बैंकबाट कर्जा लिदै हुनुहुन्छ ? हेर्नुहोस कुन बैंकबाट पाउन सकिन्छ कम ब्याजदरमा ऋण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० माघ २०७५, आईतवार १४:३०

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा बेस रेट (आधार ब्याजदर) लाई आधार बनाएर कर्जा प्रवाह गर्छन् । नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यदि विपन्न वर्ग कर्जा अथवा लघुवित्तलाई प्रदान गर्ने थोक कर्जा तथा राष्ट्रिय गौरवको योजनाहरुको माग भएको खण्डमा बेस रेटमै पनि बैंकहरुले कर्जा उपलब्ध गराउन पाउँछन् । तर अन्य क्षेत्रमा कर्जा लगानी गर्दा आधार ब्यााजदरमा केही प्रतिशत थप गरेर कर्जा लगानी गर्नुपर्छ । यसरी कर्जा लगानी गर्दा बैंकहरुले जति पनि ब्याज लिन पाउँछन् भन्ने हँुदैन । नेपाल राष्ट्र बैंकले यसमा पनि सिमा तोकिदिएको छ । बैंकहरुले आधार ब्याजदरमा अधिकतम ५ प्रतिशतसम्म जोडेर कर्जा दिन पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । 

यही आधार ब्याजदरको कारणले नै बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दा कर्जाको व्याजदरमा पनि परिवर्तन हुने गर्दछ । बैंकहरुको आधार ब्याजदर बढ्दा कर्जाको व्याजदर बढ्छ भने घट्दा कर्जाको ब्याजदर घट्छ ।

आधार ब्याजदर कम भएका ७ बैंकहरु 
पुष मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका १७ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम आधार ब्याजदर नेपाल बैंकको रहेको छ । नेपाल बैंकको आधार ब्याजदर ६ दशमलव ०६ प्रतिशत रहेको छ । निजी क्षेत्रका बैंकहरुमा भने सबैभन्दा कम आधार ब्याजदर नविल बैंकको रहेको छ । आधार ब्याजदरका आधारमा दोस्रो स्थानमा रहेको नविल बैंकको आधार ब्याजदर ७ दशमलव ९४ प्रतिशत छ । भने तेस्रो स्थानमा एभरेष्ट बैंक, चौथो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक, पाँचौं स्थानमा हिमालयन बैंक, छैठौं स्थानमा एनआईसी एशिया बैंक र सातांै स्थानमा प्रभु बैंक रहेका छन् ।

९ बैंकको आधार ब्याजदर १० प्रतिशत भन्दा कम
पुष मसान्त सम्मको विवरण प्रकाशित गरेका बैंकहरुमध्ये ९ वटा बैंकको आधार ब्याजदर १० प्रतिशत भन्दा कम रहेको छ । १० प्रतिशत भन्दा कम आधार ब्याजदर रहेको बैंकहरुमा  नेपाल बैंक ६ दशमलव ०६ प्रतिशत, नविल बैंकको ७ दशमलव ९४ प्रतिशत, एभरेष्ट बैंकको ८ दशमलव २२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८ दशमलव ९६ प्रतिशत, हिमालयन बैंकको ९ दशमलव ११ प्रतिशत, एनआईसी एशिया बैंकको ९ दशमलव ३३ प्रतिशत, प्रभु बैंकको ९ दशमलव ३७ प्रतिशत, सानिमा बैंकको ९ दशमलव ७५ प्रतिशत र नेपाल एसविआई बैंकको ९ दशमलव ८२ प्रतिशत रहेको छ ।

१० प्रतिशत भन्दा माथि आधार ब्याजदर भएका ८ बैंकहरु
पुष मसान्त सम्मको विवरण प्रकाशित गरेका १७ बैंकहरु मध्ये ८ वटा बैंकको आधार ब्याजदर १० प्रतिशत भन्दा माथि रहेको छ । ग्लोबल आइएमई बैंकको १० दशमलव ०९ प्रतिशत, एनएमबी बैंकको १० दशमलव ११ प्रतिशत, लक्ष्मी बैंकको १० दशमलव ३६ प्रतिशत, सिद्धार्थ बैंकको १० दशमलव ५९ प्रतिशत, सन्राइज बैंकको १० दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकको १० दशमलव ७९ प्रतिशत, माछापुच्छ्रे बैंकको १० दशमलव ९९ प्रतिशत र कुमारी बैंकको ११ दशमलव ५५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१