हिमपातले शनिबारदेखि विद्युत र यातायात ठप्प

ssapana44@gmail.com' jamuna aryal
१३ माघ २०७५, आईतवार ०९:०१

बेनी –  हिमपातले मुस्ताङ र म्याग्दीमा शनिबारदेखि विद्युत र यातायात ठप्प भएको छ। दुई दिनअघिको हिउँ पग्लिन नपाउँदै शुक्रबार रातिदेखि पुनः हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो।

मुस्ताङको घरपझोङ र मुक्तिनाथ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ। सडक तथा जोमसोम–पोखरा हवाइ सेवा समेत ठप्प भएको मुस्ताङका सहायक प्रजिअ विश्वश्वर रेग्मीले बताए। ‘हिमपातले विद्युत सेवा पनि अवरुद्ध बनेको छ’, सहायक प्रजिअ रेग्मीले भने, ‘दुईदेखि तीन फिट बाक्लो हिउँ जमेकाले सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।’

म्याग्दीको सबभन्दा दुर्गम र विकट क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका १ गुर्जामा पैदलमार्ग र विद्युत सेवा अवरुद्ध बनेको स्थानीय जनकल्याण माविका प्रअ रुपेश सुवेदीले बताए। हिमपात र हावाहुरीले ठाउँ–ठाउँमा बिजुलीको पोल ढालेको, तार चुडाएकाले म्याग्दीमा केन्द्रीय प्रशारण लाइनको विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए। बरंजा, भकिम्ली, राम्चे र फलामेडाँडा क्षेत्रमा विद्युतका पोल ढलेर नांगो तार भुइमा लत्रिएकाले दुर्घटनाको जोखिम बढेको छ। नयाँ पोल राख्ने र तार फेर्न कर्मचारी परिचालन गरिए पनि हिउँले सडक अवरुद्ध भएकाले समस्या भएको न्यौपानेले बताए ।

म्याग्दीको उच्च पहाडी बस्ती र मुस्ताङका सडकमा यातायातका साधन चलेका छैनन्। यात्रुहरु पैदलयात्रा गर्न बाध्य छन्। करिब पाँच महिनापछि भएको वर्षा र हिमपातले सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषक भने खुसी भएका छन्। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१