कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको करिब पाँच महिना भइसकेको छ। हत्यारा पत्ता लगाउन नेपाल प्रहरी, दबाब दिन प्रदर्शनकारी र मानव अधिकारवादीको प्रयास सघनरूपमा निरन्तर जारी छ। विपक्षीहरू अनुसन्धानको असफलतालाई सरकारविरुद्ध प्रयोग गरिरहेछन्। पछिल्लो समय यो विषय अन्तर्राष्ट्रिय चासोको विषय समेत बन्न गएको छ।
स्थानीय प्रहरीले घटनाको अनुसन्धानलाई कचल्ट्याएपछि सरकारले विशेष कार्यदलको शृंखला नै बनाएर अनुसन्धान गरिरहेको छ। उच्चपदस्थ अधिकारीको कञ्चनपुर भ्रमणमा लर्को लाग्ने क्रम अहिले पनि जारी छ। दबाब दिन दैनिक जनस्तरको प्रदर्शन जारी छ। प्रदर्शनकै क्रममा प्रहरीको गोलीबाट एकजनाको ज्यान गइसकेको छ।
यो घटनाले राज्यको क्षमता र न्याय दिने दायित्वमाथि प्रश्न मात्रै उठाएको छैन, ठूलो आर्थिक तथा सामाजिक क्षति पनि भएको छ। थप प्रहरी परिचालन, कार्यदलको व्यवस्थापन, पदाधिकारीको अनवरत भ्रमण खर्चमा मात्र पनि करोडभन्दा बढी खर्च भइसकेको हुनुपर्छ। प्रदर्शनकारीको दैनिक ज्यालाको मात्र हिसाब गर्ने हो भने पनि करोडौं हुन जान्छ। सारा नेपालीले अनुभूत गरेको अन्यायको सामाजिक पीडा त पैसामा मापन गर्न पनि सकिँदैन। सरकारलाई त आफ्नो पैसा नपरेकाले केही फरक नपर्ला तर व्यक्तिको आय गुमेको र पीडाको भरथेग कसले गर्ने ? के सरकारको अकर्मण्यताको क्षतिपूर्ति सर्वसाधारणले आय काटेर र पीडा सहेर व्यहोर्नुपर्ने हो ?
कानुन कार्यान्वयन भनेको सबै अपराधीलाई कानुनको कठघरमा उभ्याउने होइन, धेरै प्रतिशतलाई विनापूर्वाग्रह दण्डित गर्ने हो। एक दण्डित हुँदाको क्षति देखाएर सयलाई तर्साउने हो। संसारमा कही पनि सबै अपराधी पत्ता लाग्दैनन्, पत्ता लाग्न समय लाग्छ तर राम्रोसँग कानुन कार्यान्वयन भएको मुलुकमा प्रहरीमाथि विश्वास हुन्छ, आस्था हुन्छ। अपराधी पत्ता लागेन भनेर मानिस सडकमा आउँदैनन्। निर्मला काण्डमा देखिएको जनदबाब नेपाल प्रहरीमाथिको भरोसा खस्किएको परिणाम हो, राजनीतिक नेतृत्वप्रतिको चरम अविश्वास हो। यो काण्डले नेपाल प्रहरीको छवि धमिलो भएको छ, मनोबल गिरेको छ। प्रहरीको जागिर छोड्न खोज्ने क्रम बढेको छ।
आन्तरिक सुरक्षा प्रहरीको निर्विकल्प जिम्मेवारी हो। प्रहरीको विकल्प राम्रो नेपाल प्रहरी मात्र हो। त्यसैले निर्मला घटनालाई नेपाल सरकारले नेपाल प्रहरीमा विद्यमान कमीकमजोरी हटाएर सबल, सक्षम र बढी पेसेवार संगठन बनाउने अवसरका रूपमा प्रयोग गर्नुपर्छ। खाली घटना थामथुम गरेर उम्कने होइन।
प्रतिक्रिया