कश्मीरमा फेरि भिडन्त, भीषण गोली हानाहानमा मेजरसहित सातजना भारतीय सैनिकको मृत्यु

ssapana44@gmail.com' jamuna aryal
७ फाल्गुन २०७५, मंगलवार ०८:५४

श्रीनगर –भारत अधिनस्थ कश्मीरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार मेजरसहित कम्तीमा सातजना भारतीय सैनिकको मृत्यु भएको छ । कश्मीरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४४ जना अर्धसैनिकको मृत्यु भएको थियो । 

गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेका हुन् । भिडन्तका क्रममा एकजना लेफ्टिनेन्ट कर्णेल र ब्रिगेडियरसहित पाँच सेना र एक सर्वसाधारण घाइते भएका छन् ।

भारत प्रशासित कश्मीरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा गोली हानाहान भएको बताइएको छ । यो भिडन्तका क्रममा विद्रोहीतर्फ कम्तीमा पनि तीनजना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पुल्वामामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएको छ । भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बल लक्षित भीषण आक्रमण तीन दशकयताकै ठूलो रक्तपातपूर्ण घटना हो । 

छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानमार्फत् आत्मघाती आक्रमण गरिएको थियो । 

यस आक्रमणको जैस ए मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको थियो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१