कसैको उपनिवेशबाट मुक्त हुनु देश र नागरिकका लागि कम गर्वको कुरा होइन । त्यसैले स्वतन्त्रता दिवसलाई निकै उल्लासका साथ मनाइन्छ कालान्तरसम्म पनि । यद्यपि यस्तो दिवस मनाउने तरिका भिन्न भिन्न हुनसक्छन् ।
इण्डोनेसियाले नेदरल्याण्डको उपनिवेशबाट आफुलाई सन् १९४५ को अगष्ट १७ मा स्वतन्त्र घोषित गर्यो । त्यसयता इण्डोनेसियामा हरेक वर्ष अगष्ट १७ मा भव्यताका साथ स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यस्तो दिवस समारोहमा मौलिक संस्कृति, परम्परा तथा शक्तिको प्रदर्शनी हुन्छ ।
इण्डोनेसियाको स्वतन्त्रता दिवस उत्सवको एउटा महत्वपूर्ण आकर्षण भनेको पन्जात पिनाङ्ग प्रतिस्पर्धा हो । जहाँ पुरुष प्रतिस्पर्धीहरु चिल्लो दलिएको अग्ला पोलहरुमा चढ्ने गर्छन् । न समाउने ठाउँ, न टेक्ने ठाउँ । अझ भएको मसिनो पोल समेत चिल्लो हुँदा चढ्नेलाई निकै आपत् पर्छ ।
यो प्रतियोगितामा चिल्लो पोलमा चढेर टुप्पोमा पुग्न सक्नेलाई विजेता घोषित गरी पुरस्कार दिइन्छ । तेल वा गि्रज दलिएका पोलमा एक्लै चढ्न गाह्रो हुने भएकाले प्रतिस्पर्धी टोलीका पुरुषहरुले पोल चढ्नेलाई काँधमा वा टाउकोमा टेक्न दिएर माथि चढ्न पठाउँछन् । पोलको टुप्पोमा साइकल लगायतका विभिन्न खाले पुरस्कारका सामानहरु राखिएको हुन्छ र टुप्पोमा पुग्नेको समूहले ती सामान समेत पाउँछ ।
यद्यपि यस्तो पोल चढ्ने प्रतियोगिताको परम्परा औपनिवेशिक कालमै डचहरुले सुरु गरेका रहेछन् । तर पछिल्लो समयमा यसलाई स्वतन्त्रता दिवसको अभिन्न अंगका रुपमा आयोजना गर्ने गरिएको छ । यो प्रतियोगिता मार्फत युवाहरुले एकतामै बल हुन्छ भन्ने कुरा सिकाउने प्रयास गरिन्छ ।
प्रतिक्रिया