फोक्सो क्यान्सरका लक्षण र उपचार विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७५, बुधबार १२:२८

फोक्सोको क्यान्सर संसारभरि नै सबैभन्दा घातक क्यान्सर मध्ये पर्छ । नेपालमा यसको यकिन तथ्यांक छैन । तर, हालसम्म उपलब्ध शोधपत्रका अध्ययन हेर्दा नेपालमा पनि सबैभन्दा धेरै मानिस यसै क्यान्सरका कारण कालको मुखमा पुग्ने गरेका छन्।

फोक्सो क्यान्सरका किसिम

फोक्सोबाट सुरु हुने क्यान्सर मुख्यतः दुई किसिमका हुन्छन्। ‘स्मल सेल’ र ‘नन स्मल सेल’ । स्मल सेल करिब १५ प्रतिशत बिरामीलाई हुन्छ भने नन स्मल सेल करिब ८५ प्रतिशतलाई हुन्छ । नन स्मल सेललाई पनि ‘स्क्वामस सेल क्यान्सर’, ‘एडेनोकार्सिनोमा’ र ‘लार्ज सेल कार्सिनोमा’मा पुनःवर्गीकरण गरिएको छ।

फोक्सोको क्यान्सरका लक्षण

यसका साधारण लक्षण खोकी लाग्ने, खकारबाट रगत आउने, खान मन नलाग्ने, वजन घट्ने, स्वााँस्वाँ बढ्ने आदि हुन्। धूमपान गर्ने ५० वर्ष नाघेका व्यक्तिमा यस्तो लक्षण देखा परे तुरन्त चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । फोक्सोको क्यान्सरको सुरुवातमा केही लक्षण नदेखिन पनि सक्छ ।

फोक्सो क्यान्सरका उपचार विधि

शल्यक्रिया , औषधिबाट गरिने केमोथेरापी र विकीरणबाट सेकाएर गरिने रेडियोथेरापी फोक्सो क्यान्सरका प्रमुख उपचार विधि हुन्। यो रोगलाई फेरि नफर्कने गरी सधैंका लागि निको पार्न सक्ने उच्च सम्भावना भएकाले सर्जरी नै सबैभन्दा सफल उपचार विधि हो। सर्जरी सम्भव नहुने बिरामीलाई मात्र केमोथेरापी वा रेडियोथेरापी गरिन्छ।

फोक्सोको शल्यक्रियामा के गरिन्छ ?

प्राकृतिक रुपले दाहिने फोक्सो तीन भाग र देब्रे फोक्सो दुई भागमा बाँडिएका हुन्छन्, जसलाई ‘लोब’ भनिन्छ। शल्यक्रियाका बेला साधारणतया क्यान्सरसहित एक भाग वा लोब काटेर निकालिन्छ जसलाई ‘लोबेक्टोमी’ भनिन्छ। यसका अलाबा धेरै ठूलो आकारको क्यान्सरमा एकतर्फको पूरै फोक्सो पनि झिक्न सकिन्छ, जसलाई ‘न्युमोनेक्टोमी’ भनिन्छ।

फोक्सो क्यान्सरको चरण र आवश्यक उपचार विधि

फोक्सो क्यान्सरलाई चार चरणमा विभाजन गरिएको छ। पहिलो र दोस्रो चरणमा क्यान्सर सानो आकारको हुन्छ र धेरै ‘ग्लान्ड’मा फैलिएको हुँदैन। यी चरणमा क्यान्सरलाई शल्यक्रियाद्वारा फोक्सोबाट काटेर फाली पूर्णरुपमा निको बनाउने सम्भावना हुन्छ। विभिन्न कारणबस शल्यक्रिया सम्भव नभएमा रेडियोथेरापीबाट उपचार गरिन्छ, तर यस विधिबाट उपाचार गर्दा क्यान्सरबाट पूर्णतया छुटकारा पाइने सम्भावना कम हुन्छ।

तेस्रो चरणमा पनि केही बिरामीलाई शल्यक्रिया सम्भव हुन सक्छ, तर अधिकांश बिरामीलाई केमोथेरापी तथा रेडियोथेरापीद्वारा उपचार गरिन्छ।

चौथो चरणमा प्रवेश गरेको क्यान्सरलाई निको पार्न सकिने सम्भावना नभएकाले लाक्षणिक उपचार र केमोथेरापी गरिन्छ।

सर्जनले राम्ररी जाँच पड्ताल गरेर सुहाउने बिरामीको मात्र शल्यक्रिया मार्फत फोक्सोको उपचार गर्ने हुँदा शल्यक्रियापछि पनि बिना अक्सिजन बिरामीले राम्ररी हिँडडुल र काम गर्न सक्छन्।

नेपालमा फोक्सो क्यान्सरको सर्जरी

अन्य विकसित देशको तुलनामा नेपालमा आमूल रुपले निको पार्ने उपचार धेरै कम हुन्छ । संयुक्त राज्य अमेरिकामा २५ देखि ३० प्रतिशत बिरामीको फोक्सो क्यान्सर काटेर फालिन्छ भने नेपालमा यो २ देखि ५ प्रतिशतमा सीमित छ।

हालसम्म यो शल्यक्रिया काठमाडौं उपत्यकामा मनमोहन कार्डियो थोरासिक सेन्टर महाराजगञ्ज र वीर अस्पताल तथा उपत्यका बाहिर भरतपुर क्यान्सर अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपलब्ध थियो । अहिले भने धुलिखेल अस्पतालमा पनि फोक्सो क्यान्सरको शल्यक्रिया सुरु भएको छ।

नेपालमा फोक्सो क्यान्सर ढिलो पत्ता लाग्ने कारणले शल्यक्रिया मार्फत यसलाई पूर्णतया निको पार्र्न सकिने सम्भावना न्यून छ। यसमा सुधार ल्याउन धूमपान पूर्ण रुपमा त्याग गर्ने र शंकास्पद लक्षण देखिएमा समय नष्ट नगरी तुरन्त चिकित्सककहाँ जानुपर्छ।

यो रोगको उपचार शल्यक्रियाबाट सम्भव हुने वा नहुने भन्ने कुराको ज्ञान साधारण चिकित्सकलाई हुन सक्दैन। विशेषज्ञ कार्डियो थोरासिक एन्ड भास्कुलर सर्जनले मात्र शल्यक्रियाबाट क्यान्सर झिक्न सकिने वा नसकिने भन्ने तथ्यको विश्लेषण गरी निष्कर्ष दिन सक्छन्। त्यसैले फोक्सोको क्यान्सर भएका बिरामीले विशेषज्ञको सुझाव लिनु अपरिहार्य हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१