भारतीय पत्रकारको कुम्भमेलामा नेपालका अशोक सिलवाल विशेष अतिथी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७५, आईतवार ०५:०३

भारत । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल विशेष अतिथीका रुपमा सहभागी भएर भर्खरै नेपाल फर्केका छन् । कर्नाटक युनियन अफ वर्किङ जर्नालिस्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिस्ट्रिक जर्नालिस्ट एशोसिएसन(एमडीजेए) को संयुक्त आयोजनामा कर्नाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा सम्पन्न सो दुई दिने भव्य भेलामा कर्नाटक राज्यका झन्डै २५ सय पत्रकार सहभागी थिए । राज्यस्तरको यो ३४ औं पत्रकार भेलालाई कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले सम्बोधन गरेका थिए भने समग्र भेलामा विशेष आतिथ्यता र ‘भिडियो जर्नालिजम ः न्यु च्यालेन्जेज’ शीर्षकको सेसनको उद्घाटन तथा उद्घाटन भाषणका लागि सिलवाललाई त्यहाँ विशेष रुपले निम्त्याएको थियो । कर्नाटकमा सम्पन्न यस प्रकारको भेलामा विशेष अतिथीका रुपमा नित्याइएका लाङटाङ सद्भावना दूत समेत रहेका लेखक सिलवाल पहिलो नेपाली पत्रकार हुन् । कार्यक्रममा कर्नाटकका पूर्व मुख्यमन्त्रीद्धय सिद्धारामई, बीएस यदुरप्पा, उपमुख्यमन्त्री जी परमेश्वर, कर्नाटकका उच्च शिक्षा मन्त्री जीटी देवेगौडा, श्री श्री श्री शिवराथ्री देशीकेन्द्र स्वामीजी, श्री श्री श्री निर्मलानन्द स्वामीजी, श्री श्री श्री चारुकृथी भट्टराका स्वामीजी, आइएफडब्लुजे अध्यक्ष बीभी मल्लिकार्जुनाइया, आइएफडब्लुजे महासचिव परमानन्द पाण्डे, एमडीजेए अध्यक्ष सीके महेन्द्रा, श्रीलंकाको डेली मिररका समाचार सम्पादक केके कार्यकरवाना, फोटोग्राफर गीतिका तालुकदारलगायत अतिथीका रुपमा निम्त्याइएका थिए । पुराना फोटा, पुराना प्रिन्टिङ मेसिन, पुराना रेडियो, पुराना क्यामरा, पुराना टिभीहरु प्रदर्शनीमा राखिएको थियो भने पत्रकारिता र यस क्षेत्रका अनेक विषय र आयामबारे अनेक अन्तरक्रिया कार्यक्रमहरु भएका थिए । बरिष्ठ पत्रकारहरुको सम्मान समेत गरिएको सो दुई दिने पत्रकारिता उत्सवमा कर्नाटकका अधिकाँश सम्पादक, सम्वाददतामात्र होइन, मिडिया अध्येता र विद्यार्थीहरुको पनि लोभलाग्दो उपस्थिति थियो । विद्यार्थीले पूर्व मुख्यमन्त्रीसँग राजनीति र फेक न्युज आदिबारे अनेक छलफल गरिरहेका थिए । मिडिया र राजनीति, मास मिडिया स्वसंचालन नीति, मिडिया एन्ड डिजिटलाइजेसन च्यालेन्जेज, फोटो पत्रकारिता : बदलिदो फोटोग्राफी दुनियाँ, मिडिया र लैङिक संवेदनशीलतालगायत दर्जनौं विषयमा सघन अन्तरकृयाहरु भएको सो मन्थन उत्सव राज्यका विभिन्न भागमा कार्यरत पत्रकारहरुको लागि भेटघाट र पुर्नमिलनको सुअवसर समेत बनेको थियो । सन् १९३४ मा स्थापित भएर सुरुदेखि नै पत्रकारको दक्षता अभिवृद्ध, पत्रकारिता पेशाको संरक्षण र वृत्ति विकासका लागि सक्रिय एमडीजेएमा कर्नाटक राज्यका सबै जिल्ला एशोसिएसन आवद्ध छन् भने एमडीजेए इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे) नयाँ दिल्लीसँग आवद्ध छ । ‘सांस्कृतिक शहर मैसुरका अनेक क्षेत्रमा सम्मेलनको दर्जनौं स्वागतद्धार लगाइएका थिए । सिंगो शहर पत्रकार भेलाको लागि सजिएको अनभुव हुन्थ्यो’, नेपाल फर्केपछि पत्रकार सिलवालले भने, ‘त्यत्रो ठूलो कार्यक्रममा भारतीय मित्रहरुले मलाई प्रदान गरेको त्यो सम्मान मेरो व्यक्तिगतभन्दा पनि नेपाल राष्ट्रको सम्मान हो ।’ यसअघि श्रीलंकाकै सबभन्दा पुरानो पत्रकार संस्था श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)ले आफ्नो ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पनि नेपालका तर्फबाट विशेष अतिथीका रुपमा पत्रकारिता, पर्यटन र प्राध्यापनमा एकसाथ सक्रिय सिलवाललाई पहिलो पटक निम्त्याएको थियो ।

फोटो : शरणा बासाप्पा /बैग्लुरु

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१