कैलाली – प्रदेश सरकारको एक वर्षे कार्यकाललाई सबैले आ–आफ्नै ढंगले मूल्यांकन गरेका छन् । प्रतिपक्ष दलले व्यक्तिगत र पार्टीगत स्वार्थका कारण नागरिकका अपेक्षाअनुसार प्रदेश सरकारले काम गर्न नसकेको आरोप लगाएको छ । नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य टेकबहादुर रैका भन्नुहुन्छ, ‘भाषण र मञ्चमा सरकार एकदमै अगाडि छ । तर काममा एकदम पछाडि छ ।’ उहाँले अगाडि थप्नुभयो, ‘छनौट भएका काम र योजनाहरु अहिलेसम्म कार्यान्वयन भएका छैनन । चैत वैशाखमा काम गर्लान् भनेर कसरी विश्वास गर्ने ?’
एक वर्षको अवधिमा जति काम पाउनुपर्ने हो त्यति काम प्रदेश सभाले पनि नपाएको नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य डिल्लीराज पन्त बताउनुहुन्छ । ‘एक वर्षमा कम्तीमा ३०/३५ वटा विधेयक बनिसक्नुपर्ने हो । तर, अहिलेसम्म जम्मा १७ वटा विधेयक मात्र बनेका छन ।’ उहाँले भन्नुभयो, ‘नागरिकले प्रदेश सरकार भएको अनुभूति गर्न पाएका छैनन् । चाहे विकासका कार्य हुन् अथवा अन्य कामहरु, प्रदेश सरकार नागरिकका पक्षमा काम गर्न असफल भएको छ ।’
मूल्यांकन गर्नका लागि प्रदेश सरकारले कुनै काम नै नगरेको अर्का प्रदेशसभा सदस्य तथा राष्टिय जनता पार्टीका नेता कृष्णबहादुर चौधरी बताउनुहुन्छ । ‘एक वर्षमा मूल्यांकन गर्नका लागि कुनै काम गरेको छैन प्रदेश सरकारले, अब बाँकी रहेका चार वर्ष पनि प्रदेश सरकारले केही गर्न सक्दैन भन्ने संकेत मिलेको छ’ उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षको फागुन लागिसक्दासमेत विकास निर्माणका काम अघि बढाउन नसकेको प्रदेश सरकारले बर्खामा झनै काम गर्न नसक्ने उहाँ दावी गर्नुहुन्छ ।
तर, सत्तारुढ दलले भने प्रदेश सरकारको एक वर्षे कार्यकाल सफल रहेको दावी गरेका छन् । कर्मचारी अभावमा पनि प्रदेश सरकारले काम अघि बढाएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले बताउनुभयो । ‘निर्विरोध रुपमा प्रदेश राजधानीको स्थायी नाम र स्थान पायौं । साथै भौतिक संरचना निर्माण भए’ उहाँले भन्नुभयो, ‘एक वर्षमा यति हुनुलाई पनि प्रगतिकै रुपमा लिएका छौँ ।’
आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि स्थायी राजधानी र नामको टुंगो लाग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । संघीयता कार्यान्वयनको पहिलो वर्ष भएकोले एक वर्षमा नागरिक निराश हुनु स्वभाविक भएको उहाँको भनाई छ ।
प्रदेशसभाले १८ वटा कानुन पारित गरेको छ । १९ वटा कार्यविधि पनि पारित भएको छ । एक वर्षको अवधिमा यी सबै काम गर्नको लागि दलीय सहमति कायम गर्नु अर्को सफलता भएको सरकारका प्रवक्ता समेत रहका कानुनमन्त्री प्रकाशबहादुर शाहको भनाइ छ ।
संघियता आफूहरुका लागि नितान्त नयाँ विषय भएकोले एक वर्षे अवधिमा अनुभव संगाल्ने काम, भौतिक संरचनाहरु निर्माण र कर्मचारीको व्यवस्थापन गरेको उहाँ बताउनुहुन्छ । समयको चाप र नौलो अभ्यासकाबीच यति काम गर्नु सफलता नै भएको उहाँको दावी छ । उहाले भन्नुभयो, ‘राजनीतिमा भाषण र काम संगसंगै हुन्छ । प्रतिपक्षीको आलोचनालाई सकारात्मक रुपमा लिएका छौँ ।’
प्रदेश सरकारले नागरिकका लागि भनेरै विभिन्न योजनाहरु ल्याएको भए पनि कर्मचारीको समायोजन, संस्थागत संरचनाहरुको निर्माण गर्ने काममा ढिलाई भएका कारण जनअपेक्षा अनुसार काम गर्न ढिलो भएको उहाँको भनाइ छ । कतिपय रातो किताबमा भएका योजनाहरु सम्झौता सकेर, समिति गठन भइ निर्माणको चरणमा पुगेर सार्वजनिक ठेक्कापट्टा गर्ने काम पनि सुरु भैसकेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया