काठमाण्डौँ – नेपाल तेक्वान्दो संघले आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई सोमबार नगदसहित सम्मान गरेको छ । उनीसंगै प्रशिक्षक कविराज नेगी लामालाई पनि संघले नगदसहित सम्मान ग¥यो ।
विक्रमलाई ३० हजार र लामालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । टर्कीको एन्टिल्यामा फेब्रुअरी ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा विक्रमले पी– ३२ क्याटगोरीको पुरुष एकल पुम्सेमा कांस्य जितेका थिए । विक्रमको स्पर्धामा नौ राष्ट्रका त्यत्ति नै खेलाडी सहभागी थिए । मोरोक्कोका खेलाडीलाई पराजित गरेका विक्रम इटालीका खेलाडीसंग भने चुकेका थिए ।
उक्त प्रतियोगिता विक्रमको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालले पारा तेक्वान्दोको पुम्से स्पर्धामा पदक जितेको पनि पहिलो हो । सोही अवसरमा प्रतियोगितामा सहभागी अर्की खेलाडी पलेशा गोबद्र्धन र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
त्यसै कार्यक्रममा पारा तेक्वान्दोका नयाँ खेलाडी लोकराज बस्नेत, सुवासचन्द्र राई र विदिता खनाललाई प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदील शाहीले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै पारा तेक्वान्दोको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया