दुई छिमेकी मुलुकमा तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइयो

ssapana44@gmail.com' jamuna aryal
१४ फाल्गुन २०७५, मंगलवार १७:०५

काठमाडौँ – दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । 

भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा कश्मीरको पुलवामा आक्रमणमा संलग्न जैस ए मोहम्मदको अखडा रहेको दाबी भारतीय वायु सेनाले गरेको छ । 

भारत–पाकिस्तानबीच कश्मीरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । 

प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रि उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो । 

‘छिमेकी दुई देशको तनावलाई ध्यानमा राख्दै सीमाक्षेत्र र विमानस्थलमा हामीले निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ’, प्रवक्ता सुवेदीले अन्नपूर्णसँग भने, ‘सम्भावित घुसपैठ हुने कुरालाई हामी चनाखो छौँ, दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने सम्भावित अभावलाई पनि ख्यला गर्दै सीमामा सतर्क हुन निर्देशन दिइसकेका छौँ ।’

नेपालमा विशेष गरी अवैध हतियार, जाली नोट र लागूऔषधको कारोबार हुने गरेको छ । नेपालको बाटो हुँदै यी सामग्रीको तस्करी भारतसम्म हुने गरेको कुरा यसअघिका घटनाले पुष्टि गरिसकेका छन् । यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो । 

भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतवार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास भएपछि नेपालमा पनि सतर्कता बढाइएको हो । 

अपहरणप्रयास भएपछि १४२ यात्रु सवार विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो। विमान अवतरण गरिएपछि ककटपिटभित्र प्रवेश गर्न खोज्ने एकजना २५ वर्षीय युवकलाई गिरफ्तार गरिएको बंगलादेशी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१