कश्मीरमा आक्रमण गर्नेले ठूलो मूल्य चुकाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

ssapana44@gmail.com' jamuna aryal
४ फाल्गुन २०७५, शनिबार ०९:२१

नयाँ दिल्ली – भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । 

भारत प्रशासित काश्मीरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । 

छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । आक्रमणमा परि ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । 

स्थानीय सञ्चार माध्यमका अनुसार यस आक्रमणको जैश ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सुरक्षाकर्मी सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ । 

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ । 

मौलाना मसूद अजहरको नेतृत्वमा रहेको जैश–ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्ण रुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकहरुले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। तर उनले के कारबाही गर्ने भन्नेबारेमा केही बताएनन् । 

‘हाम्रा छिमेकी मुलुकले हाम्रो देशमा यस्ता घृणित कार्य र छलकपटमार्फत अस्थिरता सिर्जना गर्दछु भन्ने सोचेको भए त्यो उनीहरुको दुःस्वप्न मात्र हो । तिनीहरु कहिल्यै सफल हुने छैनन्’, प्रधानमन्त्री मोदीले भने । 

वित्तमन्त्री अरुण जेट्लीले समेत यस आक्रमणमा पाकिस्तानको संलग्न रहेकामा कुनै आशंका नरहेको बताउनुभयो । उहाँले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण रुपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि जानकारी दिनुभयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१