काठमाण्डौ – विश्वसम्पदा सूचीमा समावेश सम्पदा
भक्तपुर : भक्तपुर दरबार र चाँगुनारायण
काठमाण्डौ : हनुमानढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पशुपति क्षेत्र, बौद्धनाथ स्तूप
ललितपुर : पाटन दरबार क्षेत्र
७ सय ५३ पुरातात्विक सम्पदामध्ये विश्व सम्पदा क्षेत्रभित्र पर्ने १ सय ४० सम्पदामा भूकम्पले क्षति पुर्याएको हो । तर भूकम्पले काठमाण्डौका २ सय ५०, ललितपुरका १ सय ३० र भक्तपुरका ८० गरी ४ सय ६० वटा सम्पदा बढी प्रभावित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ ।
सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौ उपत्यकाका पुरातात्विक महत्वका सम्पदामध्ये सबैभन्दा बढी हनुमानढोका दरबार क्षेत्रका ९० प्रतिशत सम्पदा क्षतिग्रस्त बने ।
मुख्य ७ सम्पदाको पुनर्निर्माणको अहिलेसम्मको अवस्था
विश्व सम्पदा सूचीमा समावेश भएको बौद्धनाथ स्तूप सबैभन्दा पहिला पुनर्निर्माण सकिएको सम्पदा हो । बौद्धनाथ क्षेत्र विकास समितिको पहलमा बौद्धनाथ स्तूप निर्माण सम्पन्न भएको हो । बौद्धनाथ स्तूप २०७३ कात्तिकमा पुनर्निर्माण सम्पन्न भई मंसिरदेखि सर्वसाधारणका लागि खुला छ ।
भक्तपुर दरबार क्षेत्रमा रहेका खौमा गेट, शंकर नारायण, नारायण मन्दिर, दिमाजु मन्दिर, बद्रीनारायण, रामेश्वरलगायतका मन्दिर पुनर्निर्माण तथा मर्मतको काम सकिएको पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले जनाएको छ ।
दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख मोहन सिंह लामाले सरकारी कार्ययोजनामा ५ बर्षमा सक्ने भने पनि समय भने लाग्ने बताउनुभयो ।
हनुमानढोका दरबार क्षेत्रभित्रका नौतले दरबार, गद्दी बैठक, काष्ठमण्डपसहितका झण्डै ९० प्रतिशत सांस्कृतिक संरचनामा क्षति पुगेको थियो । हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठकसहित महादेव मन्दिर, लक्ष्मीनारायण, सरस्वती, श्वेतभैरव, पञ्चमुखी हनुमान, मोहनकाली चोकको पश्चिमी मोहडा, नगरा घर, दाखचोक, तलेजु मन्दिर, सिंहसत्तलको काम सकिएको पुरातत्व विभागले जनाएको छ । तर गद्दी बैठक बनिसक्दा काष्ठमण्डप, नौतले दरबारको काम भर्खर सुरु भएको छ । काष्ठमण्डपको जगको काम सकिएको छ ।
स्वयम्भूमा शान्तिपुर पूर्वको पाटी, मञ्जुश्री सत्तल, टासी गोमांग चैत्य, बसुबन्धु चैत्य, वायुपुर र पुरानो स्वयम्भू चैत्य लगाएतको काम सकिएको छ ।
ललितपुरको पाटन दरबार क्षेत्रमा पनि काम भैरहेको छ । पाटनमा कृष्ण मन्दिर, योगनरेन्द्र मल्लको सालिक, तलेजु र मूलचोकको छानालगायतको काम भने यसअघि नै सकिएको हो । पाटनमा काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी)ले काम गरिहेको छ ।
पशुपति क्षेत्रमा पनि भूकम्पले असर पारेको थियो । पशुपतिमा ४६ मध्ये १८ वटा सम्पदाको काम सकिएको छ । तीमध्ये १२ वटा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको हो । कुलानन्द झा सत्तल, शंकराचार्य मन्दिर, वनकाली सत्तल, गुह्येश्वरी नदी किनारको सत्तललगायत प्राधिकरणको सहयोगमा पुनर्निर्माण भएका प्राधिकरणका पुरातत्व अधिकृत भिष्म बाँस्कोटाले बताउनुभयो ।
केही मन्दिर तथा मूलभट्ट निवास भने पशुपति क्षेत्र विकास कोषले नै पुनर्निर्माण गरेको छ । कोषका अनुसार अन्य १० वटा संरचनाको पुनर्निर्माण भैरहेको छ भने १८ वटाको काम सुरु हुन बाँकी छ ।
काठ, ढुङ्गा र कालिगढको अभाव कायमै
सरकारी कार्ययोजनामा यी सबै सम्पदा ५ वर्षभित्रै सक्ने प्रतिबद्धता छ । प्राधिकरण, पुरातत्व विभाग, स्थानीय तह तथा दातृ निकायसमेत मिलेर सम्पदा पुनर्निर्माण भैरहेको छ । तर अझै पनि भूकम्पले नढलेका जीर्ण बनेका कतिपय सम्पदाको टेको हट्न सकेको छैन । शैलीको विवाद र काठ, ढुङ्गा, कालिगढको अभावमा काम गर्न समस्या पनि छ ।
सम्पदा पुनर्निर्माण र जिर्णोद्धारका लागि आवश्यक पर्ने काठ, चुना, सुर्की, इँटाजस्ता सामग्री आवश्यकताअनुसार नआएको, काठ र ढुङ्गाका लागि महिनौँ कुर्नु पर्दा पुर्ननिर्माणको कामलाई बजेट सिलिङ र योजना अनुसार सम्पन्न गर्न अप्ठेरो परेको पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख लामाले बताउनुभयो ।
‘सम्पदा पुनर्निर्माण गर्दा विदेशी काठ प्रयोग गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘काठको अभाव अहिले पनि छ, त्यसमाथि व्यापारीको चलखेल हुन्छ ।’
प्रतिक्रिया