भारत – पाकिस्तानबीच चलिरहेको द्वन्द्व थामिने हुने संकेत

ssapana44@gmail.com' jamuna aryal
१७ फाल्गुन २०७५, शुक्रबार ०९:३५

भारत – भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्व थामिने हुने संकेत देखिएको छ। पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने निर्णय बिहीबार गरेसँगै दुई मुलुकबीचको तनाव थामिने संकेत देखिएको हो। फरवरी १४ मा भारत प्रशासित जम्मुकस्मिरको पुलवामा भारतीय सुरक्षाबलमाथि भएको आत्मघाती हमलामा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएपछि दुई मुलुकबीच विवाद चर्किएको हो। हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ।

घटनामा पाकिस्तानको हात रहेको भन्दै भारतले मंगलबार पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई हमला गरेको थियो। त्यसको जवाफमा बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेवाका दुई विमानलाई खसालिदिएको दाबी गरेको थियो। पाकिस्तानले हमलामा प्रयोग गरिएका भारतका दुइटा विमान खसालेको दाबी गरे पनि भारतले भने मिग–२१ लडाकु विमान पाकिस्तानी हमलामा दुर्घटना भएको र पाइलट हराइरहेको जनाएको थियो। भारतले पनि उडानमा रहेको एउटा पाकिस्तानी लडाकु विमान खसालिदिएको दाबी गर्दै आएको छ। पाकिस्तानले भारतीय पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उनलाई सम्मानका साथ राखेको भिडियो सार्वजनिक गरेको थियो।

पाकिस्तानले भारतीय लडाकु विमान खसालेर चालकलाई नियन्त्रणमा लिएपछि दुई मुलुककाबीचको तनाव थप चर्किने अनुमान गरिएको थियो।

तनाव कम गर्ने प्रयासमा छौं : पाक प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय विमानका पाइलटलाई शान्तिको सन्देश दिँदै छोड्न लागेको बताए। खानले पाकिस्तान तनाव कम गर्ने दिशामा केन्द्रित रहेको उल्लेख गर्दै भारतीय चालकलाई सुरक्षित छोडिदिने बताएका हुन््। प्रधानमन्त्री खानले भारत सरकारलाई पत्र लेखेर विदेश मन्त्रीबीच भेटको प्रस्ताव गरे पनि कुनै जवाफ नपाएको बताए। उनले भारतमा चुनावी सरगर्मी बढेकाले कुनै जवाफ नआएको हुनसक्ने बताए। खानले पुलवा घटनायता भारत र पाकिस्तानबीच बढेको तनावमा भारतीय मिडियाले गैरजिम्मेवारी देखाएको आरोप पनि लगाए। उनले भने, ‘उनीहरु (भारतीय मिडिया) लाई युद्धको परिणाम के हुन्छ भन्ने थाहा छैन, हाम्रा मिडियाले ७० हजार मानिसको मृत्यु आतंकका कारण भएको देखेका छन्।’ खानले भारतीय पाइलटलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएपछि आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गर्न खोजेको तर उनले कुरा गर्न नचाहेको पनि बताए। ‘जसरी भए पनि तनाव कम होस् भन्ने हाम्रो प्रयास छ,’ संसद्लाई सम्बोधन गर्दै खानले भने। खानले मोदीलाई पनि सम्बोधन गर्दै भने, ‘कसैलाई पनि युद्धको बाटोमा नधकेलियोस्, भारतलाई भन्न चाहन्छु, यसलाई अघि बढ्न नदेऊ नत्र जवाफ दिन हामी बाध्य हुनेछौं।’

छिट्टै शुभ समाचार सुन्न पाइने छ : ट्रम्प
भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गरेका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँग भियतनाममा शिखर वार्तापछि ट्रम्पले भने, ‘भारत र पाकिस्तानकाबीच जारी संघर्षबारे राम्रो समाचार मिलेको छ, आशा गरौं तनाव अन्त्य हुने छ।’ उनले दुई देशबीच दशकौेंखि चलिआएको विवाद समाधान गर्न सफल हुने विश्वास व्यक्त गर्दै यस्तो बताएका हुन्।

भारत–पाक तनाव बढेपछि अमेरिकी विदेशमन्त्री माइक पम्पियोले पनि दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेका छन्। पम्पियोले बिहीबार दुवै मुलुकका नेतालाई चुनौती बढ्ने किसिमका कुनै पनि सैन्य प्रतिक्रिया नजनाउन आग्रह गरेको रोयटर्सले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१