एकसाथ अघि बढ्ने सुनिश्चितता बढेको छ ।

प्रधानमन्त्री ओलीले नेपालले अन्तरीक्षमा आफ्नै भूउपग्रह राख्ने कुरा गर्दा मजाक उडाउनेहरुले अब त्यो आफ्नै आँखाले देख्न पाउने मन्त्री बास्कोटाले बताए । यी दुई कुरा देशको राष्ट्रिय सुरक्षा र स्वाभिमानसँग गाँसिएकाले तत्कालै अघि बढ्ने उनले दाबी गरे ।

सेक्युरिटी प्रिन्टिङ स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपालको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको आईएनजीआरओयूपीईबीच तथा स्याटेलाइट सञ्चालनबारे नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको थाल्स एलेनिया स्पेशबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

फ्रान्सले यी योजनामा सहुलियतपूर्ण आर्थिक सहयोगसहित प्राविधिक लगायत सहयोग गने समझदारी भएको बास्कोटाले जानकारी दिए । फ्रान्सले यी दुई परियोजनाका लागि ५० अर्ब बराबरको सहुलियत ऋण उपलब्ध गराउने उनले बताए ।

‘यो समझदारीले दुई महत्वपूर्ण प्राविधमा नेपालले पनि काम थाल्ने बाटो खुलेको छ, यो एकप्रकारको ब्रेक थ्रु नै हो,’ उनले ने,‘अब वर्षैसाल बजेट भाषणमा उल्ल्ेख गर्ने तर काम नहुने अवस्थाको अन्त्य हुनेछ ।’

यो समझदारी कार्यान्वयन भएर सुरक्षण मुद्रण र आफ्नै स्याटेलायट स्थापना भए त्यो राष्ट्रिय गौरबको विषय हुो उनको भनाइ छ । यस्तै यसबाट देशले पनि ठूलो आर्थिक तथा प्राविधिक लाभ प्राप्त गर्ने बास्कोटाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१