भ्रमणमा रहेका पाँच युरोपेली सांसदलाई भेनेजुएला सरकारले देश निकाला

ssapana44@gmail.com' jamuna aryal
७ फाल्गुन २०७५, मंगलवार १६:१३

कराकास – भेनेजुएला भ्रमणमा रहेका पाँच युरोपेली सांसदलाई भेनेजुएला सरकारले देश निकाला गरेको छ। 

भेनेजुएला भ्रमणमा आएका पाहुनालाई देश निकाला गर्ने सरकारी कदम ‘अविवेकी’ भएको भन्दै विपक्षी नेता उवान गुआइडोेले सरकारको आलोचना गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। 

युरोपेली संसद्का सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको भेनेजुएलाबाट निकालिएका युरोपेली सांसदका टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताए। ‘हामीलाई भेनेजुएला छाड्न भनिएको छ। हाम्रो पासपोर्ट खोसिएको छ। देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन,’ सांसद पोन्सलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। 

युरोपेली सांसदलाई देश निकाला गर्ने पछिल्लो कदमले राष्ट्रपति निकोलास मादुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ। गत महिना भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका विपक्षी नेता उवान गुआइडोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति संघर्ष चरम अवस्थामा पुगेको छ।
आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुआइडोलाई ५० भन्दाबढी देशले समर्थन गरेका छन्। तीमध्ये युरोपका ३० वटा देश रहेका छन्।

देश छाड्न आदेश दिइएका अन्य सांसदमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१