हुन्डी कारोबार गरेको अभियोगमा आठजनालाई मुद्दा

ssapana44@gmail.com' jamuna aryal
२३ माघ २०७५, बुधबार ०९:०३

काठमाडौं – अवैध रूपमा ठूलो परिमाणमा अन्तरदेशीय हुन्डी कारोबार गरेको अभियोगमा आठजनालाई मुद्दा चलाइएको छ। राजश्व अनुसन्धान विभागले सर्वाधिक बिगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आरोपीमा तीन भारतीय नागरिक छन्।

आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन’को माध्यमबाट चार अर्ब १६ करोड ३३ लाख ३१ हजार नौ सय दश रूपैयाँ ७५ पैसा बराबरको अन्तरदेशीय हुन्डी कारोबार गरेको दाबी विभागको छ। विभागले सात जनालाई तीन वर्ष कैद र जनही १२ अर्ब ४८ करोड, ९९ लाख ९५ हजार सात सय ३२ रूपैयाँ ७५ पैसा जरिबाना गर्नसमेत माग गरेको छ।

एकजना १५ वर्षका बालक रहेकाले वयस्कलाई हुने सजायको आधा सजाय तोक्न माग गरिएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले हुन्डीमा ‘रेकर्ड ब्रेक’ भएको बताए। अभियुक्तमध्ये ६ जना पक्राउ परेका छन्। विभागको निर्णयअनुरूप राजश्व अनुसन्धान कार्यालय पथलैयाले मुद्दा दायर गरेको हो। 

हुन्डी कारोबारमा संलग्नताको अभियोगमा जनकपुर उपमहानगर-११ का रामेश्वर पुर्वे, मिनादेवी साह, विजय यादव, उपमहानगरकै वडा नम्बर ७ का मोख्तार अममद, सन्तोष महतो, भारत विहार मधुवनी बासोपट्टीका नरेश महतो, सुरज ठाकुर र भारत पूर्वी चम्पारण मधुवनीका पप्पुकुमार दासविरूद्ध अवैध हुन्डी कारोबारको अभियोग लगाइएको छ।

प्रतिवादीमध्ये पुर्वे र साह फरार छन् भने पप्पुकुमार १५ बर्से बालक भएका कारण पक्राउपछि छाडिएको छ। अभियुक्तहरू यादव, अममद, ठकुर र महतोद्वयलाई अभियोगपत्रसँगै अदालतमा पेश गरिएको महानिर्देशक मैनालीले बताए। ‘अभियुक्तहरूले दुवैतिर कमिसन लिएर अवैध कारोबार गरेको देखिएको छ।

 अवैध कारोबारबाट एकातर्फ विदेशी मुद्रा आउन रोकियो। अर्कातिर न्यून विजकीकरण भएर व्यापारिक सामानहरू आउने भयो,’ मैनालीले अन्नपूर्णसँग भने, ‘यसरी ३० प्रतिशत मात्र मान्दा पनि औसत सवा अर्ब राजश्व घाटा बेहोर्नुपर्ने हुन्छ। आयकर र भन्सार डिक्लियर नहुने कारणले बजारमा पनि कुनै रेकर्ड नहुने अवस्था रहन्छ।’

आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन्सन’ प्रविधिको माध्यमबाट परस्पर हुन्डी कारोबार विवरणहरू सांकेतिक शब्द र चिन्हहरू प्रयोग गरी गुटमेलका कारोबारीसँग आदानप्रदान गरिएको अभियोगपत्रमा उल्लेख छ। अनुसन्धानकाक्रममा विदेशी मुद्रा र नेपाली रुपैयाँ हुन्डीको माध्यमबाट अवैध अन्तरदेशीय कारोबार गरेको पुष्टि भएको दाबी विभागको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१