महँगा र विलासिताका वस्तु आयात नियन्त्रण गर्ने सरकारको तयारी

ssapana44@gmail.com' jamuna aryal
२३ माघ २०७५, बुधबार ०८:५७

काठमाडौं – व्यापार घाटा न्यूनीकरण गर्न सरकारले महँगा र विलासिताका वस्तुको आयात नियन्त्रण गर्ने तयारी गरेको छ। स्वदेशमै उत्पादन हुन सक्ने वस्तु अत्यधिक परिमाणमा आयात हुँदा व्यापार घाटा बढ्दै गएको ठहर गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो।

मन्त्रालयका सहसचिव रबीशंकर सैंजू स्वदेशमै उत्पादन गर्नसक्ने अवस्था भएका वस्तु पनि आयात भएका कारण व्यापार घाटा बढ्दै गएको बताउँछन्। स्वदेशी वस्तु र उद्योगलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत महँगा र बिलासिता वस्तुको आयात नियन्त्रण गर्न लागिएको हो। यसका लागि मन्त्रालयले केही वस्तुको सूची तयार पारी मन्त्रिपरिषद्को कार्यालयलाई प्रस्तावसमेत गरिसकेको छ। ‘मन्त्रिपरिषद्ले थप गृहकार्य गरी प्रस्ताव गर्न भनेकाले सूची परिमार्जन गरी केही दिनभित्रमै पुनः प्रस्ताव लग्दैछौं’, सहसचिव सैंजूले भने। महँगा र विलासिताका वस्तुको सूची भने सरकारले सार्वजनिक गरेको छैन। मन्त्रालय स्रोतका अनुसार मुख्य गरी विलासिता, महँगा, वातावरणलाई नकारात्मक प्रभाव पार्ने र सर्वसाधारणको स्वास्थ्यमा हानि पु¥याउने प्रकृतिका वस्तुको सूची तयार पारिएको छ। यस्तै खाद्यान्न, काठजन्य वस्तुको सूची तयार पारिएको छ।

भाडावर्तन, बेभरेज, विद्युतीय सामग्री, महँगा सवारीसाधन र दुई पांग्रे सवारी, सिसाका भाडावर्तन, मासु, खैनी, चुरोट, कस्मेटिक्स, सजावटका सामग्री, गरगहना, खेलौना, मदिरा, फलफूल, मसलालगायत विलासिताका वस्तुमा पर्दछन्। नेपालमा उत्पादन हुने वस्तुको लागतभन्दा सस्तोमा अन्य मुलुकबाट आयात हुने वस्तुको आयातमाथि पनि नियन्त्रण गर्ने तयारी मन्त्रालयले गरेको छ। सरकारले आयात नियन्त्रणसम्बन्धमा अध्ययन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको संयोजकत्वमा समिति गठन गरेको थियो।

गौचनका अनुसार नेपाली उद्योग र उत्पादन संरक्षण गर्ने उद्देश्यले २०६६ मा प्रकाशित राजपत्रको सूचना आवश्यकताका आधारमा परिमार्जन गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी छ। ‘विश्व व्यापार संगठनले सदस्य राष्ट्रका लागि तोकेको परिधिभित्रै रहेर भन्सार शुल्क वृद्धिदेखि काउन्टर भेलिङ तथा एन्टी डम्पिङ ऐनको व्यवस्थालाई आकर्षित गरी अति आवश्यक बाहेकका वस्तु आयातमा नियन्त्रण गर्ने तयारी भएको छ।’एन्टी डम्पिङ विधयक संसद्मा बिचाराधीन छ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ खर्ब सात अर्ब रुपैयाँको आयात भएको छ। यो परिमाण गत वर्षको यसै अवधिको तुलनामा ३४ ले प्रतिशत बढी हो। गत वर्ष चार खर्ब ५३ अर्बको आयात भएको थियो। यो अवधिमा व्यापारघाटा ३५.५ प्रतिशतले बढेर पाँच खर्ब ६९ अर्बमा पुगेको छ। गत वर्ष यसै समयमा चार खर्ब २० अर्ब व्यापार घाटा थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१