‘लुट्न सके लुट’को मुद्दा स‌ंसदमा

ssapana44@gmail.com' jamuna aryal
६ फाल्गुन २०७५, सोमबार १६:२०

काठमाडौं – चर्चित लोकगायक पशुपति शर्माको व्यंग्यात्मक गीत‘लुट्न सके लुट’को मुद्दा स‌ंसदमा पनि पुगेको छ । देशमा बढेको भ्रष्टाचारबारेमा कटाक्ष गर्दै गाएको यो गीत युट्युबबाट हटाइएको विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा घोचपेच भएको हो । 

नेकपा र नेपाली कांग्रेसका सांसदहरु यो गीतलाई लिएर संसदमा घोचपेचसहितको बहसमा उत्रिएका हुन् । सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहबीच यो गीतलाई लिएर घोचपेचसहितको विवाद भएको हो । 

सत्तारुढ दल नेकपाको युवा संगठनसहितको दबाबमा शर्माले युट्युबबाट गीत हटाएको भन्दै कांग्रेसका सांसद सिंहले संसदमा कुरा उठाएपछि बहस भएको हो । सिंहले बैठकको शून्य समयमा आफ्ना कुरा राख्दै गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने पनि बताए । 

सिंहले कटाक्षको शैलीमा सत्तारुढ दल र सरकारमाथि व्यंग्य गरेपछि बहस अघि बढेको थियो । त्यसपछि सत्तारुढ दल नेकपाका सांसद रावलले सिंहलाई पुरस्कार दिने बताए । रावलले पुरस्कार घोषणा गर्ने सांसदले पशुपति शर्माको उक्त गीत संसद्‍मै गाएमा एक महिनाको तलब दिने घोषणा पनि गरे । 

सांसद रावलले शर्माले अन्जानमा यस्तो गीत गाएको आफुहरुले बुझेको अवस्थामा प्रतिपक्षी सांसदले पुरस्कार नै घोषणा गरेपछि यो गीत गाउनुको रहस्य खुलेको  पनि उनले बताए । ‘पशुपति शर्माको गीतलाई सरकारले प्रतिबन्ध गरेको छैन’, उनले भने, ‘भगवान् पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन् ।’ 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१