हिमपातले खाद्यान्न उत्पादन बढ्ने भन्दै किसान हर्षित

ssapana44@gmail.com' jamuna aryal
१५ माघ २०७५, मंगलवार ०८:५२

काठमाण्डौँ – हिउँ परेपछि र हिमाली क्षेत्रका तल्ला भाग अर्थात उचाइ थोरै उचाइमा समेत हिमपात भएपछि खाद्यान्न उत्पादनमा बढ्ने भन्दै किसान हर्षित भएका छन्। यो एक दशकयताकै सर्वाधिक हिमपात भएको र १८ सय मिटर उचाइसम्म हिउँ झरेकाले उवा, गहुँ, जौ र आलु उत्पादन वृद्धि हुने आस जागेको हो।

२ हजार मिटरमा उचाइको डोल्पाको दुनैमा माघ दोस्रो सातासम्म नै ४ पल्ट हिमपात भयो। २ मिटरसम्म बाक्लो हिउँ परेको १० वर्षयताकै सबैभन्दा बढी हो। यस्तै पूर्वी तथा पश्चिमी हिमाली क्षेत्रको १८ सय मिटरसम्म हिमपात भएको जल तथा मौसम विज्ञान विभागको मौसमविद् मन्जु दासीले बताइन्। जति धेरै हिउँ पर्‍यो त्यति नै माटो मलिलो हुने र अन्न उत्पादन बढी हुने संखुवासभा मकालु–५ का वडाध्यक्ष जापन गुरुङले बताए। हिउँ पग्लिएपछि माटो मलिलो हुने र अन्न उत्पादन बढ्ने भन्दै किसान खुसी भएको उनले बताए।

पूर्वी हिमाली भेगका ताप्लेजुङ, संखुवासभामा यस वर्ष बढी हिमपात भयो। मकालुको २ हजार मिटर उचाइका मांसिमा, बाक्लेक, सिलिचुङ–३ साप्तेल र पाँचखपनको ओडारेसम्म हिमपात भएको छ। चार दिनयता हिमपात जारी रहेकाले २ मिटरसम्म हिमपात भएको स्थानीय पेमाछिरी शेर्पाले बताए। यस क्षेत्रमा ४ हजार मिटरमाथि मंसिरदेखि नै हिउँ पर्न थालेको र तल्लो भेगसम्म बाक्लो हिमपात भएको शेर्पाले बताए।

ताप्लेजुङको सुकेटार बजारभन्दा तल्लो भूभागमा हिमपात हुँदा तल्लो भेगका बुङकुलुङ, गढीडाँडालगायत आधा दर्जन गाउँको जनजीवन प्रभावित बनेको छ। बुङकुलुङ र गढीडाँडामा भने २५ वर्षपछि गत पुस १३ गते सुख्खा हिउँ पर्न थालेको स्थानीय दावा शेर्पाले बताए। हिमाली क्षेत्रका मुख्य उब्जनी आलु, मकै र उवा हुन्। हिउँ पग्लिएपछिको फुक्का माटो अन्नका लागि उर्बर हुने शेर्पाको भनाइ छ। ‘०५० सालतिर यसरी हिउँ परेको थियो’, उनले भने, ‘लामो समयपछि गाउँमा हिमपात हुँदा स्थानीय खुसी छन्।’

पाथीभरा क्षेत्रको भालुगौंडेभन्दा करिब ५ सय मिटर तलसम्म हिमपात भएको छ। ‘५ वर्षअघि मात्रै यति तलसम्म हिउँ परेको थियो’, भालुगौंडेका विष्णु लिम्बूले भने, ‘हाम्रो वरिपरि पनि गत वर्षभन्दा बाक्लो हिउँ पर्‍यो।’ 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१