डोल्पा – कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए ।
हिमपातका कारण सञ्चारका साधन अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्कविहीन भएको उनको भनाइ थियो । सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
बाक्लो हिउँ जमेका कारण हिमपहिरोको जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलीगाड खोला विस्तारै सञ्चालन भएको शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन् ।
हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ ।
लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन्। हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ ।
विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण जुफाल शाखाले गरेकोे छ । हिमपातका कारण दुई दिनदेखि नेपालगञ्जबाट कुनै पनि उडान हुनसकेको छैन ।
जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । ‘डोल्पा जानका लागि तीन दिनदेखि नेपालगञ्ज विमानस्थलमै जहाज कुरिरहेका छौँ, हिउँले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण डोल्पा जान पाएका छैँनौं’, नेपालगञ्जमा जहाज कुरिरहनुभएका रमानन्द उपाध्यायले भने ।
लगातारको हिमपातका कारण कर्णालीका विमानस्थल अवरुद्ध भएको र जिल्ला बाहिर आवतजावत गर्ने आन्तरिक बाटाघाटासमेत बन्द भएकाले कर्णाली मौसमी नाकाबन्दीजस्तै भएको छ ।
प्रतिक्रिया