को मानिस खुसी रहन चाहँदैन र ? त्यसैले त खुसी रहन अनेक उपाय अवलम्बन गर्छ र क्षणिक रूपमा खुसी भएको महसुस पनि गर्छ तर फेरि ऊ दुःखी र अभावले आफूलाई घेरिरहेको अनुभूति गर्न थाल्छ। कारण त्यही हो कि भएकोमै ऊ सन्तुष्ट हुन बिर्सन्छ र अरू चाहना मृगतृष्णास्वरूप बढ्न थाल्छन् जुन पूरा हुन पनि सक्छन् र नहुन पनि। पूरा भए पनि अरू चाहना फेरि सिर्जना हुन्छन् त पूरा भएनन् भने त झनै दुःख आर्जनका मसला भइ नै हाले। जीवन दुःखका लागि हो त ? त्यसो भए जीवन किन प्राप्त भयो ?
होइन, जीवन खुसीसाथ जिउनका लागि प्राप्त भएको हो। त्यसैले त हामी नयाँ वर्ष होस् या जन्म दिन, चाडपर्व होस् या सांस्कृतिक पर्व होस्, खुसी हुनकै लागि मनाउने गर्दछौं। ल्होसार, दसैंं, तिहार, होली, क्रिसमसजस्ता आफ्नै पर्व हुन् या आयातीत पर्व हुन् अथवा कुनै पनि सामाजिक, सांस्कृतिक प्रचलन र उत्सवमा भाग लिनु, संस्कृति र परम्पराअनुसारको खानपान र लवाइमा समय दिनु, नाचगान र अन्य विविध कार्यक्रममा भाग लिनु सबै क्रियाकलाप खुसी रहने आयाम समेट्न खोज्नु हो। यस्ता कार्यमा हामी त्यति नै जागरुकता र महत्वका साथ शुभकामना आदानप्रदान गर्छौं र साथीभाइ एवं परिवारजन भएर कतै घुम्न जाने, नभए रेस्टुराँ गएर खाने या घरमै पनि जम्मा भएर उत्सवका रूपमा मनाउने गर्दछौं। यो सब गर्नुको कारण हो– हामी खुसी रहन चाहन्छौं, खुसी छौं भन्ने देखाउन चाहन्छौं।
यी सबै क्रियाकलापले क्षणिकरूपमै दुईचार दिन, दुईचार महिना खुसी भएजस्तो आभास मिल्छ तर एउटा समयमा आउँदा यी सब खुसी बिलाएर जान्छन् र जीवनप्रति सिकायत र दुःख सुरु हुन थाल्छन्। किनकि खुसी कुनै चिजमा खोजेर भेटिन्न। खुसी मानिसको स्वभाव हो, जुन प्रत्येक व्यक्तिभित्र छ। खुसी अन्तस्करणबाट प्रस्फुटन हुनुपर्छ। रोगमुक्त र तनावमुक्त अवस्था नै
खुसीको अवस्था भएकाले विज्ञानले समेत मानिसको शरीरको बनोट र मानिसलाई खुसी रहन आवश्यक हर्मोनको व्याख्या गर्दै भनेको छ, ‘मानिस खुसी हुनका लागि शरीरका विभिन्न क्रियाकलाप र हर्मोनसमेत आवश्यक रूपमा सक्रिय हुन जरुरी छ।’ शरीरमा रहेको इन्डोर्फिन नामक हर्मोनले मस्तिष्क र स्नायु प्रणालीलाई सक्रिय राख्ने हुँदा मानिस खुसी हुन यो हर्मोन पनि सक्रिय हुन जरुरी छ। योगाभ्यास, खेलकुद, दौड, हिँडाइ, हाँसो, प्रफुल्लताजस्ता शरीर
सक्रिय राख्ने अभ्यासबाट इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ। यो सक्रिय हुनासाथ तनाव कम हुन्छ, मुटु र रक्तचापजस्ता रोगबाट मुक्त भइन्छ। मानिसको शरीरमा रहेको दोस्रो हर्मोन हो– डोपामाइन। भावनात्मक र मनोवैज्ञानिक रूपमा खुसी रहन यो हर्मोन सक्रिय रहनुपर्छ अन्यथा अल्जाइमरजस्ता बिर्सने रोगसमेत यो हर्मोनको निस्क्रियताकै कारण बढ्छ।
प्रतिक्रिया